‘रंगी’को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । फिल्म ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म निर्माण टिमले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ । पोस्टरमा साइकलमा रहेका सलोनले फुडमान्डुको ब्यागमा आयुषीलाई बोकेका छन् । सलोन र आयुषी खुसी मुद्रामा छन् ।

सलोनको अगाडि अभिनेत्री नम्रता लजालु भावमा उभिएकी छन् । पात्रको पृष्ठभूमिमा वसन्तपुर दरबार स्क्वायरको गल्ली देख्न सकिन्छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म आगामी २ फागुनमा प्रदर्शन हुँदै छ ।

सुरेश न्यौपानेको ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । ‘मिस वल्र्ड नेपाल २०२०’ विजेता नम्रता श्रेष्ठको यो डेब्यू फिल्म हो । प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ ।

फिल्म ‘रंगी’ सलोनको डेब्यु निर्माण हो । फिल्म ‘नेपाली बाबु’बाट बाल कलाकारका रूपमा पाइला चालेका सलोनले फिल्म ‘होस्टल’ देखि ‘हिरो’का रूपमा अभिनय गरेका हुन् । निर्देशन न्यौपानेले भने ‘छक्का पन्जा’, ‘ए मेरो हजुर–२’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु–२’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको रूपमा काम गरिसकेका छन् ।
सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दै छ ।

प्रतिक्रिया