काठमाडौं । भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको ह्यात चौरमा हुने सांगीतिक कार्यक्रमका लागि काठमाडौं आएका छन् । ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रममा सहभागी हुन उनी बुधबार काठमाडौं आएका हुन् ।
उनी एयर इन्डियाको विमानमार्फत आज दिउँसो २ः३३ बजे काठमाडौं आइपुगेका हुन् । उनको १९ सदस्यीय सांगीतिक समूह (ब्याण्ड मेम्बर) भने आज बिहानै आएका थिए । नेपाली टच नेपालको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन नेपाल आएका गायक निगमले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली दर्शकसँग साक्षात्कार गर्न आतुर रहेको प्रतिक्रिया दिए ।
उनले भने, ‘मैले नेपाली गीत धेरै गाए पनि नेपालमा पहिलो पटक सांगीतिक कार्यक्रममा प्रस्तुत हुँदैछु, नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेको छ, म यसलाई स्मरणीय बनाउनेछु ।’
आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसंगीत पनि प्रस्तुत गर्न सक्ने भएकाले ल्याइएको बताए ।
कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकट शूल्क राखिएको छ । गायक निगमले स्वर दिएको नेपाली गीतहरू ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’लगायत लोकप्रिय छन् ।
प्रतिक्रिया