काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो ब्रान्ड एम्बेसडर घोषणा गरेको छ ।
विराटनगर किङ्सले आइतबार पत्रकार सम्मेलनमार्फत नायक दयाहाङलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको हो । उक्त कार्यक्रममा विराटनगरका मालिक वैंकटेस मुन्द्रा र नायक दायहाङले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता १ वर्षको हुनेछ ।
सन्दीप लामिछाने विराटनगर किङ्सका मार्की खेलाडी हुन् । उनी ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रममा उपस्थित थिएनन् । सामाजिक सञ्जालमा लाखौँमा फलोअर्स रहेका सन्दीपले विराटनगरका कुनै पनि गतिविधि सेयर गरिरहेका छैनन् ।
उनी र विराटनगर किङ्सबीच पारिश्रमिकका विषयलाई लिएर असमझदारी रहेको चर्चा पनि चलिरहेको थियो । आइतबार आफ्नो फ्रेन्चाइज टोलीको औपचारिक कार्यक्रममा पनि सन्दीप उपस्थित नभएपछि प्रश्न उठे । तर विराटनगरका मालिक मुन्द्राले आफ्नो मार्की सन्दीप बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको र केही दिनपछिका कार्यक्रममा आउने बताए । साथै मुन्द्राले कोसीमा क्रिकेटको विकासमा सघाउ गर्ने उद्देश्यले विरानगर किंग्सले काम गरिरहेको बताए । उनले कोसीको ५ जिल्लामा ट्यालेन्ट हन्ट गरिएको र निकट भविष्यमा एकेडेमी पनि सञ्चालनमा ल्याउने उल्लेख गरे ।
सो अवसरमा अभिनेता दयाहाङ राईले आफ्नै क्षेत्रसमेत रहेको विराटनगरसँग जोडिन पाउँदा धेरै खुसी रहेको उल्लेख गर्दै खेलले धैर्यता र अनुशासनमा रहन सिकाउने भएकाले आफूले नियमित रूपमा पछ्याउँदै आएको बताए । साथै उनले देशका उन्नति र विकास लागि कला र खेल क्षेत्रमा लगानी लगानी गर्न आवश्यक रहेको औँल्याए । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटप्रति चासो र समर्थन गर्दै आएका अभिनेता दयाहाङ राईलाई विराटनगर किङ्सले आफ्नो टोलीमा जोड्दा क्यानका लागि एक जितसरह रहेको बताए ।
विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गप्टिल, ओमानका अकिब इलियास, वेस्ट इन्डिजका निकोलस कीर्तन र स्कटल्यान्ड क्रिस सोललाई अनुबन्ध गरेको छ । आगामी १५ मंसिरदेखि ६ पुससम्म हुने एनपिएलमा ८ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् ।
प्रतिक्रिया