काठमाडौं, ४ चैत । सहिद स्मारक ए डिभिजन लिगको सुपर एटमा शीर्षस्थानको थ्री–स्टार क्लबले कमजोर प्रदर्शन गरेपछि उपाधि होडमा आफ्नो उपस्थिति बलियो बनाउने अवसर पाएको मनाङ –मस्र्याङ्दी शनिबार फ्रेन्ड्स क्लबविरुद्ध २–२ ले बराबरीमा रोकिएको छ ।
मनाङ बराबरीमा रोकिएसँगै सुपर एटमा खेलेका तीन खेलमा दुईमा हार र एकमा जितको नतिजा निकालेर समस्यामा परेको थ्री–स्टारलाई स्पष्ट फाइदा पुगेको छ । थ्री–स्टार दोस्रो स्थानको मनाङभन्दा पाँच अंकले अगाडि रह्यो । थ्री–स्टारको ३८ अंक छ भने मनाङको ३३ अंक भयो ।
फ्रेन्ड्सविरुद्ध जित हात पार्न नसकेपछि मनाङको उपाधि होड आफ्नो नियन्त्रणमा मात्र सीमित रहेन । दुईपटक खेलमा पछि परेर बराबरीमा पुगे पनि मनाङले खेलभर गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो । मनाङको फिनिसिङ कमजोर रह्यो ।
आक्रामक सुरुआत गरेको फ्रेन्ड्सले १७औँ मिनेटमा पहिलो अग्रता लिएको थियो । डोडोजले क्रसमार्फत निकालेको बल प्रकाश बूढाथोकीले अगाडि बढाउँदै डीबक्स भित्रबाट सेकेन्ड बारमा प्रहार गर्दा मनाङका डिफेन्डर जाम्बोबाट डिफ्लेक्ट हँुदै फस्ट बारमा गोल भएको थियो ।
तर ४४औँ मिनेटमा मनाङले खेल बराबरीमा ल्याइपुर्यायो । काउन्टर एट्याकमा जाम्बाले निकालेको अवसरमा सिकोले डिफेन्डरलाई बिट गर्दै डीबक्स भित्रबाट फस्ट बारमा गोल गरेका थिए । त्यसको एक मिनेटअघि मात्र विकास सिंह क्षेत्रीले उपलब्ध गराएको एयर बलमा निराजन मल्लले हेडमार्फत गरेको प्रहार टप कर्नरमा लागेर फर्किएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा फ्रेन्ड्सले अग्रता लिने मौका पाएको थियो तर डोडोज वन भर्सेस वनमा गोल गर्न असफल भए । दोस्रो हाफमा राम्रो सुरुआत मनाङले गरेको थियो तर ५३औँ मिनेटमा गोल गरेर फ्रेन्ड्सले अग्रता लियो । औमारले तीन रक्षकलाई बिट गर्दै गोल गरे । ६६औँ मिनेटमा मनाङले खेललाई पुन बराबरीमा ल्याइपुर्यायो ।
फ्रेन्ड्सका रक्षकहरूको गल्तीको फाइदा उठाउँदै एम्बिल स्टिफनले गोल गरेर मनाङलाई जिततर्फ डोर्याउने प्रयास गरेका थिए । लगत्तै फ्रेन्ड्सले गोल गर्ने अवसर पाएको थियो तर डोडोजले टच लाइनबाट गरेको क्रसमा विष्णु केसीले बल भेटाउन ढिला गरे । अन्तिम १० मिनेटमा मनाङका रक्षक विकास सिंह क्षेत्रीले करिब ३५ यार्ड टाढाबाट गरेको प्रहार क्रस वारमा लागेर बाहिरिएको थियो । मनाङका सुजल श्रेष्ठ र निराजन मल्लको प्रदर्शन कमजोर रह्यो । खेलपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले उपाधि होड आफ्नो नियन्त्रणबाहिर गएको बताउँदै उपाधि जित्ने सम्भावना भने कायम रहेको बताए ।
प्रतिक्रिया