खेलाडी प्रोत्साहन तथा पुरस्कारका लागि २३ लाख निकासा दिने बागमती सरकारको निर्णय

हेटौँडा । बागमती प्रदेश सरकारल खेलाडी प्रोत्साहन तथा पुरस्कार वितरणअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयलाई २३ लाख रुपैयाँ रकम निकासा दिने निर्णय गरेको छ । बुधबार बसेको बागमती प्रदेश मन्त्रीपरिषदेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत् सो रकम निकासा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेसा गोवद्र्धन र १९औँ एसियाली खेलकुद (एसियाड)मा कराँतेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउने एरिका श्रेष्ठलाई प्रदान गरेको पुरस्कार वापतको रकम निकासा गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रवक्ता लामिछानेले असोज ३ गते संविधान दिवसका अवसरमा खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गरे पनि वजेट अभावका कारण घोषणा गरिएको नगद पुरस्कार दिन नसकेकाले अहिले निकासा गरिएको बताए । नगद पुरस्कार स्वरुप २० लाख रुपैयाँ खर्च गरेर बाँकी रहेको ३ लाख रुपैयाँ प्रदेश सरकारको खेलाडी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा रहने उनको भनाई छ ।

प्रदेश सरकारले यसअघि नै पेरिस पारा ओलम्पिकमा नेपाललाई काश्य पदक दिलाएकी पलेशालाई १० लाख रुपैयाँ, पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।

यस्तै १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिकालाई ५ लाख, उनको प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया