एक नव अध्ययनको प्रारम्भ : ‘मिथिला मिथक’

जनकपुरधाम । पत्रकारितामा धर्मेन्द्र झाका नामले चिनिने धर्मेन्द्र साहित्य र अनुसन्धानका क्षेत्रमा पनि जमेका परिचित नाम हुन । मूलत : मैथिली र नेपाली भाषामा कलम चलाउने उनी साहित्यमा धर्मेन्द्र विह्वलका नामले परिचित छन् । साहित्यमा यी दुबै भाषामा उनको दर्जनबढी पुस्तकाकार कृति प्रकाशित छन् ।

पत्रकारका रूपमा धर्मेन्द्र विभिन्न सञ्चारमाध्यममा आबद्ध भई सम्पादकीय नेतृत्व समालिसकेका छन् भने नेपाल पत्रकार महासंघ (२०६५–६८) को केन्द्रीय अध्यक्षको भूमिका निर्वाहको पनि अनुभव बटुलिसकेका व्यक्तित्व हुन् । पत्रकारिताका प्रशिक्षकसमेत रहेका झाका पत्रकारितासम्बन्धी अनेकौँ पुस्तक प्रकाशित छन् ।


पत्रकार झा जत्तिकै महत्वपूर्ण व्यक्तित्व हुन साहित्यकार विह्वल । तै पनि नेपालको नेपाली साहित्य क्षेत्रले उनका बारेमा धेरै जाने जस्तो गर्दैन । सायद विह्वलले धेरैजसो साहित्य रचना मैथिलीमा गर्ने भएर पनि यसो भएको होला ।


केही महिनाअघि ‘शहरक भीडमे एसगर हम’ नामक प्रयोगवादी मैथिली कविता संग्रह पाठकमाझ पस्केका विह्वलको मैथिली भाषामा हालै एक अनुसन्धानात्मक कृति ‘मिथिला मिथक’ प्रकाशित भएको छ । साहित्यको सबैजसो विधामा कलम चलाउने उनी मैथिली साहित्यमा मूलतः कवि र नियात्राकारका रूपमा स्थापित छन । तर यसपटक भने विह्वल फरक रूप र शैलीमा प्रस्तुत भएका छन् ।


उनको यो पछिल्लो कृति मिथिला मिथक अनुसन्धामा आधारित छ । यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली मिथक कोषका रूपमा नेपालका केही भाषामा प्रचलित मिथकको संकलन प्रकाशित गरेको सन्दर्भलाई अपवाद माने हो भने नेपाल र यहाँ बोलिने भाषामा मिथकबारे खासै काम हुन सकेको छैन । यस्तोमा सायद यो पुस्तक यस विषयमा नेपालमै पहिलो हुन सक्छ ।
मुख्यतया नेपालको मैथिलीभाषी समाजमा किम्बदन्ती र विश्वासका रूपमा जीवित मान्यताहरू, संकलन गरी यस पुस्तकमार्फत प्रस्तुत गरिएका छन् ।


मिथिला र मिथक, मिथिला, सीतायण र महाभारत, मिथिला विभूति, चाडपर्व, मन्दिर, देव–देवी र पोखरी तथा जनश्रुति तथा जनविश्वास गरी ६ अध्यायमा विभाजित पुस्तकमा १११ वटा मिथक संकलित छन् । लेखकका अनुसार यो अध्ययन प्रारम्भ मात्र हो अन्त्य होइन । उनी भन्छन, ‘मिथिला क्षेत्रमा विश्वासका रूपमा यस्ता थुप्रै सन्दर्भ छन् जसको खोजी र अध्ययन हुनु जरूरी छ ।’


पुस्तकका भूमिका लेखक मैथिली साहित्यका अनुसन्धानकर्ता लेखक विद्वान डा.रमानन्द झा रमणका अनुसार यस्ता सन्दर्भहरूको अध्ययनले सम्बद्ध समाजको इतिहास, सभ्यता र परम्परा बुझ्न सघाउँछ । विद्वान रमणले मैथिली भाषामा संकलन गरिएका यस्ता उदाहरण भारतमा पनि उपलब्ध नभएको बताएका छन् ।

प्रतिक्रिया