काठमाडौँ–तराई द्रुतमार्गको उपयोगिता

सर्वाधिक चासोका साथ हेरिएको काठमाडौँ– तराई द्रुतमार्ग निर्माणको काम करिब ४० प्रतिशत सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । ५ वर्षभित्र काम सम्पन्न गरिसक्ने लक्ष्यका साथ नेपाली सेनाको व्यवस्थापनमा २०७४ वैशाखदेखि द्रुतमार्ग निर्माणको काम थालिएको थियो । ललितपुरको खोकनादेखि निजगढको पूर्व–पश्चिम राजमार्गसम्म ७१ किलोमिटर लम्बाइ रहने द्रुतमार्ग नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो विकासको पूर्वाधार आयोजना हो । सदुपयोग गर्न देशले सक्यो भने यो आयोजना निर्माण सम्पन्न भएपछि मुलुकलाई पुग्ने लाभ सानो छैन । तर निर्माण कहिले सम्पन्न होला ? निर्माणपछि राज्यले के कसरी सदुपयोग गर्ला ? भन्ने प्रश्न भने अनुत्तरित छ ।

किनकी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको आयोजना ६ वर्ष बितिसक्दा पनि बल्ल ४० प्रतिशत काम भएको छ । यसैगरी बनिसकेका कतिपय अन्य पूर्वाधारहरू उपयोगमा आउन नसक्दा द्रुतमार्गको पनि त्यही हविगत हुने हो कि ? भन्ने आशंका जीवितै छ । किनकी द्रुतमार्गलाई बढीभन्दा बढी उपयोगी बनाउनका लागि अन्य पूर्वाधारहरूको पनि निकै खाँचो हुन्छ, तर अन्य पूर्वाधार निर्माणतर्फ राज्यले खासै ध्यान दिएको देखिँदैन । द्रुतमार्ग निर्माण सम्पन्न हुनासाथ तराईका बारा र पर्सा जिल्ला पनि देशको संघीय राजधानी काडमाडौँ उपत्यकाकै अंग बन्नेछन्, राजधानी काठमाडौँ पनि पहुँचको हिसाबले तराईकै अंग बन्नेछ ।

६ वर्षको यो अवधिमा द्रुतमार्ग निर्माणको ४० प्रतिशत मात्रै काम सम्पन्न हुन निश्चय पनि सन्तोषजनक कुरा होइन, तर सबैभन्दा जटिल मानिएका संरचनाहरू सम्पन्न हुने चरणमा छन् । सुरुङ तथा ४० मिटरभन्दा बढी उचाइका पुल निर्माणको काम निकै जटिल मानिन्छ । सुरुङ छिचोल्ने काम पूर्वनिर्धारित अवधिभित्रै करिबकरिब सकिएको छ । धेरै उचाइका लामा पुलहरूको पनि पिल्लरको संरचना पनि निर्धारित समयभन्दा अघि नै बनाई सकिएको छ । पुल निर्माणको काम सम्पन्न हुनासाथ निर्माणको कामलाई थप गति दिन सजिलो हुने भएकोले २०८३ सालभित्र कुनै पनि हालतमा द्रुतमार्ग सञ्चालनमा आउने नेपाली सेनाले जनाइरहेको छ । सेनाले प्रतिवद्धता जनाएको समयभित्र सम्पन्न भयो भने धेरै नै राम्रो भयो, नभए पनि अबको ४ वर्षभित्र भने द्रुतमार्ग निश्चय नै सम्पन्न हुनेछ ।

दु्रतमार्ग निर्माण सम्पन्न हुँदासम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण सुरु हुने छाँटकाँटसमेत देखिएको छैन । द्रुतमार्ग सञ्चालनमा आउनासाथ राजधानी काठमाडौँमा सवारी साधनको चाप निश्चय नै बढ्नेछ । पहिलो कुरा त निजगढ तथा त्यसभन्दा पूर्वका यातायातका साधनहरू पोखरा तथा गण्डकी प्रदेशका सबै पहाडी जिल्ला आवतजावत गर्नका लागि काठमाडौँ हुँदै पृथ्वीराजमार्ग प्रयोग गर्न थाल्नेछन् । पूर्वी तराई र पोखरा– आवतजावत तथा सामान ढुवानीको ‘ट्रान्जिट’ विन्दु काठमाडौँ बन्नेछ ।

मधेस प्रदेश तथा भारतीय सीमावर्ती क्षेत्रका करिब १ करोड बासिन्दा बिहान काठमाडौँ आएर दिनभरी काम गरी बेलुका फर्कन सक्ने अवस्था हुने भएकोले सवारी साधनको चाप ठूलै परिमाणमा हुने संभावना छ । त्यसका लागि अहिलेदेखि नै योजना अघि बढाउनु जरुरी छ । तर खोकनाबाट सिधै थानकोट निस्कने गरी सडक निर्माणको योजना अहिलेसम्म बनाइएको छैन । न त खोकनाबाट सिधै पनौती–धुलिखेल निस्कने गरी सडक निर्माणको योजना बनाइएको छ । द्रुतमार्ग सञ्चालनमा आउने बेलासम्म कम्तिमा पनि राजधानी काठमाडौंको चक्रपथ बिस्तारको काम सम्पन्न हुनैपर्छ, तर अहिलेसम्म काम थालिएको छैन ।

यसैगरी सुनकोसी–मरिन डाइभर्सनबाहेक मधेस प्रदेशमा कृषि विकासका ठूला योजनाहरू अहिलेसम्म सुरु गरिएको छैन । मधेसमा कृषि उत्पादनको अवस्था यथावत रहने हो भने द्रुतमार्ग निर्माणपछि बजार बिस्तार हुने भनेको भारतीय किसानको हो, नेपाली किसानको होइन । किनकी चितवनको तरकारीभन्दा भारतको मोतिहारीको तरकारी राजधानी काठमाडौँमा छिटो र सस्तो ढुवानीमा आइपुग्छ ।

प्रतिक्रिया