इन्जिनियर हरूको संगठन इन्जिनियर को मात्रै वा कुनै पार्टीविशेषको मात्रै हो भन्ने पहिचान नबनेको भए । र, यो त देशको लागि चाहिने संगठन हो भन्ने पहिचान बन्न सकेको भए इन्जिनियर को संगठन सम्बन्धित विषयका छलफल, बहस, नीति तथा कानुन तर्जुमा, छानविन समिति र आयोगहरूमा वाञ्छनीय सरोकारवाला बन्ने थियो होला ।
मानिस सामाजिक प्राणी हो र निश्चित पेसाका व्यक्तिहरूले समाज गठन गर्नु वा संगठित हुनुका फाइदा निश्चय नै एक होइन, अनेक हुन्छन् । संगठन ठुलो शक्ति हो जसमा यसका एक–एक अंगको शक्तिको समष्टिभन्दा ज्यादा शक्ति हुन्छ । स्थापनाको सन्दर्भ अनुमान गर्दा यो संस्था इन्जिनियर हरूका सेवा, सुविधा र हकहितको संरक्षण गर्नु यो संस्था स्थापनाको एक प्रमुख उद्देश्य हो, त्यसमा शंका छैन ।
इन्जिनियरको हकहितका लागि यो संस्थाले विगतमा धेरै प्रयासहरू गरेको छ । कैयौँ अग्रज एवं सहकर्मी इन्जिनियरहरूको सामाजिक योगदान पाएर यो संस्थाले ठुलो गुन लगाएको छ । धेरै जनाको उच्च श्रम, समय, लगाव र पसिना खर्च भएको छ । इन्जिनियरहरूको आपतविपद, स्वास्थ्य समस्या आदिमा भाइचाराको हात फैलाएर उच्चकोटीको मानवीयता जीवन्त राखेको छ । ती सबै योगदानका लागि हालसम्म नेतृत्व गर्नु हुने सबैमा उच्च सम्मान छ ।
तर, इन्जिनियरहरू संगठित भएको ६ दशक नाघिसक्दा इन्जिनियरको संगठन इन्जिनियरका लागि मात्रै सीमित भएको र यो संगठन देशको हितका लागि पनि हो भन्ने सोच स्थापित नभएको पाइन्छ । इन्जिनियर हरूको समाजमा जुन अन्तरनिहित शक्ति, पेसागत विशिष्ट ज्ञान, अनुभव र दूरदृष्टि विद्यमान रहन्छ त्यसको संगठित हिसाबले परिचालन वा उपयोग नभएको मात्र होइन, त्यस्तो विशिष्टता तथा सामथ्र्य हामीमाझ छ भन्ने बोधसमेत नभएको प्रतीत हुन्छ । केही सन्दर्भहरू हेरौँ ।
सन्दर्भ १ : एमसिसीको बहसले देशलाई ज्वरो आएको बेला थियो । एउटा सर्वसाधारणले यो विषय के हो भन्ने बहस यति धेरै सुन्यो कि हिजो यो हो कि जस्तो लाग्ने विषय भोलि ए त्यस्तो पो हो रहेछ क्यारे भन्ने अलमल भइरह्यो । धेरै मान्छेहरू विज्ञ बनेर बोलिरहे, लेखिरहे तर अहँ विकास निर्माणको क्षेत्रसँग सम्भवतः सबैभन्दा नजिकबाट जोडिएको र विकास निर्माणको आयामलाई सबैभन्दा वस्तुगत हिसाबले बुझ्न सकेको पेसाकर्मीहरूको संगठनले यो विषय यसो–यसो हो भनेर आमजनतालाई सुसूचित गर्नुपर्छ भन्ने बोध गरेन । कैयौँ जनताहरूले इन्जिनियरहरूको संगठनको आधिकारिक दृष्टिकोण सुन्न पाए हुँदो हो भन्ने आश गरे । अलमलको जुन स्थिति थियो, इन्जिनियरहरूको संगठनले एकखालको स्पष्टता दिनु देशप्रतिको वाञ्छनीय उत्तरदायित्व हुनुपर्ने हो जस्तो लागिरह्यो ।
सन्दर्भ २ : लामो समयदेखि विद्युत् महसुल विवाद देशको प्रमुख विषय बनेको छ । स्वयं इन्जिनियरले नेतृत्व गरेको निकाय विवादको चुरोमा जोडिएको छ । यस्तो लाग्छ कि इन्जिनियरहरूबाहेक अरू सबैले बरू सामुहिक छलफल बहस गरिरहे तर इन्जिनियरहरूको राय के हो भन्नेमा सामुहिक खालको कुनै राय समाजले पाएन । लाल आयोग बन्यो, पूर्वन्यायाधीशको संयोजकत्वमा । सायद, यस्तो विषयमा एउटा इन्जिनियरले केही बढी नै बुझ्न सक्थ्यो कि ? आयोगमा इन्जिनियरिङ विषयको विज्ञ भएको भए जाती हुँदो हो कि नाइँ ? पछि पनि समुदायको रूपमा इन्जिनियरहरूको धारणा खोई ? अरूकै धारणा सुनेर इन्जिनियरले धारणा बनाउनुपर्ने ? इन्जिनियरहरूको समाजबाट देश र समाजले यस्ता विषयमा केही पाउनुपर्ने होइन ?
