काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । ओलीले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. शारदा थपलियालाई नियुक्त गरेका छन् ।
वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष रहेका नेपालले यसअघि विश्वविद्यालयको परीक्षा नियन्त्रक भएर काम गरिसकेका छन् । उनले नेपाल प्राध्यापक संघ, नेपाल संस्कृत विश्वविद्यालयको महासचिव रहेर पनि काम गरिसकेका छन् । प्रजातन्त्रवादी प्राध्यापकका रूपमा सक्रिय नेपाल १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपकुलपति नियुक्त भएका हुन् ।
यसैगरी पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त केसी १२ जना प्रतिस्पर्धीलाई पछि पार्दैै उपकुलपति नियुक्त भएका हुन् । केसी एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष हुन् । यस्तै, थपलिया २०७५ सालमा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगकी सदस्यसमेत थिइन् ।
कृषि विश्वविद्यालयको उपकुलपतिका लागि थपलियासहित प्रा. डा. अर्जुनकुमार श्रेष्ठ, प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, प्रा.डा. पुष्करबहादुर पाल, प्रा.डा. बलराम कुमार भट्ट र प्रा.डा. होमबहादुर बस्नेतले आवेदन दिएका थिए ।
प्रतिक्रिया