म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म, कति पर्छ किलाेकाे ?

म्याग्दी । यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो । रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले यहाँ उत्पादित टिमुर स्वदेशका साथै विदेशबाट पनि माग आएको बताए ।

‘विभिन्न देशमा रहेका नेपालीले जन्मथलो आउँदा र आफन्तमार्फत उपभोगका लागि टिमुर लैजानुहुन्छ । पछिल्लो समय व्यावसायिक रूपमा माग आउन थालेको छ’, उनले भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा परीक्षण गरेर उपभोगयोग्य प्रमाणित गरिएको टिमुर विदेश पठाउने गरेका छौँ ।’

बेनी–९ घतानको फरकफरक ठाउँमा उत्पादन भएको २० किलो काँचो र २ किलो सुकाएको टिमुर परीक्षणका लागि गत साता काठमाडौँस्थित गुण नियन्त्रण विभागको प्रयोगशालामा पठाएको बानियाँले जानकारी दिए । प्रयोगशालाको प्रतिवेदन आएपछि बिक्री गर्ने तयारी भइरहेको भन्दै उनले अहिले यहाँका किसानले उत्पादित टिमुर टिप्न थालेका बताए ।

गत वर्ष घतानमा उत्पादन भएको १ हजार ६०० किलो टिमुर प्रतिकिलो ३ हजारका दरले बिक्री भएको थियो । योमध्ये विदेशी बजारमा करिब २०० किलो बिक्री भएको बानियाँले बताए । धेरैजसो टिमुर मुस्ताङका होटल सञ्चालकहरूले अग्रिम भुक्तानी गरी खरिद गर्ने गरेका छन् ।

घतान क्षेत्रमा यस वर्ष करिब २ हजार किलो टिमुर उत्पादन हुने अनुमान गरिएको भूमेसिद्ध टिमुर सञ्जालले जनाएको छ । बेनी–९ ढावाका नरबहादुर राईले २० हजारको टिमुर बिक्री गरिसकेको जनाउँदै थप ४० हजार रुपैयाँ बराबरको फल बिक्रीका लागि तयार भएको बताए ।

‘खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछि यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन्’, किसान राईले भने, ‘फलाउन र टिप्न सक्नुप¥यो, टिमुर बिक्रीका लागि बजारको समस्या छैन, घरबाटै बिक्री हुन्छ ।’

बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब १५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए । ‘बेनी–९ जिल्लामा बढी टिमुरखेती हुने स्थान हो’, उनले भने, ‘म्याग्दीमा हाल वार्षिक करिब ६ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको हाम्रो तथ्यांक छ ।’

पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन् । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपाली टिमुरको उत्पादन दोब्बरले बढेको ढावाकी जमुना राईले बताइन् । ‘एउटै रूखमा २ किलोसम्म टिमुर फलेको छ’, उनले भनिन्, ‘यसपाली ६ किलो बिक्री गर्ने तयारी गरेकी छु ।’

पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसान बताउँछन् । ‘काँडाधारी रूख हुने भएकाले टिमुरको फल टिप्न दुःख हुन्छ । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने जोखिम पनि हुन्छ’, किसान राईले भनिन् ।

भूमेसिद्ध टिमुर सञ्जालमा आबद्ध किसानलाई २ वर्षअघि लुपथान्सा एयरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालले टिमुर टिप्न र बोट काँटछाँट गर्न जर्मनीमा विकास भएको ४० थान सिकेचर र आरा उपलब्ध गराएको थियो । डिभिजन वन कार्यालयले टिमुर प्रशोधन गर्ने औजार उपलब्ध गराएको छ ।

जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू–तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न संघसंस्थाले बिरुवा वितरण गर्दै आएका छन् । डिभिजन वन कार्यालयले गत वर्षमा २० हजार टिमुरका बिरुवा निःशुल्क वितरण गरेको थियो । जिल्लास्थित उद्योग वाणिज्य संघले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवद्र्धन गर्दै आइएको जनाएको छ ।

प्रतिक्रिया