युकेमा चलचित्र ‘काँडेतार’ को प्रशंसा

काठमाडौं । युकेमा नेपाली चलचित्र ‘काँडेतार’ को प्रशंसा गरिएको छ । साउथईष्ट लण्डन रोयल बरो अफ ग्रीनउइचका मेयर जित रानाभाटको प्रमुख आतिथ्यमा इनास युके चलचित्र प्रवद्र्धन समितिको आयोजनामा ‘काँडेतार’ को प्रशंसा गरिएको हो ।

उक्त चलचित्र काँडेतारको विशेष शो गोरखा क्याप्रीकनको हलमा प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा खस समाज युकेद्वारा चलचित्रका राष्ट्रवादी नायक, निर्देशन, निर्माता नवल खड्का एवं गायिका सत्यकला राईलाई विशेष सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि साउथईष्ट लण्डन रोयल बरो अफ ग्रीनउइचका मेयर जित रानाभाटले बताए ।

उनीहरुलाई सम्मान प्रदान गर्नुका साथै वक्ताहरुले चलचित्र काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत कथा वस्तुमा आधारित रहेकोले चलचित्र उत्कृष्ट रहेको चर्चा गरेका थिए । कार्यक्रम संयोजक नायक, निर्माता एवं निर्देशक मनिस श्रेष्ठ, खस समाजका अन्तर्राष्ट्रिय संयोजक टेक बहादुर थापा लगातका विशिष्ट व्यक्तित्वहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

आफ्नो देशलाई विदेशी भूमिमा चिनाउने उदेश्यले निमार्ण भएको भन्दै चलचित्र ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफू अत्यन्तै हर्षित भएको चलचित्र निर्मात्री सत्यकला राईले बताइन् ।

चलचित्र हेर्ने दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्न आफैँमा गायिका समेत रहेकी चलचित्र निर्मात्री सत्यकलाले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दै आइरहेकी छन् ।

चलचित्र काँडेतारमा नवल खडका, गौरब पहाडी, रेविका गुरुङ, प्रशान्त यादव, सुरबिना कार्की, मुरलिधर, सन्जय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठलगायत कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया