कविलासी नगरपालिकाले मिडिया ट्रायल गर्यो : पूर्वमेयर यादव

सर्लाही । बुधबार कविलासी नगरपालिकाले गरेको पत्रकार सम्मेलनमार्फत मिडिया ट्रायल गरेको सोही नपाका पूर्वमेयर कौशल किशोर यादवले पत्रकार सम्मेलन गरी आरोप लगाएका छन् ।

पूर्वमेयर यादवका अनुसार, आफ्नो कार्यकालमा भएका विकास निर्माणका विभिन्न कार्यहरूलाई समेत वर्तमान मेयर ब्रह्मदेव रायले आफूले नै गरेको भनेर जनतालाई भ्रममा पार्ने प्रयास गर्नु सरासर गलत भएको बताएका छन् । संघ र प्रदेश सरकारको योजनालाई पनि वर्तमान मेयरले पालिकाको योजना भएको बताउँदै जनतालाई झुक्याउने काम गरेको यादवको जिकिर छ ।

पूर्वमेयर यादवले भने, ‘२०७४ सालको स्थानीय निर्वाचनमा राजपा पार्टीबाट आफू निर्वाचित भएपश्चात् पालिका र जनताको हितमा निरन्तर लागिपरेको थिए । जसको फलस्वरूप पालिका विभिन्न सूचकांकमा जिल्लाकै उच्चस्थानमा थियो । तर वर्तमान मेयरका कारणले पालिकाको साख गिरेको छ ।’ दुईतिहाइ बहुमत भएको यस स्थानीय सरकारको काम कारबाही नै योजनाबद्ध रूपमा नदेखिएको पूर्वमेयर यादवको आरोप छ ।
निर्माण सम्पन्न भइसकेका प्राविधिक विद्यालय, बर्थिङ सेन्टर, पशु सेवा केन्द्र लगायतका भवनहरू प्रयोगविहीन अवस्थामा रहेको भन्दै उनले तत्काल सञ्चालन गरी प्रयोगमा ल्याउन सुझाए । निर्माणाधीन रहेको रनियाको १५ शय्याको अस्पताल र नपाको प्रशासनिक भवनमा समेत कुनै कार्य प्रगति नभएको उनले बताएका छन् ।

हालका मेयर रायले नगरपालिकाले अढाई वर्षको कार्यकालमा सडक, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा गरेको कामको प्रगति विवरण गत बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो । त्यस लगत्तै पूर्वमेयर यादवले सो विवरण झुठो भएको दावी गर्दै अढाई वर्षको अवधिमा नगरपालिकाले १० प्रतिशत मात्र काम गरेको ठोकुवा गरे ।

२०७९ सालको स्थानीय निर्वाचनमा जसपा नेपाल पार्टीबाट कविलासी नपा–६ का वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका रामगोविन्द यादवका अनुसार, वर्तमान मेयरको अहिलेसम्मको कार्यकाल असफल रहेको छ । आव २०८०÷०८१ मा विभिन्न शीर्षकको करोडौँ रुपैयाँ फ्रिज भएको उनले बताए । वडास्तरमा आफ्नो सक्रियतामा विभिन्न विकास निर्माणका कामहरू सम्पन्न भएको उनले जानकारी गराएका छन् ।

पूर्वमेयर कौशलकिशोर यादव अहिले जसपा नेपाल पार्टीमा आवद्ध रहेका छन् । भने वर्तमान मेयर ब्रह्मदेव राय नेपाली कांग्रेस पार्टीबाट २०७९ सालको स्थानीय निर्वाचनमा विजयी भएका थिए ।

प्रतिक्रिया