दुर्गमका विद्यार्थीलाई विद्यालय पुग्नै सकस

पाँचथर । जिल्लाको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ च्याङथापूको खोलाघारीकी सुकमाया राईका नातिनीहरू यस वर्षबाट कक्षा ९ मा पढ्न थालेका छन् । कक्षा ८ सम्म समरजुङमा रहेको विद्यालयमा अध्ययन गरेका उनीहरूले कक्षा ९ भने च्याङथापूको बिष्णु माध्यमिक विद्यालयमा अध्ययन गर्नुपर्छ, किनकी समरजुङको विद्यालय कक्षा ८ सम्म मात्रै छ । खोलाघारीदेखि समरजुङ र च्याङथापू पुग्न करिब समान समय लाग्छ । तर समरजुङ गाउँकै बाटो हुँदै पुगिन्छ । च्याङथापु पुग्न भने शुकमायाको घरभन्दा झण्डै २०० मिटर तल रहेको मेवा खोला ५ पटक तर्नुपर्छ ।

नातिनीहरू माथिल्लो कक्षामा पुगेर पढ्न थालेको खुसीभन्दा विद्यालय कसरी पुग्लान् र कसरी फर्कलान् भन्ने पिर शुकमायाको छ । ‘यसपालिको बर्खामा त पानी कम परेकाले घरबाटै धाए । अर्को बर्खा यसपालिजस्तो नहोला’, उनले भनिन्, ‘आउँदो वर्ष डेरा बसाउनु पर्ला । बाटो छैन्, पुल पनि छैन् । भएको पुल पनि बाढीले हिर्काएर डर मर्नु भएको छ ।’

खोलाघारीकै राजेश राईका छोराछोरी पनि च्याङथापूमै पढ्दै आएका छन् । उनले आफ्ना छोराछोरीलाई च्याङथापूमै डेरामा राखेर पढाउन खोजेका थिए । तर छोराछोरीले अन्यसँग डेरामा बसेर पढ्न नरुचाएपछि घरैबाट धाउने गरेको उनको भनाइ छ । ‘बाढीले बाटो बगाएपछि विद्यार्थीहरूलाई एकदमै गाह्रो छ । बर्खामा पानी थपिनासाथ फड्के बगाउँछ’, उनले भने, ‘त्यसैले बर्खा र पानी परेको समयमा हामी नानीहरूलाई स्कुल पठाउदैनौँ ।’


हुन पनि यहाँबाट करिब सवा घण्टा पैदल यात्रा गरेर च्याङथापू पुग्न मेवा खोला २ स्थानमा झोलुंगे पुल तथा ३ स्थानमा फड्के तर्नुपर्छ । बालबालिकाहरूलाई २–३ वटा बाँस वा रुख तेस्र्याएर बनाइएको फड्के गर्न कठिन पर्छ । त्यसमा पनि एउटा झोलुंगे पुल बाढीले हिर्काएर जोखिमपूर्ण बनेको छ । ‘नानीहरू स्कुल जाने बाटो छैन । नानीहरूलाई स्कुल नपठाऔँ भने पढाइ बिग्रने भयो’, पिर मान्दै राजेशले भने, ‘पठाऔँ भने फर्केर आउलान् कि नआउलान् भन्ने तनाव हुन्छ ।’

याङवरक–१ को मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुंगा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा झरेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा यहाँ मानिस हिँड्ने गोरेटो बाटोसमेत छैन । यसकारण यहाँका मगरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका विद्यार्थीहरू अत्यधिक प्रभावित बनेका छन् ।

च्याङथापू बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने मोटरबाटोले यी वस्तीहरूलाई समेटेको थियो । गत वर्षको असार २ गते आएको बाढीले उक्त सडकको मेवा खोलाको किनारामा पर्ने झण्डै तीन किलोमिटर मोटरबाटोे बगाएको छ । मोटरबाटो नै यी वस्तीबाट च्याङथापू पुग्ने पैदल मार्गसमेत थियो । बाढीले दशकौँदेखिको गोरेटो बाटोसमेत क्षतिग्रस्त बनाउँदा बालबालिकाहरू विद्यालय जानसमेत कठीन परेको हो ।

पहिरो प्रभावित क्षेत्र ‘चोक’का जसमान राईले आफ्नो कान्छो छोरालाई च्याङथापूमै डेरा खोजेर पढाउँदै आएका छन् । ‘कान्छो छोरा च्याङथापूमै बसेर पढ्छ । घरबाट विद्यालय जान र फर्कन कठिन भयो’, उनले भने । चोककै अशोक राईको परिवार अहिले च्याङथापू बसाइँ सरेको छ । अशोककी श्रीमती धनकुमारीले भनिन्, ‘घर बस्न जोखिमपूर्ण भयो । हिउँदमा त बस्न सकिन्छ तर पहिरोको झझल्को आइरहन्छ । खास समस्याचाहिँ बालबालिका पढाउन मुस्किल भयो । त्यसैले यता आएर बसेका छौँ ।’

याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार आफ्ना बालबालिकाहरूलाई पढाउनकै लागि यी क्षेत्रबाट कतिपय मानिसहरू बसाइँ सरेका छन् । ‘कोही च्याङथापू झरेका छन् भने कोही झापा नै पुगे’, उनले भने, ‘सानो नानी हुने धेरै जनाले अहिले गाउँ छोडिसकेका छन् ।’ फड्के तरेर स–साना बालबालिका विद्यालय पुग्न र फर्कन डरमर्दो अवस्था रहेको वडाध्यक्ष राई बताउँछन् । ‘विद्यालय गएका छोराछोरी घर फर्कन टुंगोे नहुने भएपछि गाउँ छोड्ने नै भए’, उनले भने ।

२०८० असार २ मा आएको बाढीले मेवा खोलाको तटीय क्षेत्रमा क्षति पुर्याएको थियो । अत्यधिक वर्षापछि यत्रतत्र पहिरो जाँदा बस्ती बसेदेखि हालसम्म मानिस हिँड्ने गरेको खोला किनाराको गोरेटो बाटोसमेत बगाएको स्थानीयवासी पञ्चध्वज राईको भनाइ छ ।

प्रतिक्रिया