सुर्खेत । ऋति फाउण्डेसनले नीति तथा शासनमा युवा (Youth in Policy and Governance – YPG) फेलोशिपको लागि आवेदन खुल्ला गरेको छ । कर्णालीका युवाहरुको नेतृत्व विकासका लागि फाउण्डेसनले कर्णाली प्रदेशसभासँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
एक वर्ष अवधिको फेलोशिप कार्यक्रमले कर्णाली प्रदेशका २० देखि ३० वर्ष उमेर समूहका युवाहरुलाई लक्षित गरेको छ । उक्त फेलोशिपअन्तर्गत सहभागीहरूले कर्णाली प्रदेशसभाका सदस्यहरूसँग सहकार्य गरी प्रादेशिक विधायकी प्रक्रिया, सार्वजनिक नीति र शासन प्रणालीका बारेमा व्यवहारिक ज्ञान आर्जन गर्ने अवसर पाउनेछन् ।
यसका साथै फेलोशिपको अवधिमा सहभागीहरूले विधायकी मस्यौदा लेखन, सार्वजनिक नीति निर्माण, नीतिगत अनुसन्धान, र शासन सम्बन्धी अन्य महत्वपूर्ण सीपसम्बन्धी तालिम प्राप्त गर्नेछन् । फेलोसिपका लागि पहिलो चरणमा ५० जना युवाहरुलाई छनौट गरी तीन दिनको तालिम सञ्चालन गरिने ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए ।
गौतमका अनुसार दोस्रो चरणको तालिमका लागि २५ जना छनोट हुनेछन् भने तेस्रो चरणका लागि १२ जना छनोट गरिनेछ । विभिन्न प्रतिष्पर्धी अभ्यासबाट अन्तिम चरणमा पुगेका उनीहरुले कर्णाली प्रदेशसभा सदस्यहरुसँग ६ महिनासम्म ज्ञान सहायकको रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछन् ।
अमेरिकी राजदुतावास नेपालको सहयोग र कर्णाली प्रदेश सभा सचिवालय तथा पुरक एसियासँगको सहकार्यमा ऋति फाउण्डेसनले उक्त फेलोशिप कार्यक्रम सञ्चालन गर्नेछ ।
फाउण्डेसनले यसअघि सञ्चालन गरेको पूर्व व्यवसायिक संसदीय सहयोग कार्यक्रममार्फत कर्णाली प्रदेशका १२ जना युवाले प्रदेशसभा सदस्यहरुसँग ज्ञान सहायकको रुपमा काम गरिसकेका छन् ।
उक्त फेलोशिपमा आवेदन दिनका लागि इच्छुक युवा कम्तीमा स्नातक तह अध्ययनरत, कर्णाली प्रदेशको स्थायी बासिन्दा हुनुपर्छ । फेलोशिपका लागि आवेदन दिन चाहनेले २०८१ कार्तिक १४ गतेसम्म आवेदन दिनुपर्नेछ । फेलोशिपले कर्णाली प्रदेशका युवाहरूलाई सार्वजनिक नीति र शासनमा सक्रिय भूमिका खेल्न सक्षम बनाउने उद्देश्य राखेको छ ।
आवेदन दिन याे
आवेदन दिने प्रक्रियासम्बन्धी थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिनेछ वा 083521564, 9858034425, 9864913555 मा सम्पर्क गर्न सकिनेछ।
प्रतिक्रिया