घुन्सा हेलिकप्टर दुर्घटनाको सम्झनामा कलाकारबाट दीप प्रज्वलन

काठमाडौँ । नेपालका स्थापित कलाहरू आवद्ध रहेको जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले विगतका वर्षहरू झैँ यो वर्ष पनि घुन्सा हेलिकोप्टर दुर्घटनाको सम्झनामा मौनधारण र दीप प्रज्वलन गरिएको छ ।

संस्थाका अध्यक्ष पुष्पराज पाण्डेको सभापतित्वमा सम्पन्न माल्यार्पण कार्यक्रममा वरिष्ठ समाजसेवी प्रेमसिंह धामी, सनतकुमार गिरी, शिव खत्री, लक्ष्मण तामाङ, यसुधा पौडेल, शान्ति मगर लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौँको रामकोट स्थित दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी गरी २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ ।

कार्यक्रममा दुर्घटनामा परी ज्यान गुमाएकाहरूको फोटोमा माल्यार्पण, दीप प्रज्वलन र मौनधारण गरी कार्यक्रम काठमाडौँमा सम्पन्न गरेको हो । ताप्लेजुङको घुन्सास्थित हेलिकोप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । सो दुर्घटनामा परी ज्यान गुमाएकाहरूको योगदानको स्मरण गर्दै ७ असोजलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ ।

७ असोज २०६३ मा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा.हर्क गुरुङ, संरक्षणविद् डा.तीर्थमान मास्केसहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएका थिए । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया