काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसिसी) इजरायलले आयोजना गरेको विश्वव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरे प्रथम भएकी छन् । शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै उनले २ लाख नगद पुरस्कार प्राप्त गरेकी छन् ।
यस्तै पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै १ लाख नगद पुरस्कार प्राप्त गरिन् भने तेस्रो स्थान हासिल गर्दै रसियाबाट सहभागी समिरा केसीले ५० हजार नगद पुरस्कार प्राप्त गरेकोे आयोजकले जनाएको छ । प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटाले सान्त्वना पुरस्कारका लागि नगद ३० हजार प्राप्त गरेकी छन् ।
प्रतियोगितालाई २ उमेर समूहमा (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) विभाजन गरी सञ्चालन गरिएको थियो । निर्णायक मण्डलमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पूर्वमिस नेपाल सुगरिका केसी रहेका थिए ।
आयोजक एनसिसी इजरायलका अध्यक्ष कृष्ण भण्डारीले विदेशमा रहेका नेपालीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले गैरआवासीय नेपालीहरूलाई एउटै मञ्चमा ल्याउनाका साथै भविष्यमा अगाडि बढ्न थप हौसला प्रदान गरेको बताए । यस्तै, कार्यक्रमले सहभागीहरूको वक्तृत्व क्षमता प्रदर्शन र नेपाली भाषा–संस्कृतिको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष डा.बद्री केसीले बताए ।
प्रतिक्रिया