पोखराका प्रेमप्रसादको एकीकृत कृषि

काठमाडौँ । पोखरा महानगरपालिका–२४ लौरुकका किसान प्रेम अधिकारीका फार्ममा उत्पादन भएका कृषिजन्य वस्तु लेकसाइड आसपासमा खरिद गर्नेको घुइँचो हुन्छ । बजार पु¥याइएका तरकारी बिक्री हुँदैन कि भन्ने उनलाई चिन्ता लाग्दैन । प्रेमप्रसादले बजारमा जितिरहेको विश्वास उनको एकीकृत कृषिप्रतिको लगाव र मिहिनेत हो । पहिचान अर्गानिक कृषि फार्म सञ्चालन गरिरहेका अधिकारीले फार्ममा एकीकृत रूपमा पशुपालसँगै तरकारीखेती पनि गरिरहेका छन् । गोठमा भैँसीपालन गरिहेका अधिकारीले दैनिक ४५ लिटर दूध बेचिरहेका छन् भने तिनै भैँसीको मलले ४ वटा टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् ।

सुरुमा गाउँका स्थानीयकोसमेत दूध संकलन गरी ७०० लिटरसम्म बजारमा बिक्री गर्न लैजाने गरेको अधिकारीले बताए । फार्ममा पालिएका भैँसीको मल आफ्नै तरकारीखेतीमा प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ । उनले भने, ‘विषादिरहित मल प्रयोग भएकाले उत्पादित तरकारीको माग पनि बजारमा बढी छ ।’ आफ्नो जीवनकालमा विभिन्न अनुभव पनि सँगालेको बताउँदै अधिकारीले सन् २००० देखि २००५ सम्म कतारमा वैदेशिक रोजगारी गरेको जानकारी दिए । त्यसयता लेकसाइडमा होटेल सञ्चालन गरेका उनले २०७२ सालको भूकम्पपछि कृषितर्फ लागेको जानकारी दिए ।

अर्गानिक खेतीका लागि चाहिने मल गोठबाट उपलब्ध हुने गरेको भन्दै अधिकारीले गोठमा अहिले १८ वटा भैँसी रहेका उल्लेख गरे । लोकल कुखुरापालन पनि गरिरहेका उनले बजारको मागअनुसार कृषिजन्य उत्पादन पु¥याउन नसकेको बताए । आफैँ बजारीकरणमा लाग्नुका साथै र परिवारका सदस्यले पनि सहयोग गर्दा काम गर्न सहज भएको अधिकारीको भनाइ छ । व्यावसायिक कृषिमा परिवारजनबाट सहयोग पाएको बताउँदै उनले एकीकृत कृषिबाट जोकोही लाभान्वित हुनसक्ने अनुभव सुनाए । परिवारको सहयोगसँगै उनले अन्य २ जनालाई दैनिक ज्यालादारीमा रोजगारीसमेत दिँदै आएका छन् ।

‘मेरो व्यावसायिक कृषिमा श्रीमती, छोराछोरी, आमा सबैको निरन्तर साथ र सहयोग छ’, उनले भने, ‘एकीकृत रूपमा पशुपालन र तरकारीखेती गरेकाले उपभोक्तालाई शुद्ध प्रांगारिक उत्पादन पु¥याउन सकेको छु ।’ उत्पादित वस्तुको बजार लेकसाइड रहेको बताउँदै अधिकारीले धेरै उत्पादन हुँदा पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्स सहयोगी बन्ने उल्लेख गरे । सुरुमा १० लाख रुपैयाँबाट व्यावसायिक कृषिमा लगानी सुरु गरेको जनाउँदै उनले त्यसयता टनेल निर्माण, गोठलगायत पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको बताए । उत्पादित वस्तुको सहज बजारीकरणका साथै आम्दानी पनि प्रशस्तै भइरहेकाले सन्तुष्ट रहेको उनको भनाइ छ ।

अघिल्लो वर्ष १ लाखको साग, १ लाख रुपैयाँको काँक्रो बिक्री गरेको अधिकारीले जानकारी दिए । धनियाँ, गोलभेँडालगायत उत्पादनबाट पनि सोहीअनुसार फाइदा भएको उनले अनुभव सुनाए । गत वर्ष राँगा बिक्रीबाट सबै खर्च कटाएर १ लाख ५० हजार रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए । अधिकारीले गरेका एकीकृत कृषि अरूका लागि पनि अनुकरणीय भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।

‘पशुपालनसँगै तरकारीजन्य उत्पादन गर्दै आउनुभएका अधिकारीले एकीकृत रूपमा कृषिकर्म गर्नुभएको छ’, उनले भने, ‘घरमा पशुपालन भएकाले खेतबारीमा पशुमल प्रयोग भएकाले अर्गानिक तरकारी उत्पादनमा सहयोग पुगेको छ ।’
‘हाम्रो परिवेशमा एउटै किसानको सयौँ रोपनी जग्गा हुने अवस्था पनि छैन’, कडरियाले भने, ‘थोरै जग्गामा अधिकतम लाभ लिन अब अधिकारीले जस्तै अरूले पनि एकीकृत कृषि प्रणाली अपनाउनु जरुरी छ ।’

प्रतिक्रिया