महोत्तरी । पालिकास्तरीय अस्पतालमा मधेस प्रदेशकै उत्कृष्ट मूल्यांकन भएको बर्दिवास अस्पतालमा खस्किँदो सेवा प्रवाहका कारण सेवाग्राहीले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । विशेषतः अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरू कमाउ धन्दामा लाग्दा सेवा प्रवाहमा जनगुनासो सुरु भएको हो ।
अस्पतालमा आवश्यक जनशक्ति हुँदाहुँदै पनि सामान्य जाँचका लागिसमेत बाहिर निजी क्लिनिकमा जान बाध्य पार्ने गरिएको बिरामीको गुनासो छ । ‘पर्याप्त जनशक्ति भए पनि सामान्य रगत जाँचका लागि पनि बाहिर जानुपर्दो रहेछ,’ स्थानीय विनोद लामाले भने, ‘अस्पतालको व्यवस्थापकीय पाटोको कमजोरीले विकृति बढिरहेको छ ।’
अस्पताल परिसरबाहिर करिब दर्जन जति औषधि पसलसँगै प्याथोलोजी ल्याब, डाइग्नोसिस सेन्टरलगायत क्लिनिकका बोर्ड देखिन्छन् । ती सबै क्लिनिकले कि अस्पतालका कर्मचारीहरूसँग सेटिङ गरेका छन् कि अस्पतालकै कर्मचारीले खोलेका छन् । अस्पताल परिसरबाहिर रहेको स्मार्ट फार्मेसीका सञ्चालक सियाराम महतो बर्दिबास अस्पतालका फार्मेसी इन्चार्ज हुन् । भित्र औषधि नरहेको भन्दै बाहिर पठाउने गरेको आरोप उनीमाथि छ । ‘भित्र पाउने औषधिसमेत ‘छैन’ भनेर बाहिर पठाउने र मोटो रकम कमाउने हतियारका रूपमा अस्पताललाई प्रयोग गरिएको रहेछ,’ अर्की सेवाग्राही रमिला प्रधानले भनिन् ।
सेवाग्राहीले अस्पतालको सेवाबारे प्रश्न उठाइरहेका बेला अस्पतालले भने त्यस्तो समस्या नभएको दाबी गरेको छ । अस्पतालका प्रवक्ता जगत खड्का अस्पतालमा सेवा वा औषधि अभाव भएको अवस्थाबाहेक कसैलाई पनि बाहिर नपठाइएको दाबी गर्छन् । तर, सोमबार मात्रै कैयौँ सेवाग्राही सिबिसी चेक (सामान्य रगत जाँच) का लागि समेत बाहिरका ल्याबमा जान बाध्य भएका थिए । स्थानीय विनोद लामाले यसबारेमा प्रवक्ता खड्काको ध्यानाकर्षणसमेत गराए ।
अस्पतालको गेटनजिकै राधेराधे प्याथोलोजी ल्याबका संचालक विजय महतोका अनुसार अस्पतालका मेसिनहरूले काम नगर्दा भिडियो एक्सरेलगायत सम्पूर्ण जाँच बाहिरकै ल्याबमा गर्ने गरिएको छ । महतोले १ जना डाक्टरसमेत राखेका छन् । ‘कहिलेकाहीँ बिरामी सीधै यहाँ आउँछन्, अनि यतैबाट डाक्टर बोलाएर जँचाउँछौँ,’ उनले भने, ‘पहिले–पहिले भित्रबाट (अस्पताल) पनि डाक्टर सा‘बहरूलाई बोलाउने गरेका थियौँ ।’
अस्पतालको औषधि विभागका अन्य कर्मचारीले समेत बाहिर औषधि पसल खेलेका छन् । ह्यापी फार्मेसीका सञ्चालक सुनिल महतो पनि अस्पतालकै फार्मेसी डिपार्टमेन्टमा काम गर्छन् । ‘भित्र औषधि नपाइने भएकाले बाहिर सबै औषधि पाउने गरी राखेका हौँ,’ सञ्चालक महतोले भने, ‘सकेसम्म सेवाग्राहीहरू टाढा जानु नपरोस् भन्ने अभिप्राय हो ।’
