लामिछानेको ऐतिहासिक तस्बिर

नेपाल प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर यतिबेला सामाजिक सन्जालमा भाइरल बनेको छ । गत २ कात्तिकमा पक्राउ गरिएका लामिछानेलाई अनुसन्धानका लागि विभिन्न जिल्लाहरू डुलाउँदै यतिबेला पोखरामा राखिएको छ । बुधबार समाजिक सन्जालमा पोस्ट गरिएको तस्बिर चितवनस्थित प्रहरी कार्यालयको हिरासत कक्षको हो । हिरासतमा रहेका व्यक्तिको तस्बिर खिच्नुु तथा सार्वजनिक गर्नु अपराध भएको भन्दै प्रहरीले छानविन अघि बढाएको छ । बिहीबार गृहमन्त्री रमेश लेखकले आइजिपी बसन्त कुँवरलाई बोलाएर यस विषयमा यथार्थ छानविन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

लामिछानेलाई हिरासतमा राखिएको कोठामा सिसिटिभी क्यामरा फिट गरिएको कास्की जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले जनाएका छन् । यता रास्वपाले भने प्रहरीले नै उक्त तस्बिर खिचेर सार्वजनिक गरेको आरोप लगाउँदै मानवअधिकार र गोपनीयताको हकमाथि अतिक्रमण भएको जनाएको छ । तर उक्त तस्बिर सिसिटिभीको फुटेजमार्फत आफूले खिचेको लामिछानेका समर्थक डा.निकोलश भुसालले जनाएका छन् ।

उक्त तस्बिर कसले के प्रयोजनका लागि कसरी खिचेको हो ? भन्ने विषयमा छानविन गर्न गृहमन्त्री लेखक स्वयं अघि सरेका कारण यथार्थता बाहिर आउने नै छ । तर, आमसर्वसाधारणका निम्ति तस्बिर खिचिनु तथा सार्वजनिक गरिनुको कानुनी पाटो मुख्य चासोको विषय होइन । चासोको विषय त उक्त तस्बिरमा लामिछाने कुन हालतमा देखिन्छन् ? भन्ने नै हो । किनकी हजार शब्दभन्दा एउटा तस्बिरले धेरै सन्देश दिन्छ ।

लामिछानेलाई हिरासत कक्षभित्र मानवीय व्यवहार नगरिएको पो हो कि ? भन्ने संकेत तस्बिरले गरेको छ । घाम नछिर्ने चिसो कोठा छ । सिरक डस्ना गतिलै देखिन्छ, चितवनमा त्यतिबेला जाडो सुरु भइसकेको थिएन । तस्बिर दिउँसो खिचिएको हो कि जस्तो देखिन्छ, तर उनी बिरामीजस्तै घुम्लुङ्ग सिरक ओढेर सुतिरहेका जस्ता देखिन्छन् । आफू बिरामी अवस्थामा रहेकै बेला चितवन प्रहरीको हिरासत कक्षबाट मध्यरातमा उठाएर सडक यातायातमार्फत पोखरा लगिएको लामिछानेले जनाएका थिए ।

अहिले सार्वजनिक भएको तस्बिरले लामिछानेको भनाइलाई पुष्टि गरेको छ । तस्बिर सार्वजनिक हुनासाथ सरकार आत्तिएको स्थितिलाई विश्लेषण गर्नेहरूले पनि लामिछानेमाथि मानवीय व्यवहार नभएको पो हो कि ? भन्ने अनुमान गरेका छन् । सहकारी ठगी प्रकरणमाथि यथार्थ छानविन गर्नेभन्दा पनि दुःख दिने नियतले नै लामिछानेलाई पक्राउ गरिएको अनुमानलाई लामो समयको हिरासत तथा जिल्ला जिल्लामा डुलाउँदै लगिएको घटनाले नै पुष्टि गरिसकेको छ ।

लामिछाने जघन्य अपराधको अभियोगमा पक्राउ परेका होइनन् । उनी पूर्वउपप्रधानमन्त्री, बहालवाला सांसद र देशको चौथो ठूलो राजनीतिकदलका सभापतिसमेत हुन् । यो हैसियतको व्यक्तिका निम्ति हिरासत कक्ष कस्तो हुनुपर्ने, हिरासतभित्र के के सुविधा हुनुपर्ने ? भन्ने कुरा लोकतान्त्रिक सरकारलाई पक्कै पनि थाहा छ होला । शाही शासनकालमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वमन्त्री प्रकाशमान सिंहलाई शाही आयोगमार्फत अहिले लामिछानेलाई नियन्त्रण गरिएकै शैलीमा पक्राउ गरिएको थियो । उनीहरूलाई त्यतिबेला कस्तो हिरासतमा राखिएको थियो ? भन्ने कुरा सबैभन्दा धेरै जानकारी भएका रमेश लेखक यतिबेला गृहमन्त्री छन् । किनकी देउवाले हिरासतभित्रै राख्ने पार्टीका अनौपचरिक बैठकका लागि सहजकर्ताको भूमिका लेखकले नै निर्वाह गर्थे ।

हिरासत वा जेलमा रहेका व्यक्तिको तस्बिर खिच्नु तथा सार्वजनिक गर्नु कानुनी रूपमा बन्देज होला, तर राजनीतिक रूपमा बन्देज हुँदैन । यदि बन्देज हुँदो हो त नेपाली कांग्रेसले चुनावमा जाँदा गणेशमान सिंहको भाङ्गाको लुगा तथा नेल हत्कडी सहितको तस्बिर किन घोषणापत्रमा राख्थ्यो होला र ? लामिछानेको यो तस्बिर पनि भोलि इतिहासको अपरिहार्य अंग बन्न के बेर ? यदि लामिछाने अदालतद्वारा निर्दोष ठरिए भने अवश्य पनि यो तस्बिर ऐतिहासिक बन्न सक्छ । तस्बिर खिच्ने र सार्वजनिक गर्ने व्यक्तिलाई विद्यमान कानुन अनुसार सरकारले अपराधी करार गर्न सक्ला, तर जनताको सूचनाको हकलाई भने उनले न्याय गरेका छन् ।

प्रतिक्रिया