काठमाडौँ । गायिका सन्जु न्यौपाने गायनमा लोकप्रियताको शिखर चुम्दै गरेकी गायिका हुन् । लोकदोहोरी क्षेत्रमा आाफ्नो पहिचान बनाउँदै गरेकी गायिका सन्जुले गायनमा नै एक दशक पार गरिसकेकी छन् । स्याङ्जाको गल्याङ नगरपालिका निबुवाखर्कमा जन्मिएकी हुन् । लोकसंगीतको उर्वरभूमि स्याङ्जाबाट आएका सयौँ कलाकारहरू वर्षौंदेखि चर्चाको शिखरमा छन् । तिनै कलाकारहरूको उर्वरभूमिमा जन्मिएकी उनले पनि लोकदोहोरी क्षेत्रलाई आत्मसात गरिन् र लोकप्रियता चुम्दै गरेकी छन् ।
गायिका न्योपानेले आफ्नो बाल्यकाल गीतसंगीतमै बिताएको सुनाइन् । गाउँको परिवेश रोधीघरमा घन्किएको मादलसँग बिताएको बाल्यकाल । आमाले गाएको लोरीसँगै खेलेको बालापन । गोठालो जाँदाको साथीसँगीसँग गाएको लोकभाका । यी सबै गायिका सन्जु न्यौपानेको सांगीतिक पाठशाला बनेको थियो । स्कुले जीवनमा रहँदा पनि आफूले गीत गाउने न्यौपानेले बताइन् । विभिन्न सांगीतिक कार्यक्रमहरूमा पनि भाग लिने गर्थिन् । त्यही समय सांगीतिक क्षेत्रको महत्वपूर्ण जग ठानेको पनि उनको भनाइ छ । जहाँबाट सन्जु संगीतमय जीवन लिएर अध्ययन गर्दै अगाडि बढिन् मनभरि सदैव संगीत गुन्जिरहेको थियो ।
एसएलसीसम्मको अध्ययनपश्चात् उनी काठमाडौँलाई कर्मथलो बनाउने सोच लिएर अगाडि बढिन् । उनको मनमा गायिका बन्ने रहर थियो तर परिवारको लागि सरकारी जागिर खानुपर्ने बाध्यता । उनले सम्भव देखेकी थिइनन् । सरकारी जागिर रोजिन् । करिब ३ वर्ष सरकारी जागिरतिर समय व्यतित गरेपछि नेपाली सेनाको जागिर छाडेर आफू काठमाडौँतिर होमिएको गायिका न्यौपानेले सुनाइन् । जहाँ रहरै रहर बोकेर आएका तमाम मानिसहरूको भिड हुने गर्छ । ती बीचमा कतिले आफ्ना सपना पूरा गर्छन् त कतिले अधुरो राखेर हिँडेका छन् । गायिका सन्जुलाई भने सपना पूरा गर्ने अठोट थियो । त्यसपछि उनी गायन क्षेत्रमा लागिन् । उनलाई यो क्षेत्रमा आउने क्रममा साथ दिने भने उनकै दिदी जमुना गैरे थिइन् ।
लक्ष्य प्राप्तिको क्षेत्र एउटै थियो गीत गाउने । संघर्षका दिनहरू सुरु हुन थालेका थिए । परिवारको मन जागिर छोडेको कारण अलिक दुःखी थियो । तर आफू एक दिन परिवारलाई खुसी दिलाउने आशा बोकेर संगीतको शिक्षा लिने र गीत रेकर्डिङको कार्य गर्नेतिर अगाडि बढेको न्यौपानेले बताइन् । गायक नविन पाण्डेसँग मिलेर गीत रेकर्ड गराइन् ‘हातको औँठी’ । जुन उनको जीवनको पहिलो स्टुडियोको अनुभव थियो । आफ्नै शब्द सिर्जना र नविन पाण्डेको लय रहेको गीत ‘हातको औँठी’मा गायिका न्यौपाने र गायक पाण्डेको स्वर रहेको थियो । २०७१ सालमा बजारमा आएको उक्त गीतसँगै आफ्नो औपचारिक सांगीतिक यात्रा सुरु भएको गायिका न्यौपाने बताउँछिन् ।
गीत रेकर्डका क्रममा धेरै साथीहरू भेटिँदै गए । गीतसंगीतका कुराकानी हुँदै गए । यो क्रममा भेटिएका गायक बसन्त थापा, गायक विमल परियार र गायक प्रकाश सपुतसँगको सहकार्यमा पञ्चेबाजा गीत ‘उमेर पुगेछ’ बजारमा ल्याइन् । जुन गीतमा गायिका सन्जु न्यौपाने र विमल परियारको स्वर रहेको थियो । प्रकाश सपुतको शब्द र बसन्त थापाको लय रहेको छ । त्यो गीतले बजारमा गायिका न्यौपानेलाई चिनाउन सफल भयो । यो क्रममा उनले दोमन, मोटर गयो घान्द्रुक गाउँ पाखैमा, छोम्रोङ गाउँकी नानी, मजा अर्कै हुन्छ, खान्छ यो मुटु कटक्कै, डालीमा फूल छैन, गाउँमा दसैँ आइसक्यो, दायाँबायाँ, जस्ता दर्जनौँ गीत बजारमा ल्याइन् । यी गीतहरूले उनको कर्मलाई एउटा बाटोमा डो¥याउँदै गएको थियो । गायनको यात्रामा उतारचढाव जारी थियो । आम्दानीका हिसाबले ठिकै भइरहेको थियो । गीतहरू बजारमा आएपछि स्टेज कार्यक्रमहरूबाट पनि उनलाई राम्रै फाइदा भइरहेको थियो । सपना पूरा हुने क्रम चलिरहेको थियो ।
तिम्रो माया छ मलाई कति
मेरो तिम्लाई रैनछ एक रति
मलाई पनि लैजाउ न लाहुर
सररर गोरखपुर रेलैमा
‘लाहुर’ गीत बजारमा आयो । उनको गायनको सिलसिलामा लोकप्रियताको शिखर चुम्ने गीत बन्यो ‘लाहुर’ । गायक खेम सेन्चुरीको शब्द र संगीत रहेको यो गीतमा गायिका सन्जु न्यौपाने र गायक खेम सेन्चुरीको आवाजले सदाबहार बनाइदियो ‘लाहुर’ लाई । लोकदोहोरीको पारखीहरूबीच यो गीत नसुन्ने कमै भेटिएलान् । गायक खेम सेन्चुरीलाई पनि यो गीत टर्निङ प्वाइन्ट बन्यो । गायिका न्यौपानेका लागि पनि कोसेढुंगा साबित भयो । मायाप्रेमको गहिराइमा सिर्जना भएको यो गीत ‘लाहुर’ले लाहुर जाने प्रेमीहरूको कथालाई बुलन्द रूपमा प्रस्तुत गरेको छ ।
‘लाहुर’ गीत बजारमा आएपछि गायिका सन्जु न्यौपानेको लोकप्रियताको शिखर चुलिएको थियो । देश तथा विदेशमा हुने कार्यक्रममा उनलाई भ्याइनभ्याइ हुन थाल्यो । ‘लाहुर’ लाई गायिका न्यौपाने आफैँले लगानी गरेको सुनाइन् । गायक खेम सेन्चुरीलाई अडियो भिडियोको सुम्पेकी थिइन् । सन् २०१९ मा बजारमा आएको यो गीतले ६ मिलियन भ्युजभन्दा बढी पाइसकेको न्यौपाने बताउँछिन् । उनका अनुसार कमाइका हिसाबले पनि राम्रो आम्दानी गरेको गीत थियो ‘लाहुर’ । बजारमा ‘लाहुर’ गीत गायिका न्यौपाने र गायक खेम सेन्चुरीको परिचय बोकेको गीत बन्यो । यही गीतपछि उनी कोरिया, युएई र कतारको कार्यक्रमहरू पनि हात पारिन् ।
‘लाहुर’को चर्चा भइरहेको बेलामा अर्को गीत ‘चाँदी कहाँ होला’ बजारमा आयो । तत्कालीन समयमा लाइभ दोहोरीमा लोकप्रिय बनिरहेका गायक रविन लामिछाने र उनको स्वरमा बजारमा आएको यो गीतले पनि शिखरमा पु¥यायो । गीतकार नवराज पन्तको शब्द एवं गायक प्रकाश पराजुलीको संगीत रहेको यो गीतको चर्चा पनि राम्रै भइरहेको थियो । त्यही बेला विश्वमा आएको कोरोना भाइरसको महामारीले सबैलाई खुम्च्याइदियो । कोरोना महामारीको त्रासमा गीत प¥यो, जसले गर्दा गायिका न्यौपानेका लागि देश विदेशका मेला महोत्सवको भइसकेको एग्रिमेन्टहरू पनि त्यत्तिकै थन्किए । कोरोनाको महामारी सकिएपछि पुनः आफूमा जोश र जाँगर अगाडि बढिरहको गायिका न्यौपानेको भनाइ छ । गीतसंगीतको निरन्तरतामा उनले ‘धुरुधुरु’, ‘खरानी’, ‘दर खान’, ‘लाहुरेले’, ‘लामो कपाल’, ‘टिकिया टलल’, ‘आएन परदेशी’जस्ता गीत आए ।
गायनमा लागेको एक दशक पार गरिसकेकी गायिका सन्जुले यो यात्रामा जति गीत बजारमा ल्याइन् मौलिक शब्द र संगीत भएको जिकिर गर्छिन् । आफूलाई मौलिक र कल्चरल गीतबाहेक मन नपर्ने बताउने गायिका न्यौपानेले यसपालि पनि मौलिक तिज गीत ‘आएन परदेशी’ बजारमा ल्याएकी थिइन् । ‘आएन परदेशी’ गीतलाई गीतकार सुमन बैरागीले लेखेका हुन् भने उनलै संगीतसमेत सिर्जना गरेका छन् । पछिल्लो समय मुलुकको अवस्था हेर्ने हो भने गाउँका युवा विदेश पलायन हुने र बुढा बाआमा मात्र गाउँमा दैलो कुर्ने अवस्थालाई गीतमार्फत प्रस्तुत गरिएको छ ।
त्यस्तै पर्यटकीय जिल्ला मुस्ताङको चिनारी गीतका रूपमा ‘जोमसोम बजार’ गीत भर्खरै सार्वजनिक भएको छ । गायिका सञ्जु न्यौपाने र गायक रामजी खाँणको स्वर रहेको यो गीत मुस्ताङ जिल्लाका सबै पर्यटकीयस्थललाई वर्णन गरिएको सन्जुले बताइन् । गीतकार सुमन बैरागीको शब्द तथा संगीत रहेको यस गीतलाई बादल थकालीले निर्माण गरेका हुन् ।
गायिका न्यौपानेले करिब १ दर्जन अवार्ड र सम्मान पाइसकेकी छन् । लाहुर गीतबाट तेस्रो ओएस नेपाल म्युजिक अवार्ड, औद्योगिक शान्ति नेपाल म्युजिक अवार्डमा सर्वोत्कृष्ट गायिका लोकदोहोरीको अवार्ड पाउन आफू उनको भनाइ छ । त्यस्तै लामो कपाल गीतबाट ११औँ म्युजिक खबर म्युजिक अवार्ड र सातौँ निम अवार्डमा सर्वोत्कृष्ट गायिका लोकदोहोरीको अवार्ड पाउन सन्जु सफल भएकी छन् । त्यसैगरी ११औँ छायाछवी तिज म्युजिक अवार्डमा ‘छायाछवी नारी सम्मान’ पाउन सफल भएकी छन् । त्यस्तै म्युजिक खबर गायन सम्मानसमेत हात पारेकी उनले नेसनल सिंगिङ कम्पिटिसन, चौथो साधना राष्ट्रिय म्युजिक अवार्ड लगायतमा निर्णायकको भूमिकासमेत निर्वाह गरिसकेकी छन् । उनले गीत गाएर नै नाम र दाम कमाउने विश्वास लिन्छिन् । गीत गाएर नै बजारमा स्टारडम बनाउने लक्ष्य उनको छ । गायनबिना जिन्दगी नै अधुरो भएजस्तो लाग्ने गायिका सन्जु बताउँछिन् ।
प्रतिक्रिया