मुगु । मुगुको एक मात्र हवाई यातायातको माध्यम रारा विमानस्थल ताल्चाले सेवा सुविधासँगै विपत्ति पनि निम्त्याएको छ । रारा विमानस्थल ताल्चा पिच भएसँगै रारा विमानस्थल ताल्चाले यति बेला मानवीय तथा प्राकृतिक विपत्ति निम्त्याएको हो । रारा विमानस्थल ताल्चा पिच भएसँगै पानीको नहर बुका खोला, लेत्याखोला बुद्या खोलामा मिसाइएकाले रारा विमानस्थल ताल्चामुनिका छायानाथ रारा नगरपालिका–४ का दर्जनाँै बस्ती पहिरोको उच्च जोखिममा छन् ।
२०७२ सालमा ५७० मिटर लम्बाइ र २० मिटर चौडाइ रारा विमानस्थल पिच भएको र त्यहाँबाट बग्ने नहरहरू बुका खोला, लेत्याखोला बुद्या खोलामा मिसाइएकाले विमानस्थलबाट बग्ने पानीले विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । यी खोलामा आउने बाढीपहिरोले सयाँै बिघा जमिन कटान गर्नुका साथै धेरैको घर बगाएको छ ।
पानी नै नआउने खोलामा हिजोआज पानी खलखल बगेको देखिन्छ । खोलामा पानी मात्रै होइन अहिलेको अवस्थामा बाढी नै आउने पानीको बहाव हुन्छ । बाढीसँगै आउने पहिरोको त्रासका कारण बाढीको डरले खोला आसपासका स्थानीय रातभर जाग्रम बस्न बाध्य छन् ।
विमानस्थलबाट बग्ने पानीले खोला आसपासमा प्रतिवर्ष यसरी नै खेतयोग्य जमिन कटान गर्दै जाने हो भने विमानस्थलको भविष्य पनि संकटमा पर्ने देखिन्छ । अहिले पनि विमानस्थलको उत्तरतिर जमिन भासिएको छ । विमानस्थलमुनि पहिरो जाँदै गर्ने हो भने विमानस्थल पनि संकटमा पर्ने र खोलाले बर्सेनि कटान गर्दै जाँदा यसको शिरमा रहेको राराताल पनि संकटमा पर्ने स्थानीयको भनाइ छ ।
रारा विमानस्थलबाट निस्किएको मुख्य पानी बग्ने बुकाखोला किनाराका बस्तीहरू बस्ती पाटपटेनी, मुस्याचौर, माथिल्लो कालपाल्त, तल्लो कालापाल्त, कोष, दोबाट, कालाजुर लेत्याखोला किनारका बस्तीहरू, ढुमालेख, डाँडाजिउला, टहधारा र बुद्याखोला किनारका बस्तीहरू गिमखोला जुक्याना गाउँ खत्याडीकोट, गमगाढाको पावर हाउस लगायतका क्षेत्रहरू पहिरोको उच्च जोखिममा रहेका छन् ।
विमानस्थल पिच भएको र त्यहाँबाट बग्ने नहर बुकाखोलमा मिसाइएका छन् भने अन्य लेत्याखोला, बुद्याखोलामा त्यसको विभिन्न क्षेत्रबाट बग्ने पानीका कारण विमानस्थलमुनिका दर्जनाँै बस्ती पहिरोको जोखिमा परेका छन् भने गमगढी बालै राताचौर हुर्दै पिना जोड्ने सडक पनि जोखिममा छ । यो सडक हुँदै छायानाथ रारा नगरपालिका–४, ६, ७ र ८ का विद्यार्थी, स्थानीय सदरमुकाम गमगढी आउन यो सडक हुँदै आउँछन् । जोखिम मोलेर सदरमुकाम जानुपरेको स्थानीयबासीको भनाइ छ ।
लगातार आएको अविरल वर्षाका कारण आएको बाढीले त्यहाँका विभिन्न क्षेत्रहरूमा जमिन भासिँदा स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपरेको छायानाथ रारा नगरपालिका–४ का स्थानीय जंखबहादुर भामले बताए । उनले भने, ‘वर्षासँगै आउने बाढीले ताल्चा विमानस्थल तलका बस्तीमा ९ वर्षदेखि दिनप्रतिदिन यस्तो समस्या थपिँदै गएको छ । तर, सरोकारवाला निकायले वास्था नगरेका कारण समस्या थपिँदै गएको छ ।’
विमानस्थलबाट झरेको पानीले गर्दा बुका खोलाले सयौँ बिघा जमिन पनि कटान गर्नुका साथै खेतीयोग्य जमिन बालीनाली बगाएको छ । खोलाको आसपासका बस्ती जोखिममा परेका भए पनि यसप्रति कसैले ध्यान नदिएकाले समस्या बर्सेनि समस्या बल्झिँदै गएको छायानाथ रारा नगरपालिका–४ का वडा अध्यक्ष लक्ष्मीप्रसाद भामले बताए ।
भामले भने, ‘यसरी खोलाले बर्सेनी खेतीयोग्य जमिन कटान गर्दै लाने हो यहाँका दर्जनाँै बस्ती सार्नुको विकल्प छैन ।’ ‘लगातार आएको अविरल वर्षासँगै खोलामा आएको बाढीकै कारण सो क्षेत्रका स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपरेको गुनासा, ताल्चा विमानस्थलले निम्त्याएको विपत्तीका बारेमा समस्या समाधान गर्न सम्बन्धित सरोकारवाला निकायलाई मंगलबार वडाको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका छौँ’, अध्यक्ष भामले भने ।
मानवीय तथा प्राकृतिक विपत्ती ठुलो छ । स्थानीय सरकारले समस्या समधान गर्न नसक्ने देखिएकाले संघीय सरकार प्रदेश सरकारको आवश्यकता अपरिहार्य देखिएकाले समस्या समधानका लागि सांस्कतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सुर्खेतलाई ध्यानाकर्षण गराउँदै रारा नागरिक उड्यन कार्यालय ताल्चा र जिल्ला प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण गराइएको अध्यक्ष भामले बताए ।
मुगु
प्रतिक्रिया