सरिता, ओम र डब्बुले ल्याए ‘छोड सताउन’ को भिडियो

काठमाडौं । गायिका सरिता भारती, गायक ओम सुनार र डब्बु क्षेत्रीले ‘छोड सताउन’ नामक गीतको भिडियो ल्याएका छन् । पत्रकारसमेत रहेका डब्बु क्षेत्रीले शब्द रचना गरेको उक्त गीतमा गायिका भारती र गायक सुनारले आवाज दिएका हुन् ।

यस गीत ‘छोड सताउन’ को भिडियो बिहीबार युट्युमार्फत सार्वजनिक गरिएको रचनाकार क्षेत्रीले बताए । यस गीतमा गायक ओमसँग आफूले पहिलो सहकार्य गरेर बजारमा ल्याएको गायिका सरिताले बताइन् ।

उक्त गीत पश्चिमेली लोक भाकामा आधारित छ । यस गीतमा संगीत र संगीत संयोजन पनि गायक ओम सुनारले नै गरेका छन् । राजेन्द्र बजगाईले रेकर्ड गरेको यो गीतलाई मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

कर्णाली र सुदुरपश्चिम प्रदेश भ्रमणको बेलामा त्यहाँ प्रयोग हुने छोट्या र छोट्टी (केटा र केटी) शब्द टिपेका क्षेत्रीले सोही शब्दलाई गीतमा प्रयोग गरेर स्थानीय भाषालाई अन्तराष्ट्रिय क्षेत्रमा भिडियोमार्फत पुर्याएको बताए । गीतको भिडियोमा निर्देशन पनि डब्बु क्षेत्रीले नै गरेका हुन् ।

उक्त भिडियोमा मोडलहरु सनम कठायत, प्रवण भुसाल, प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रन्जीत सिञ्जालीसँगै गायिका सरिता भारतीले पनि अभिनय गरेकी छन् । भिडियोमा अरु कलाकारहरु नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायत पनि रहेका छन् ।

त्यसैगरी कृष्ण रसालले यो भिडियोमा कोरियोग्राफी गरेका छन् । त्यसैगरी गीतको भिडियोलाई छायांकन, सम्पादन तथा रंग संयोजन राजेन्द्र पाण्डेले गरेका हुन् ।

प्रतिक्रिया