सन्दर्भ ३ : जलस्रोत नेपालको विकासका लागि महत्वपूर्ण सम्पदा हो । ऊर्जा, सिँचाइ तथा समग्र विकास र समृद्धिका अतिरिक्त राष्ट्रियता र सार्वभौमसत्तासम्म जोडिएको छ नेपालको जलस्रोत । तमाम इन्जिनियरहरूले आफू इन्जिनियर नहुँदैदेखि कर्णाली चिसापानी लगायतका विषयहरू सुनियो । यसै परियोजनाको नाममा छात्रवृत्ति पाई पढेका इन्जिनियरहरू सेवानिवृत्त भइसक्नुभयो । व्यक्तिगत तवरमा धेरै इन्जिनियरहरू जलस्रोत क्षेत्रमा आवद्ध छौँ, सरकारी र निजी दुवैतर्फ । तर संस्थागत हिसाबले इन्जिनियरको संगठनले यो र यस्ता राष्ट्रिय महत्वका विषयमा सायदै दृष्टिकोण निर्माण गरेको छ, नेतृत्वदायी भूमिका त परको कुरा ।
सन्दर्भ ४ : जलविद्युत् विकास, जलवायु परिवर्तन र विपदका पछिल्ला घटनाक्रमहरूलाई हेरौँ । ३० वर्षअगाडि जलविद्युत् क्षेत्रका प्रतिवेदन बनाउने क्रममा जलाधार क्षेत्रको समग्र वर्षाको मात्रा आँकलन गर्ने सिलसिलामा वर्षा मापन स्टेसनहरू नभएका वा अपर्याप्त भएका कारण विविध घुमाउरा उपायहरू प्रयोग गर्नुपरेको लेखिन्थ्यो । आज ३० वर्षपछाडि पनि त्यही लेखिन्छ । विपदका कारण, जलवायु परिवर्तनका कारण मापन स्टेसनहरू अझ बाक्लोगरी स्थापना गर्नुपर्ने बेला आएको छ । बाक्ला स्टेसनहरूले बटुल्ने तथ्यहरूको जगमा उभिएर हामीले जलवायु परिवर्तनका असरलाई प्रामाणिक रूपमा विश्वसामु उठाउने ल्याकत राख्नेछौँ । तर अहँ, हामीकहाँ कछुवा गतिबाहेक न त वर्षा मापन न त खोला मापन स्टेसन थपिएका छन् ।
जबकि जलवायु परिवर्तनका जति महँगा तालिम र सेमिनार गर्छौं त्योभन्दा धेरै सस्तोमा त्यस्ता थुप्रै स्टेसनहरू सञ्चालन गर्न सकिन्छ । र, त्यस्ता स्टेसन स्थापना र सञ्चालन गर्ने निकायमा नेतृत्वदायी भूमिकामा भने इन्जिनियरहरू नै रहन्छौँ । यसरी हामीले आफ्नै प्राविधिक र आर्थिक क्षमताले भ्याउने कामहरू गर्न पनि हामी ठप्पप्रायः भएका छौँ । यो कोही व्यक्तिविशेषलाई दोषारोपण गरेको होइन, हाम्रो सामूहिक कार्यशैली र कार्यक्षमता नै यस्तै हुँदै आएको छ ।
सन्दर्भ ५ : २५ वर्षअगाडि इन्जिनियर बनिनसक्दाको बेलादेखि आजसम्म नेपालका सडकमा यात्रा गर्दा राजमार्गहरूको स्थिति यति दयनीय कहिल्यै थिएन जस्तो लाग्छ । बुटवल–नारायणगढ सडकले देशकै आर्थिक अवस्था तल खसालेको छ । पोखराको सडकले त्यसलाई साथ दिएको छ । रसुवागढी नाकासम्म पुग्ने हालत कहालीलाग्दो छ । अरनिको राजमार्गसमेत धुलिखेल कटेपछि बाटो भन्न नसुहाउने छ, राजमार्ग भन्नु त परको कुरा । देशलाई खत्तम भयो भन्दै सराप्ने युवाहरूमा त्यस्तो मनोविज्ञान निर्माण हुनुमा अन्य कुराहरूका साथमा यी सडकहरूको कति योगदान होला ? एकपटक ठण्डा दिमागले सोचौँ । तर, यस्ता विषयहरू उठान गरेमा व्यक्तिगत लाल्छनाको रूपमा लिने, शत्रु ठान्ने चलन छ । यो हाम्रो समयको दुर्भाग्य हो ।
