ग्लास्गो । स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा सानदार सुरुआत गरेको छ । सेल्टिकले पहिलो खेलमा स्लोभान ब्राटिस्लाभालाई ५–१ ले हरायो । सेल्टिक पार्कमा बुधबार राति भएको खेलमा आर्ने एंगलको कर्नरमा लियाम स्केलले १७औँ मिनेटमा गोल गर्दै रंगशालामा उपस्थित घरेलु दर्शकलाई उत्साहित बनाएका थिए ।
दोस्रो हाफमा निकोलास कनको क्रसमा क्युरो फुरोहासीले अर्को गोल गरे । एंगलले पेनाल्टीमा गोल गरे भने केभिन विमरले गोल गर्दै स्लोभानलाई खेलमा फर्काउने प्रयास गरेका थिए । डाइजन मेइडा र जेम्स फरेस्टले सेल्टिकका लागि थप गोल गरे । यो सफलताले सेल्टिक यस सिजनको दाबेदारको रूपमा देखिएको छ । यस सिजनमा इंग्ल्यान्डका ४ तथा सेल्टिकसमेत ५ बेलायती क्लबको सहभागिता छ ।
अर्को बेलायती क्लब म्यानचेस्टर सिटीका लागि भने बुधबार सुखद् हुन सकेन । इत्तेहाद रंगशालामा भएको खेलमा सिटी र इन्टरमिलानबीच गोलरहित बराबरी भएको छ ।
सन् २०२३ को च्याम्पियन्स लिग फाइनलकै पुनरावृत्ति झैँ देखिएको खेलमा इटालियन शक्ति यसपटक अझ बढी संगठित देखिएको थियो । दोस्रो हाफमा भने केही दबाब सहेको थियो ।
प्रतियोगिातमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनले विजयी सुरुआत गरेको छ । बुधबारको अर्को खेलमा पिएसजीले गिरोनालाई १–० ले हराएको हो । यस जितमा पिएसजीको मिहिनेतभन्दा पनि बढी विपक्षी गोलरक्षक पाउलो गाजानीगाको भंयकर गल्ती मुख्य कारण थियो । रक्षक नुनो मेन्डेजले दिएको बललाई नियन्त्रणमा लिन खोज्दा उनले बललाई आफ्नै पोस्टमा छिराएका थिए । खेलमा पिएसजीले लगातार आक्रमण नगरेको होइन तथापि गोल गर्न असमर्थ रह्यो । स्टार खेलाडी केलिएन एम्बाप्पेको अनुपस्थितिमा पिएसजीको प्रदर्शनबारे धेरै चासो रहेको थियो । फ्रान्सेली स्टार एम्बाप्पे यस सिजन पिउसजीबाट रियल म्याड्रिड पुगेका हुन् ।
जेमी गिटेन्सले २ गोल गरेपछि बोरुसिया डर्टमन्डले क्लब ब्रगलाई ३–० ले हराएको छ । गत वर्षको उपविजेता डटर्मन्ड ७६औँ मिनेटमा बेलायती यु–२१ टोलीका फरवार्ड गिटेन्सको गोलमा अग्रता लिन सफल भएको थियो । उनैले ८६औँ मिनेटका अर्को आकर्षक गोल गर्दै डर्टमन्डलाई दोस्रो गोलको अग्रता दिलाए ।
इन्जुरी समयमा ब्रान्डन मेकेलेले सेराउ ग्युरासीलाई फल गरेपछि पाएको पेनाल्टीलाई पनि डर्टमन्डले सफल उपयोग गरेको थियो । ग्युरासीको गोलसहित डर्टमन्ड पहिलो खेलमा प्रभावकारी जित हात पार्न सफल भएको छ । खेलको दौरान बेल्जियन टोलीले थुप्रै आक्रमण गरे पनि गोल गर्न असमर्थ भएको थियो । यस प्रतियोगितामा जर्मन क्लबहरूको उपस्थिति बलियो देखिएको छन् । १ दिनअघि मात्र वायरन म्युनिखले सानदार प्रदर्शन गरेको थियो ।
१९ वर्षपछि च्याम्पियन्स लिगमा बलियो उपस्थिति देखाउने क्रममा चेक गणतन्त्रको स्पार्टा प्रागले अस्ट्रियाको रेडबल स्राजबर्गलाई ३–० ले हरायो । सन् २००५ पछि प्राग पहिलोपटक प्रतियोगितामा फर्किएको हो । यो कम ब्याकलाई उत्कृष्ट बनाउने क्रममा प्रागले १०७ सेकेन्डमा नै अग्रता लिएको थियो । कान कइरीननेले रि बाउन्डमा पाएको अवसरलाई सदुपयोग गरे । भिक्टर ओलाट्न्जीले मध्यान्तर अघि दोस्रो गोल गरे । काजीम लाकीले ५८औँ मिनेटमा अर्को गोल गरे ।
पहिलोपटक च्याम्पियन्स लिग खेलिरहेको इटालीको बोलोग्नाले पनि युक्रेनको च्याम्पियन साख्तर डोन्सटकसँग गोलरहित बराबरी गरेको छ । बोलोग्नाले यसअघि सन् १९६४–६५ मा युरोपियन कपको पहिलो चरणको खेल खेलेको थियो ।
भ्रमणकारी टोली साख्तरले चौथो मिनेटमा पेनाल्टी अवसर पाएको थियो । हिरोइ सुडाकोभको प्रहार पोलिस गोलरक्षक लुकास्ज स्पोरस्कीले बचाए । बोलोग्नासहित ५ इटालियन क्लब प्रतियोगितामा सहभागी छन् ।
प्रतिक्रिया