काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नेपालमा पढेका चिकित्सकलाई विदेशमा पनि मान्यता दिलाउन पहल थालेको छ । नेपालमा चिकित्सा शिक्षामा स्नातकोत्तर (एमडी) गरेका डाक्टरलाई भारत तथा अन्य देशमा सोसरहको मान्यता दिइँदैन । त्यसकारण नेपालमा पढेका डाक्टरहरू मारमा पर्दै आएका छन् । यस्तो समस्या अन्त्य गर्न तथा पूर्ण शुल्कमा विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउन मन्त्रालयले पहल थालेको हो ।
गत महिना इन्डोनेसियामा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई त्यहाँका स्वास्थ्यमन्त्रीले स्नातकोत्तर शिक्षा (एमडी) प्रदान गर्नका लागि आग्रह गरेका थिए । त्यसपछि मन्त्रालयले काम अघि बढाएको हो । माल्दिभ्सलगायत सार्क देशका विद्यार्थीलाई चिकित्सा शिक्षाको आपसी मान्यता प्रक्रिया सहज बनाउन सहजीकरण र कोटा व्यवस्थापनका उपाय खोज्न मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन बुझाउन आग्रह गरेको छ ।
उक्त प्रतिवेदनमा आवश्यक उपाय सुझाउन मन्त्रालयअन्र्तगतको नीति योजना तथा अनुगमन महाशाखाले काउन्सिललाई पत्राचार गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । हाल भारतलगायत मुलुकमा एमडी अध्ययन गरेकाले नेपालमा सहजै प्राक्टिस गर्न पाए पनि नेपालमा अध्ययन गरेकाले आपसी मान्यता प्राप्त नहुँदा कठिनाइ भइरहेको छ । आपसी मान्यता पाउने गरी सार्क स्तरमा पहल गर्न सकिएमा नेपालमा विदेशी विद्यार्थीको आकर्षण बढाउन सकिने विश्वास लिइएको छ ।
प्रतिक्रिया