संयुक्त राष्ट्र संघको आह्वानअनुसार नेपालमा पनि डिसेम्बर १८ तारिखमा विश्व आप्रवासन दिवस मनाइएको छ । विश्व आप्रवासन दिवस मनाउँदै गर्दा एउटा प्रश्न टड्कारो रूपमा खडा भएको छ । किनकी विगत १६ वर्ष अर्थात २०६५ साल यता कुल १४ हजार २१३ जना नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको तथ्यांक छ । यो अवधिमा वैदेशिक रोजगारीमा गएका ६५ लाख १३ हजार ४६२ मध्ये ३ हजार ४४० नेपाली अंगभंग भएर फर्किएको वैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख छ । हुन त यो अवधिमा स्वदेशमै पनि धेरैको मृत्यु भएको छ ।
पौने ३ करोड जनसंख्या भएको नेपालमा सरदर वार्षिक १ लाख जनाको मृत्यु हुने गरेको छ । तर स्वदेशमा हुने गरेको मृत्युदरलाई र वैदेशिक रोजगारीमा हुने गरेको मृत्युदरलाई एउटै टोकरीमा राखेर विश्लेषण गर्न मिल्दैन । किनकी स्वदेशमा मृत्यु हुने भनेको ९० प्रतिशतभन्दा बढी पाका उमेरका व्यक्तिहरूको हो । आयु पूरा भइसकेका वृद्ध–वृद्धाहरूको मृत्युलाई स्वभाविक मानिन्छ । किनकी प्राकृतिको नियम नै हो यो । तर वैदेशिक रोजगारीका क्रममा हुने गरेको मृत्यु स्वभाविक होइन, प्रकृतिको नियम विपरीतको हो ।
वैदेशिक रोजगारीमा जाने युवा भनेका १८ देखि ४० वर्ष उमेर समूहका हुन् । यो उमेर समूहका युवाको मृत्यु हुनु भनेको देश, समाज र सम्बन्धित परिवारका लागि निकै ठूलो क्षति हो । यो दोष कसको हो त ? के कारणले देशले युवा पलायन मात्रै होइन, युवा गुमाउनुपर्ने समस्या समाधान गर्न सकेको छैन ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने हाम्रो देशका नीति निर्माताहरू नै मुख्य दोषी हुन् ।
आफ्नो परिवारको सपना बुन्न विदेश गएको युवा लासका रूपमा बाकसमा फर्कंदा उसका वृद्ध बाबु–आमा, जवान श्रीमती तथा स–साना छोरा–छोरीमा पर्ने चोट सामान्य होइन । उनीहरूका लागि त सर्वश्व गुमेको हो । १६ वर्षको अवधिमा १४ हजार घरपरिवारको सर्वश्व गुम्नु भनेको सामान्य कुरा होइन । वैदेशिक रोजगारीका क्रममा के कति कारणले युवाहरूको मृत्यु हुने गरेको छ ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने निकै कहालीलाग्दो छ । कोही जोखिमपूर्ण काम गर्नु परेका कारण दुर्घटनामा परेर मरेका छन् । कसैको सडक अनुशासनको पालना गर्न नजान्दा यातायातका साधनले किचिएर ज्यान गएको छ । कोही समयमै औषधि उपचार नपाएर मरेका छन् । हावापानीको परिवर्तनजन्य अवस्था थेग्न नसकेर कसैको ज्यान गुमेको छ ।
रोजगारीका लागि विदेश जानैपर्ने वाध्यता नेपालका लागि नयाँ होइन । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने समस्या पनि नयाँ होइन । हजारौँ वर्षदेखिको निरन्तरता हो यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन कल्पनाका आधारमा मात्रै सिर्जना गरेका होइनन् । स्वदेशसँग सरोकार नै नभएको पहिलो र दोस्रो युद्धमा भाग लिन खटिएका लाखौँ नेपालीमध्ये अधिकांशको अस्तुसमेत घरपरिवारले नपाएको कहालीलाग्दो विगत हामीसँग छ । सयौँ वर्षअघि स्वदेश छाडेका लाखौँ नेपालीका सन्तान बर्मा, थाइल्यान्ड, मलेसिया, मरिसस, फिजी लगायतका देशमा अहिले पनि आफ्नो अस्तित्वका लागि संघर्ष गरेर बसिरहेको अवस्था छ ।
उनीहरू दोस्रो दर्जाको नागरिकका रूपमा बाँच्न बाध्य छन् । इतिहासको यो अभिसप्त निरन्तरताबाट हामी नेपालीले कहिले छुटकारा पाउने ? हिजोलाई दोष दिएर आजको गल्ती ढाकछोप गर्ने र भोलि पनि त्यही गल्तीलाई निरन्तरता दिने मानिसकितामा देशको नीति निर्माण तहमा रहनेहरू छन् । सिधासाधा जनतालाई पनि यस्तै लागिरहेको छ । स्वदेशमै बस्ने वातावरण किन बन्न सकिरहेको छैन ? भन्ने प्रश्न दरिलो साथ उठ्न सकेको छैन । उल्टै वैदेशिक रोजगारीको औचित्य पुष्टि गर्न सत्तासीनहरू व्यास्त छन् । स्वदेशमा श्रमशक्तिको अभावका कारण उत्पादन घट्दो छ, आयात बढ्दो छ । श्रम शक्तिको अभावमा पूर्वाधार विकास आयोजनाहरूको काम करिब करिब ठप्प छ ।
प्रतिक्रिया