तर, अस्पतालको फार्मेसी र बाहिरको पसलमा औषधि खरिद गर्दा मूल्यमा ५० प्रतिशतभन्दा बढी पर्ने गरेको स्थानीय उर्मिला घिमिरे बताउँछिन् । त्यसकारण पनि अस्पतालको फार्मेसीमा औषधि नराख्ने र बाहिर आफ्नै पसल चलाउने विकृति बढेको पाइएको छ । अस्पतालले निर्धारित सेवा सुविधामा ध्यान पु¥याउन नसक्दा अस्पतालकै गेट वरिपरि आधा दर्जन फार्मेसीहरू खुलिसकेका छन् भने अझै खुल्ने क्रममा छन् ।
यतिमात्र होइन, ३० मिटरकै वरपर रहेका कतिपय पोलिक्लिनिकहरूले त सेवाग्राहीहरूलाई अस्पताल जानै दिँदैनन् । सुदीक्षा प्याथोलोजी, खुसी मेडिकल एन्ड डाइग्नोसिस सेन्टर, ओम प्याथोलोजी एन्ड डाइग्नोसिस सेन्टरलगायतले निर्बाध बिरामीलाई बोलाउने र चर्को शुल्क लिएर जाँच गर्ने गरेको आरोप छ ।
तर, अस्पतालमा यति धेरै बेथिति मौलाउँदा समेत जनप्रतिनिधि र व्यवस्थापन समितिका पदाधिकारीहरू मौन देखिन्छन् । अस्पतालमा भएका विकृतिहरूबारे जानकार रहेको बताउँदै क्रमशः सुधार गर्दै गएको अस्पतालका प्रवक्ता खड्काको दाबी छ । केमिकल सकिएका कारण सिबिसी जाँचलाई निरन्तरता दिन नसकेको भन्दै ल्याब इन्चार्ज मनोज रायले छिट्टै समस्या समाधान हुने बताए ।
तर, सेवाग्राही उनीहरूको यस्तो प्रतिबद्धता पत्याउन तयार छैनन् । बर्दिवास–३ की उर्मिला घिमिरे यस्ता बहाना हरेक विभागमा बन्दै जाने र सेवाग्राहीलाई बाहिर जान बाध्य पार्ने गरेको बताउँछिन् । यसकै फाइदा उठाएर अस्पतालबाहिर क्लिनिक खोल्ने क्रम अझै जारी छ । केही समयअघि मात्रै यहाँ लाहान अल्ट्रासाउन्ड क्लिनिक खुलेको छ । आफूलाई डा. प्रमोद साह बताउने यसका सञ्चालकले भित्र अस्पतालमा पाइने सबै सेवा सुविधा यहीँ पाइने भन्दै विज्ञापन गरिरहेका छन् ।
बाहिर निजी अस्पतालमा काम गर्ने कतिपयले समेत बर्दिबास अस्पताललाई लक्षित गरेर औषधि पसल तथा क्लिनिक खोलेका छन् । अस्पतालको कमजोर व्यवस्थापन र सेवा प्रवाहलाई मध्यनजर गर्दै यस्तै क्लिनिक खोल्ने अर्का पात्र हुन्– प्रमोद महतो । उनी लालगढ अस्पतालको ल्याप्रोसीमा काम गर्छन् । बर्दिबास ल्याबोरेटरी रिलायबल नामक क्लिनिक सञ्चालन गरिरहेका महतोले अस्पतालको कमजोरीलाई अस्त्र बनाउँदै पैसा कमाउने बाटो खोजेको देखिन्छ ।
नाम नखुलाउने सर्तमा अस्पतालका कर्मचारीका अनुसार ८० प्रतिशत कर्मचारीका औषधि पसल तथा क्लिनिकहरू अस्पताल वरपर छन् । जसले अस्पतालको सेवासुविधालाई आफ्नो कब्जामा लिएर कमाउ धन्दामा लागेको देखिन्छ ।
यता, बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले अस्पतालमा देखिएको बेथितिबारे तत्कालै अनुगमन गर्ने बताएका छन् । अस्पतालका कर्मचारीहरूले त्यसरी औषधि पसल र क्लिनिक खोल्नु गलत भएको बताउँदै उनले तत्काल छानबिन प्रक्रिया अघि बढाएर दोषी देखिए कारबाही गरिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया