काठमाडौं । दृष्टिबिहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पहराएकोे छ । नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो ।
पाकिस्तानको लाहोरमा जारी दृष्टिबिहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेपछि पहिला ब्याटिङ गरेको थियो । नेपालले जितका लागि अफगानिस्तानसामु २२९ रनको लक्ष्य प्रदिएको थियो । तर अफगानिस्तानले सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्धशतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए ।
यस्तै नेपालविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तानका अबाशीनले ५२, द्वारनले २१ तथा शराफतले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले तीन तथा भरत थापा, अमिश गुरागाईँ र सुनिल सुवेदी क्षेत्रीले एक एक विकेट लिए ।
नेपालले मंगलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग तथा दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । दृष्टिबिहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।
प्रतिक्रिया