नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा शनिबार राति अनौठो घटना भएको छ । उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा दर्दनाक घटना भएको हो । रामगंगा नदीमा फरिदपुर–बदायु्ंको दातागञ्जलाई जोड्ने अधुरे निर्माणधीन पुलबाट ट्याक्सी परमिट लिएको कार नदीमा खसेको हो ।
अधुरो पुलबाट कार खस्दा त्यसमा सवार तीनजनाको घटनास्थलमै ज्यान गएको छ । समाचार अनुसार उक्त कारमा सवार यात्रुहरू गुगल म्यापको सहयोगमा गन्तब्यतिर गइरहेका थिए । उनीहरूलाई उक्त अधुरो पुलबारे जानकारी थिएन ।
तीव्र गतिमा रहेको उक्त कार अधुरो पुलबाट सिधै तल नदीमा खसेको पाइएको छ । तीव्र गति भएकैले चालकले कारलाई रोक्न नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तीव्र गतिमा रहेको कार जब अधुरो पुलको भाग सकिने स्थानमा पुग्यो, तब २५ फिट तलको रामगंगा नदीमा गएर बजारियो । त्यसक्रममा कारमा सवार चालकसहित सबै तीनजनाको घटनास्थलमै मृत्यु भएको एबीपी न्युजले उल्लेख गरेको छ ।
प्रतिक्रिया