काठमाडौँ । घटस्थापनाबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ बिहीबारबाट सिनेमा घरबाट निकालिने भएको छ । हलहरूको सो बाँडफाँटमा असन्तुष्टि जनाउँदै फिल्मका निर्माता निश्चल बस्नेतले फिल्म हलबाट उतार्ने निर्णय लिएका हुन् । हलको विकल्पमा उनले फिल्मलाई ओटिटी प्ल्याटफम ‘एमएसएम भिडियो’ एपमा सार्वजनिक गर्ने जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अक्टोबर १७ बाट हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौँ ।’ फिल्म ओटिटीमा चाँडै सार्वजनिक हुने बताए । पनि उनले मिति भने उल्लेख गरेका छैनन् । ओटिटीमा अमेरिका, जापान, क्यानडा र सिंगापुरका दर्शकले भने हेर्न नपाउने उनले जानकारी दिएका छन् ।
आफ्नो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रियाका साथ उच्च अकुपेन्सी पाइरहँदा हिन्दी फिल्मलाई बढी सो दिइएको आरोपसमेत लगाएका छन् । सोही कारण आफूले हलको विकल्प खोजेको उनको दाबी छ । यस फिल्ममा निश्चल र नायिका स्वस्तिमा खड्का केन्द्रीय भूमिकामा छन् । उनीहरू दुवै फिल्मको निर्मातासमेत हुन् । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन–निर्देशन सजन काफ्ले र आकाश बरालले गरेका हुन् ।
प्रतिक्रिया