ओलीद्वारा एउटा भ्रम चिर्न अर्को भ्रमको प्रयोग

गत बिहीबारदेखि सामाजिक संजाल युट्युबमा प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भिडियो–अडियो निकै भाइरल बनेको छ । त्यो भिडियो–अडियोमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मदन भण्डारी मार्न मलाई जिम्मा दिन खोजेका थिए कांग्रेसका नेताले, मैले मानिनँ । त्यतिबेला मैले कुरा गर्दा मलाई थ्रेट पनि आयो, तलाईं मार्छन् यो कुर नगर पनि भने । मैले कुरा गर्न सकिनँ । अहिले बुढो पनि भएँ, मरेर बाँचेको मान्छे, अबचाहिँ म भन्छु ।’ यो अडियो झट्ट सुन्दा फेक हो भनेर विश्वास गर्न सकिने अवस्था छैन । ओलीले यो कुरा बोलेकै हुन् । तर उनले कांग्रेसबाट निष्कासित नेता उमेश गिरीको भनाई उदृत गरेका हुन् । २०७९ कात्तिक ३० गते एक टेलिभिजन च्यानलसँगको लामो कुराकानीका क्रममा ओलीले गिरीको यो भनाइ उदृत गरेका हुन् ।

त्यतिबेला त्यो कुराकानीमा उल्लिखित उमेश गिरीको नाम काटेर ओलीले नै बोलेको जस्तो लाग्ने गरी ‘क्लिप’ बनाएर यतिबेला समाजिक संजालमा राखिएको छ । यसरी भ्रम सिर्जना हुने गरी ‘क्लिप’ सार्वजनिक गर्नु गम्भीर अपराध हो । यो अपराध कसले, किन गर्यो ? भन्ने छानविनका साथै दोषीलाई कारबाही गर्नु सरकारको दायित्व हो । त्यसमाथि यो क्लिपबाट प्रधानमन्त्री ओली स्वयं पीडित बनेका छन् । तर छानबिन गर्नुको सट्टा प्रधानमन्त्री ओलीले यसलाई ज्यादै हल्का रूपमा लिएको देखिएको छ । यो भिडियो–अडियोको बास्तविकताका सन्दर्भमा प्रधानमन्त्री ओली स्वयंले सार्वजनिक रूपमै झुठो बोलेका छन् ।

गत शुक्रबार आदिवासी जनजाति महिलाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यो भिडियो क्लिपले उत्पन्न गरेको भ्रमका सन्दर्भमा कुरा उठाए । यही अपुरो भिडियो हेरेर बामदेव गौतमले टेलिफोन गर्दै आफ्नो राजीनामा मागेको प्रसंग सुनाए । तर, कुन सन्दर्भमा कहिले बोलेका कुराहरूको अंश हो यो ? भन्ने विषयमा भने प्रधानमन्त्री ओलीले झुठो बोले । उनले भने, ‘यो मैले बोलेकै होइन, एआईको दुरुपयोग गरेर माओेवादीको कसैले मेरै स्वरमा यो भिडियो बनाएको हो ।’ आफूले ‘उमेश गिरिको भनाई उदृत गरेको हुँ’ भनेर सत्य कुरा बोल्न प्रधानमन्त्री ओली किन डराए ? किनकी आमनिर्वाचन सन्निकट आइरहेको त्यो बेला एमालेले पनि जनतामा भ्रम सिर्जना गरेर भोट बटुल्ने नियतका साथ उमेश गिरिलाई प्रयोग गरेको थियो । बुढ्यौलीका कारण स्मरण शक्ति कमजोर भइसकेका गिरीले विभिन्न टेलिभिजनमा यो कुरा बोल्दा स्रोताले खासै वास्ता नगरेपछि एमाले अध्यक्ष ओली स्वयंले ‘उमेश गिरी यसो भन्छन् भन्दै भनाइ उदृत गरेका थिए ।’

विभिन्न प्रसंगमा बोलेका विभिन्न वाक्य तथा शब्दलाई जोडेर कसैको भिडियो–अडियो बनाई सार्वजनिक गरिदिने प्रवृत्ति पछिल्लो समयमा निकै बढेर गएको छ । कुनै बेला कांग्रेसकी सांसद आरजु देउवाले ‘सर्पमाथि कारबाही होस्’ भन्दै बोलेको भिडियो क्लिप होस् या भरखरै सम्पन्न उपनिर्वाचनमा कांग्रेस महामन्त्री गगन थापाले ‘कीर्तिपुरको डाँडोमा ल्यापटप चलाएर मासिक ४ लाख कमाउने’ प्रसंगको भिडियो क्लिप होस् । ठूलै तहल्का मच्चिएको थियो । दण्डहीनताकै कारण यस्ता फेक कुराहरू सामाजिक सन्जालमा भाइरल भइरहेका छन् । यसबाट समाजले बेहोर्नुपरेको नोक्सानी सानो छैन । सत्य कुरा पत्याउन छाड्ने र असत्य कुराको पछि लाग्ने वर्ग बढ्दै गएका कारण सबैभन्दा ठूलो संकट देशको चौथो अंग पत्रकारिताले भोग्नुपरेको छ ।

पत्रकारिता क्षेत्रको विश्वास गुम्दै गएकोमा नेताहरू दंग छन्, तर सत्य तथ्य खोज्न छाडेर भ्रमलाई विश्वास गर्दै जानेहरूको जमात बढ्नु भनेको देश नै ‘कोल्याप्स’ हुने लक्षण हो । यो डरलाग्दो सामाजिक रोगविरुद्ध यथोचित कदम चाल्न ढिलाइ भइसकेको छ । यो कदम चाल्ने मुख्य जिम्मेवारी सरकारको हो । तर भ्रम सिर्जना गर्ने मामिलामा प्रधानमन्त्री ओलीसमेत चोखा देखिएनन् । भ्रमलाई चिर्ने भनेको यथार्थले हो । तर प्रधानमन्त्री ओलीले भ्रम चिर्न यथार्थको प्रयोग गर्नुको सट्टा भ्रमकै प्रयोग गरे ।

प्रतिक्रिया