७–८ वर्ष लगाएर बुटवल नारायणगढ सडक बिस्तार सकिएछ भने आहा चिल्लो बाटो भन्यो फोटो हाल्यो गरेर यो बीचका बेथिति बिर्सने तरिका कदापि उचित छैन । नारायणगढ–बुटवल नसक्दै बुटवल–गोरुसिँगे बिगार्नु कति उचित हो भनेर विचार गरौँ । सडक बनेपछि मात्रै पुल बन्नुपर्ने कि सँगै बन्नुपर्ने कि, अझ बिस्तार गर्ने सडकमा त पहिला पुलको बिस्तार गर्ने अनि मात्र सडक बिस्तार गर्ने उचित हो कि भन्ने कोणबाट बहस गर्न ढिला भएको छ । यस्ता विषयहरू प्रगेल्नका लागि विषयहरू उठान गर्नैपर्छ, बहस गर्नैपर्छ ।
सन्दर्भ ६ : विश्वव्यापी रूपमा विज्ञान प्रविधिले तीव्र रफ्तार समातेको छ । विश्वको गतिसामु हाम्रो गति अति नै ढिलो आभास हुन्छ । विकास निर्माण यो वा त्यो राजनीतिक पार्टीको नहुँदो रहेछ । हुँदोरहेछ भने विज्ञान प्रविधिको हुँदो रहेछ अनि विज्ञान प्रविधि अँगाल्नसक्नेहरूको बढी हुँदोरहेछ । हामी त हाम्रो साझा संगठनलाई विश्वमञ्चमा जोडाउने, त्यहाँबाट सिक्ने, नयाँ विषय र ज्ञानहरूलाई अधिक से अधिक भित्राउने तथा देशमै अत्यधिक ज्ञान उत्पादन गर्ने दिशामा मुखरित गर्नुपथ्र्याे । तर, हाम्रा अधिक जोड के मा छन्, जगजाहेरै छ । इन्जिनियरको संगठनको अबको कार्यदिशा विज्ञान प्रविधिका नवीनतम आयामहरूमा, देशका विकास निर्माण र पूर्वाधारहरूमा नयाँ ज्ञान सिर्जना गर्ने, प्रचारप्रसार गर्ने दिशामा, विश्वमञ्चमा ज्ञानविज्ञानमा बहस पैरवी गर्नमा, हाम्रा मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने दिशामा हुनुपर्छ ।
सन्दर्भ ७ : देशको बजेटको एकदमै ठुलो हिस्सा पूर्वाधारमा खर्च हुन्छ । पूर्वाधार विकासमा राज्यले मूलतः २ किसिमका खरिद गर्छ । परामर्श सेवा खरिद अनि वस्तु तथा निर्माण सेवा खरिद । यी दुवै खरिदमा राज्यको तर्फबाट खरिदकर्ता र बिक्रेता दुवैतर्फ सामान्यतया इन्जिनियरहरूकै नेतृत्वदायी भूमिका रहन्छ । केही वर्षअघिसम्म नियमित नहुने तर कतैकतै हुने हुँदा अनियमितता नाम पाएको त्यस्तो प्रवृत्ति पछिल्ला वर्षहरूमा यति जगजाहेर भएर झाँगिएको छ कि अनियमितचाहिँ नियमित र नियमित पो अनियमित भएको नियति छ । सबै इन्जिनियरहरूले छर्लंगै महसुस गर्ने तर इन्जिनियरको संगठनले बोध नगर्ने भन्ने कुरा नै हुँदैन । यस्तो विसंगतिमा अझै पनि इन्जिनियरहरूको संगठनले अनदेखा गर्ने वा निरूपाय रहने वा अनियमिततालाई नै संस्थागत गर्न लागिपर्ने हो भने इन्जिनियरहरूको संगठन देशका लागि कदापि हुनेछैन, यो नितान्त सौदावाजीको अखडा बन्नेछ ।
