पोखरिया सुधार केन्द्रको उद्घाटन

पर्सा । जिल्लाको पोखरियालगायत ग्रामीण क्षेत्रहरूमा बढ्दै गइरहेको लागुऔषध दुव्र्यसनीका कारण कुलतमा फसेका युवायुवतीहरूलाई सही बाटोतर्फ उन्मुख गर्न पर्साको दोस्रो सदरमुकाम पोखरिया नगरपालिका–४ पोखरियामा पोखरिया सुधार केन्द्रको उद्घाटन शुक्रबार एक कार्यक्रमका बीच पोखरीया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै मेयर चौहानले लागुऔषधको कुलतमा फसेका युवाहरूको जीवन सुधार्नका लागि धेरै प्रयासमा यो सुधार केन्द्रको स्थापना गरिएको बताए । उनले आउने दिनमा लागुऔषध दुव्र्यसनी कुलतबाट मुक्त गराउनेसम्बन्धी जनचेतनामुलक कार्यक्रम चलाएर मुक्त गर्ने प्रतिबद्धतासमेत गरे । राइजिङ नेपाल संस्थाको सहयोगमा वीरगन्जमा सञ्चालन रहेको सुधार केन्द्रलाई नगरप्रमुख प्रधुमनप्रसाद चौहानको पहलमा पहिलोचोटी ग्रामीण भेगलाई समेटने गरी पोखरिया सुधार केन्द्र शुक्रबारदेखि सञ्चालनमा ल्याएको पोखरिया सुधार केन्द्रका संयोजक सुजित गिरीले बताए ।

लागुऔषधको कुलतमा फसेका युवायुवतीहरूलाई पहिचान गरी सुधारको सक्दो प्रयास गरिने संस्थाको मुख्य उद्देश्य रहेको राइजिङ नेपाल संस्थाको संस्थापक अध्यक्ष एवं पोखरिया सुधार केन्द्रका निर्देशक मन्टु गिरीले बताए । पोखरिया सुधार केन्द्र स्थापनागर्नका लागि पोखरिया नगरपालिकाका नगरप्रमुख चौहानले सराहनीय योगदान रहेको गिरीले बताए ।

राइजिङ पोखरिया सुधार केन्द्रको सञ्चालनपश्चात निकट भविष्यमा नगरपालिकाले सक्दो सहयोग गर्ने र पोखरिया नगरपालिकालगायत आसपासका ग्रामीण क्षेत्रलाई लागूऔषध मुक्त बनाउन नगरपालिकाले सक्दो सहहयोग गर्ने जनाएको छ ।

लागुऔषध दुव्र्यसनीमा फसेका युवायुवतीहरूलाई कम्तीमा ९ महिनासम्म केन्द्रमा राखेर उपचार गरिने पोखरिया सुधार केन्द्रले जनाएको छ । पोखरिया सुधार केन्द्रको उद्घाटन कार्यक्रममा पोखरिया नगरपालिका–४ का वडा अध्यक्ष लक्ष्मण साह कानु, वडा अध्यक्ष किसोरी साह, कार्यपालिका सदस्य रामबचन महतो, फरमान आलम, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव, संतोष गिरी, नगरपालिकाका कर्मचारी, सशस्त्र प्रहरीका डिएसपी, ईलाका प्रहरीका बरिष्ठ सई, पत्रकार र स्थानीयहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया