राष्ट्रिय झण्डाको अपमान

सम्पादकीय

केही वर्ष अघि मधेसी अन्दोलनका क्रममा नेपालको राष्ट्रिय झण्डा बालेर आगो तापेको भिडियो सार्वजनिक भयो । राज्य प्रसासनले तत्काल ‘एक्सन’ लियो । आन्दोलन आह्वान गर्नेहरुले पनि तत्कालै गल्ती महशुस गर्दै यस्ता हर्कत गर्नेहरु माथि निगरानी राख्न थाले । त्यसको केही महिना पछि मधेसीदलहरुले आयोजना गरेको मसाल जुलुसमा राष्ट्रिय झण्डा समेत फहराइएको भिडियो मिडियामा सार्वजनिक भयो । मधेसी दलहरुको कार्यक्रममा राष्ट्रिय झण्डा प्रयोग भएको विषयलाई धेरैले सकरात्मक रुपमा टिप्पणी गरे । खासगरी यो घटनालाई राजधानी काठमाडौंले सकरात्मक रुपमा लियो ।

त्यसपछि गत स्थानीय निर्वाचनमा देशको संघीय राजधानी समेत रहेको काठमाडौं महानगर पालिकाका मेयर पदका उमेद्वार बलेन्द्र शाहले राष्ट्रिय झण्डा ओढेर चुनाव प्रचार गरे । दलको झण्डा बोक्ने उमेद्वार भन्दा राष्ट्रिय झण्डा बोक्ने नै ठीक हो । भन्ने टिप्पणी त्यतिबेला भयो । किनकी राष्ट्रिय झण्डा भनेको सबैको साझा हो । बालेन्द्र शाहले चुनाव जित्नुका कारणहरु मध्ये यो पनि एउटा थियो ।

यो घटना पछि राष्ट्रिय झण्डाको प्रयोगले जनताको मन जित्न सकिँदो रहेछ भन्ने कुरा देशको राजनीतिमा हावी भयो । निजी स्वार्थका लागि राष्ट्रिय झण्डा प्रयोग गर्ने प्रतिस्पर्धा नै सुरु भयो । यो प्रतिस्पर्धामा यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै भन्दा अगाडी देखा परेको छ ।
आफ्ना सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा रास्वपाले राष्ट्रिय झण्डा बोकेर आन्दोलन गरिरहेको छ । कात्तिक १० गते प्रमुख प्रतिपक्षीदल नेकपा माओवादीले आयोजना गरेको विरोध जुलुसमा पनि छिटफुट रुपमा राष्ट्रिय झण्डा प्रयोग भएको देखिएको छ ।

झट्ट हेर्दा देशका नागरिकले आफ्नो राष्ट्रिय झण्डा प्रयोग गर्नु नराम्रो होइन । तर किन र केका लागि प्रयोग भएको छ ? भन्ने प्रश्नलाई राज्यले ज्यादै गम्भीर रुपमा लिनु पर्छ । हरेक देशको सार्वभौम चिनारी दिन राष्ट्रिय झण्डा प्रयोग गरिएको हुन्छ । अर्थात राष्ट्रकै अखण्ड सार्वभौमिकतालाई निर्विवाद अभिव्यक्त गर्ने चिन्ह हो राष्ट्रिय झण्डा ।

राष्ट्रिय झण्डा भनेको सिंगो देशको प्रतिनिधित्व हो । राष्ट्रिय झण्डा आफै प्रत्यक्ष बोल्दैन तर पनि यसको आफ्नै स्पष्ट भाषा हुन्छ । राष्ट्रिय झण्डा भित्र सिंगो देशको भूगोल र जनता अटाएका हुन्छन् । राष्ट्रिय झण्डाको प्रयोग कसरी गर्ने ? कस्तो अवस्थामा राष्ट्रिय झण्डा प्रयोग गर्ने ? कस्तो अवस्थामा नगर्ने ? भन्ने नियम हरेक देशले बनाएका हुन्छन् ।

हाम्रो देशले पनि यो नियम बनाएको छ । देशको औपचारिक प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय कार्यक्रम तथा कुनै देशमा जाँदा राष्ट्रिय झण्डा सहित जाने प्रचलन छ । देशको नीति निर्माण गर्ने कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने प्रचलन छ । देशको नीति निर्माण तहमा बस्ने व्याक्ति सवार साधनमा पनि राष्ट्रिय झण्डा प्रयोग गरिन्छ ।

जब उनीहरु सवारी साधनबाट उत्रन्छन्, तब राष्ट्रिय झण्डा छोपिन्छ । राष्ट्रिय समारहोमा पनि घर घरमा राष्ट्रिय झण्डा फहराउने चलन छ । तर हाम्रो देशमा पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोगलाई निकै हल्का बनाउन थालिएको छ । कुनै व्याक्ति या समुहको निजी स्वार्थका लागि खडा भएका संघ, संगठनका कार्यलय तथा गतिविधिमा पनि राष्ट्रिय झण्डाको प्रयोग हुन थालेको छ ।

राष्ट्रिय झण्डा बोकेर दिनभरी सरकार विरुद्ध नारा लगाउने, त्यही झण्डाले पसिना पुछ्ने , थकाई लागेपछि त्यही झण्डा ओछ्याएर बस्ने, बेलुका राष्ट्रिय झण्डालाई रछ्यानमा मिल्काएर घर फर्केने व्याक्तिलाई देशभक्त भन्न मिल्ने की नमिल्ने ? तर रास्वपाका कार्यकर्ता तथा समर्थकहरुले जानी जानी यो काम गरेको नहुन पनि सक्छ । किनकी राष्ट्रिय झण्डा भनेको के हो ? र यसको प्रयोग कस्तो अवस्थामा कसरी गर्ने ? भन्ने यथार्थ जानकारी जनतामा पुग्न नसकेको उदाहरण हो यो । यस विषयमा पाठ्यक्रममा पानी खासै सामाग्री राखिएको छैन । संचार माध्यमहरुले पनि यस विषयमा सामाग्रीहरु खासै प्रवाह गरेको देखिन्न ।

तर एकै चोटी दुई देशको नागरिकता प्रमाणपत्र प्रयोग गर्नु अपराध हो भन्ने कुरा थाह नपाए जस्तै , आँफ्नो समेत स्वामित्वको संस्थामा कसरी रकम आयो ? भन्ने कुरा थाह नपाए जस्तै हरेक दलको आ–आफ्नो झण्डा हुन्छ भन्ने कुरा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले थाह नपाएको हुनसक्छ । तर थाह पाइन भन्ने छुट कानुनले दिँदैन । त्यसमा पनि ‘जान्नेलाई छान्ने’ नारा बोकेको पार्टीले कम्तिमा पनि राष्ट्रिय झण्डाको महत्व र प्रयोग विधि थाह पाउनु पर्छ ।

प्रतिक्रिया