काठमाडौं । अन्तरजातिय प्रेम जोडी गुल्मीकी पार्वती विश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीको वास्तविक जिवन कथामा आधारित गीत ‘छाती चर्किन्छ’ को भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो केही दिनअघि युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
छाती चर्किन्छ बाेलको गीतमा पीडित स्वयम् पार्वती विश्वकर्माको आवाज रहेको छ भने दिपेन्द्र पौडेल र सुजन बराईलीले पनि आवाजमा साथ दिएका छन् । त्यसैगरी उक्त गीतमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ को शब्द, सञ्चारकर्मी राज कुमार रायमाझीको संगीत रहेको छ ।
सो गीतको एरेञ्ज लक्षु प्रकाश मल्लले गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा पत्रकार बराईलीको कथा, निर्देशन, छायांकन रहेको छ भने राजेश कुमारले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा शुरविर पण्डित, पार्वती विश्वकर्मा, प्रकाश ज्ञवाली, दिपेन्द्र पौडेल र सुजन बराईलीको अभिनय रहेको छ ।
गीतको प्रोडक्सन म्यानेजरको रुपमा रमेश शिवशंकर रहेका छन् भने प्रकाश बराईली ‘अभिब्यक्ति’ को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोले अपेक्षा अनुसार नै युट्युबमा भ्युज बटुल्दै गएको पत्रकार बराइलीले बताए ।
गीतमा यी जोडी सामाजिक रुपमा बहिस्कार भएको विषय र प्रकाश ज्ञवाली डिप्रेशनमा जानुको मुख्य कारण खुलाउनुका साथै हाल यी जोडीको अवस्था के कस्तो छ भनेर सम्पूर्ण जानकारी दिन खोजिएको बराइलीको बनाइ छ ।
सामाजिक बहिस्कार र जातिय बिभेदले गर्दा समाजमा के कस्तो असर पर्छ भन्ने कुराको चित्रण गर्दै जातिय विभेदको अन्त्य हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए । गुल्मीकी पार्वती विश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीले करिब ६ वर्षअघि अन्तरजातिय विवाह गरेका थिए । अन्तरजातिय विवाह गरेकै कारण आफूहरुको जोडी सामाजिक बहिस्कार हुनुपरेको ज्ञवालीले बताए ।
सामाजिक बहिस्कार र घरबाट बहिस्कार भएपछि यही कुरा सोच्दासोच्दै आफू डिप्रेशनको शिकार भएको ज्ञवालीले बताए । पार्वती विश्वकर्माले दोहोरी साँझमा गीत गाएर जिविकोपार्जन गर्ने र प्रकाश ज्ञवालीको औषधि उपचार गर्दै आएको बताइएको छ ।
प्रतिक्रिया