पोखरा एभेन्जर्सलाई ८७ रनले हराउँदै चितवन राइनोजको दोस्रो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराउँदै दोस्रो जित हात पारेको छ । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको हो ।

मंगलबारको भएको दोस्रो खेलमा चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा ७४ रन बनाउँदै १३.२ ओभरमा अल आउट भयो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

नारायण १३औँ ओभरको पाँचौं बलमा आउट भए । म्याट क्रिचलीले १६ बलमा १७ रन बनाए । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र ल्युक बेनकेनस्टेनले समान ३ तथा दीपक बोहोराले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन बनाए । बोपारले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । उनी १६औँ ओभरको अन्तिम बलमा रेमन रेइफरको बलमा आउट भए । कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन बनाए । कुशल सागर ढकालको बलमा आउट भए ।

ल्युक बेनकेनस्टेनले १३ बलमा १६ रन बनाए । उनी बास डि लिडेको बलमा कप्तान कुशल भुर्तेलद्वारा क्याच आउट भए । ओपनर हसन इसाखिलले १० बलमा १४ रन जोडे ।

पोखराका लागि विपिन खत्री, बास डि लिडे र रेमन रेइफरले समान २ तथा सागर ढकालले १ विकेट लिए । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो ।

लगातार दोस्रो जित हात पारेको चितवनले ४ अंक जोडेको छ । पहिलो खेलमै लज्जास्पद हार बेहोरेको पोखराले कुनै अंक जोड्न सकेन । बुधबार लिगको पाँचौं दिन २ खेल हुँदैछ । पहिलो खेलमा काठमाडौं गुर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया