काठमाडौं । जनचेतना मूलक टेलिश्रृंखला ‘गाउँ फर्क’ लिरिकल गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । लेखक तथा निर्देशक विश्वमणी घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने जनचेतना मूलक टेलिश्रृंखला ‘गाउँ फर्क’ लिरिकल गीतको भिडियो सार्वजनिक भएको हो ।
गीत अंग्रेजी नयाँ वर्ष २०२५ तथा नेपाली टोपी दिवसको अवसर पारेर सार्वजनिक गरिएको लेखक तथा निर्देशक घिमिरे बताए । उक्त गीतको भिडियोमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कलाकार सुवास गजुरेल, उत्तम केसी र सुभेक्षा थापा लगायतलेअभिनय गरेका छन् ।
यस्तै गीतको भिडियोमा कलाकारहरू मुकुन्द मैनाली, मनमाया कटवाल, लक्ष्मीनाथ तिम्सिना, अशोक सिवाकोटी, अस्मिता बस्नेत, आसा भुसाल, इच्क्षा सिंह, प्रतीक्षा काफ्ले, मुभ थापा र चन्दा भट्टराईलाई पनि देखाइएको छ ।
गाउँघरको कथा र विदेशिएका नेपालीहरूको व्यथालाई गीतमा समेटेको छ ।
शंकर अधिकारी घायलको शब्द, विकाश चौधरीको संगीत र नारायण थापाको आवाज रहेको गीत ‘गाउँ फर्क’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । निर्देशक घिमिरेका अनुसार यो टेलिश्रृंखला धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.४, चानुवामा छायांकन गरिने र नेपाल टेलिभिजनबाट चाँडै प्रसारणमा आउने छ ।
उनले आम नागरिकले टिकटक, फेसबुक र युट्युब लगायतको सामाजिक सञ्जालमा गाउँ फर्कको गीतमा अडियो लिई भिडियो बनाउँदा कुनै कपिराइट नलाग्ने बताए ।
प्रतिक्रिया