दृष्टिबिहीन विश्वकप क्रिकेट : नेपालले अफगानिस्तानलाई दियो २२९ रनको लक्ष्य

काठमाडौं । दृष्टिबिहीन विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानसामु जितका लागि २२९ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानको लाहोरमा जारी दृष्टिबिहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेपछि पहिल ब्याटिङ गर्न पुगेको हो । नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्धशतकीय पारी खेले ।

बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए ।

यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । नेपालले मंगलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । दृष्टिबिहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।

प्रतिक्रिया