सन्दर्भ ८ : इन्जिनियरको हकहितको लागि गरेको उल्लेखनीय कामको एउटा उदाहरणको रूपमा नवप्रवेशी इन्जिनियरहरूलाई सातौँ तहमा प्रवेश दिलाउने भन्ने अभियानले थुप्रै नव–इन्जिनियरहरूलाई लाभ मिलेको देखिन्छ ।
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने हामी व्यक्तिगत लाभको हिसाबले सातौँ तह हामीलाई प्रिय लाग्छ तर अन्य विधाका अधिकृतहरू छैठौँ हुँदा इन्जिनियरहरू सातौँ हुनुपर्नाको सामाजिक न्याय के हो त भन्ने कोणबाट हामीले हेरेनौँ भने त्यस्ता माग वा प्रयासहरू देश र जनताका लागि न्यायोचित हुन्छन् कि हाम्रा वर्गीय स्वार्थसिद्धीका उपाय बन्छन् ?
आजको यक्ष प्रश्न हो यो । ‘इन्जिनियर केही विशेष हो त्यसैले उसलाई केही विशेष महत्व दिनुपर्छ’ भन्ने कुरा हाम्रा सांगठनिक दबाब वा पहुँचले स्थापित गर्ने कि हाम्रा देश र समाजप्रति गरिने योगदानले स्थापित गर्ने भन्नेमा हाम्रो ध्यान जानैपर्छ । हामीले आफ्ना दायित्व र धर्म राम्ररी निर्वाह नगर्ने, देशलाई लाभ गर्नेभन्दा हानि गर्ने वर्गीय पहिचान स्थापित गर्ने दिशामा उत्प्रेरित हुने हो भने हाम्रा दबाब वा पहुँचले केही विशेष लाभहरू स्थापित त होलान् तर दिगोचाहिँ कसरी होलान् ? हामी आमइन्जिनियरहरूले यस विषयमा गम्भीर भएर सोच्नै पर्ने भएको छ । नयाँ पुस्ताका साथीहरूले गम्भीर भएर सोच्नुपर्छ अनि अग्रजहरूले गम्भीर भएर मार्गनिर्देश गर्नुपर्ने छ ।
सन्दर्भ ९ : देशमा विकास निर्माणका, पूर्वाधारका, प्राकृतिक स्रोत साधनका, विज्ञान प्रविधिका तमाम नीति र कानुनहरू बन्छन् । राष्ट्रिय महत्व र जनसरोकारका त्यस्ता तमाम विषयहरूमा राज्यले, संसद्ले वा सम्बन्धित निकायहरूले महत्वपूर्ण सरोकार समुहको रूपमा इन्जिनियरको संगठनलाई सम्झने गरेको बिरलै पाउँछौँ । इन्जिनियरहरूको संगठनलाई समेत सहभागी गराएर छलफल, बहस गरेमा निश्चय नै उन्नत बन्ने संभावना रहेका कैयौँ नीति र कानुनहरू त्यस्तो सहभागिताको अभावमा निम्छरो बनेका सम्म उदाहरणहरू बग्रेल्ती छन् ।
सायद इन्जिनियरहरूको संगठन इन्जिनियरको मात्रै वा कुनै पार्टीविशेषको मात्रै हो भन्ने पहिचान नबनेको भए । र, यो त देशको लागि चाहिने संगठन हो भन्ने पहिचान बन्न सकेको भए इन्जिनियरको संगठन सम्बन्धित विषयका छलफल, बहस, नीति तथा कानुन तर्जुमा, छानविन समिति र आयोगहरूमा वाञ्छनीय सरोकारवाला बन्ने थियो होला ।
(लेखक नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्याशी हुन् ।)
प्रतिक्रिया