पार्वती अहिलेको भाषामा भन्दा खस आर्य परिवारकी चेली हुन् । अनि शिव र पार्वतीबाट राई, कामी र बाहुन को जन्मियो ? यस्ता सत्य तथ्य र वास्तविक कुरा आममहिलाका बीचमा उजागर गरे चरम जातीय तुष हटाउन ठूलो सहयोग पुग्छ । जसरी सामन्तवादले यस्ता पर्वहरूमा चरम जातीय, धार्मिक सांस्कृतिक रुढी र अन्धविश्वास फैलाएर आफ्नो राजनीतिका स्वार्थ पूरा गर्छ ।
नेपाली महिलाको महान् पर्व तिज विशेष गरेर शिव र पार्वतीको प्रणयसित घनिष्ट रूपमा जोडिएको देखिन्छ । शिवलाई किरातेश्वर भनिन्छ । अर्थात् शिवलाई किराती वा जनजातिका देवता वा आराध्यदेव मानिन्छ । तर यता पार्वती अहिलेको भाषामा भन्दा खस आर्य परिवारकी चेली हुन् । अनि शिव र पार्वतीबाट राई, कामी र बाहुन को जन्मियो ? यस्ता सत्य तथ्य र वास्तविक कुरा आममहिलाका बीचमा उजागर गरे चरम जातीय तुष हटाउन ठूलो सहयोग पुग्छ । जसरी सामन्तवादले यस्ता पर्वहरूमा चरम जातीय, धार्मिक सांस्कृतिक रुढी र अन्धविश्वास फैलाएर आफ्नो राजनीतिका स्वार्थ पूरा गर्छ । त्यसका विरुद्ध नरम र मीठो शैलीमा त्यसका विरुद्ध चेतना जगाउने काम गर्नुपर्छ ।
यस वर्ष पनि अनेम संघले अरूका तुलनामा धेरै ठाउँमा तिज पर्व मनायो । तर, पार्टी केन्द्रीय सदस्य र अनेम संघलगायत महिला नेतृहरूको जुन व्यापक सञ्जाल देखिन्छ, त्यस अनुसार भने पटक्क काम भएको देखिएन । वडा, गाउँ र नगरैभरि छरिएर यस पर्वलाई सचेतना र जागरणको व्यापक आन्दोलन गर्ने कुरामा धेरैको इच्छा शक्ति देखिएन । जिल्ला नगरमा हुने एउटै कार्यक्रममा भएभरका नेता र नेतृ भेला हुने र आतिथ्य ग्रहण र बोल्न पाइएन भने ठुस्स पर्ने घातक बानी देखियो । सबैले सबै क्षेत्रमा ढपक्क ढाकेर एमाले र ओलीका प्रलापका विरुद्ध सन्देशमूलक काम गर्नुपथ्र्यो । जहाँ जहाँ महिलाको उल्लेखनीय सहभागिता हुन्छ र गराउन सकिन्छ, त्यहाँ त्यहाँ धेरै वा थोरै भए पनि भेला गरेर जागरण ल्याउन सकिन्छ भन्ने नै देखिएन । नाचगानमा र खानपिनमा मात्र रमाएर महिलाकै पनि हित हुँदैन । अहिले विभिन्न जातजाति, नाक, नश्ल, थर, गोत्रका नाममा भाँडिएको देशको यो अवस्थामा शिव र पार्वती प्रणय अन्तजातीय सद्भाव बढाउने ठूलो शिक्षा हो ।, यस्तो शिक्षा लिने र दिने कुरा धेरै महत्वको कुरा हुन्छ । शिव र पार्वती प्रणयले धार्मिक सद्भाव र सामन्यलाई पनि उजागर गर्छ ।
तिजजस्ता पर्वमा पनि भाग्यवादी र पुर्पूरोवादी रुढीहरू देखिन्छन् । उतिबेला पनि महिलाले पति रोज्न पाउने संकेत तिजमा देखिन्छ र त्यसलाई नियन्त्रण गर्ने परिपाटी पनि सुरु भएको थाहा हुन्छ । यो कुराले मातृसत्ता र पितृसत्ता दुवैको आपसमा द्वन्द्व रहेको बुझिन्छ । अझ मातृसत्ता अलि बलियो भएको कुरा पार्वतीका संगी र साथीहरूले उनलाई उनकै मर्जीअनुसार घरबाट ‘लुकाएर, भगाएर वा हरण गरेर एकान्त जंगलमा लगेको हुँदा अर्को भाषामा तिजलाई हरितालिका भनिएको’ पाइन्छ । यसरी छोरीचेलीहरूले वा साथीहरूले साथी पार्वतीलाई संगठित रूपमा साथ दिने कुरो सामान्य होइन ।
पार्वतीले गरेको तपस्या एउटा प्रतिनिधि घटना हो । अझ यसमा पानीसमेत नखाई पार्वतीले तपस्या गरेको भन्ने कुराको अर्थ अहिले माग पूरा गर्न गराउन दबाब स्वरूप अनसन बसेजस्तै हो, तर त्यसैलाई अनुशरण गरेर तिजमा पानी पनि नखाई बस्दा गतिलो पति पाइन्छ र विवाहित महिलाले पनि पानीसमेत नखाई व्रत बस्दा पतिको आयु बढ्छ भन्नु अन्धविश्वास मात्र हो । यस्ता नानाथरि अन्धविश्वासलाई तौरतरिका पुर्याएर तिजका अवसरमा छिमल्न सकिन्छ । जननेता मदन भण्डारीले ओम काइरालका घरमा भूमिगत कालमा आउँदा आमाहरूको आग्रहमा स्वस्थानी व्रतकथा वाचन गरिसकेपछि व्रतकथाका रुढीवादी र अन्धविश्वासी कुरा भावी सन्ततिका लागि भए पनि नमान्न आमाहरूलाई अनुरोध गर्दा उहाँहरूले मौन समर्थन जनाउनुभयो । सम्झाउने क्षमताका मानिसले सम्झाउनु पनि पर्छ ।
शिव पार्वतीको प्रेम र दाम्पत्य जीवन हामी नेपालीलाई एक उदाहरणीय प्रेम हो । यस प्रेमले हाम्रोजस्तो बहुजातीय बहुसांस्कृतिक देशमा मेलमिलाप कायम गर्न ठूलो सहयोग पुग्छ । जातीय धार्मिक तथा सांस्कृतिक विविधता देशको सम्पत्ति हो । यस्तो सम्पत्ति धेरै देशमा पाइन्न । यस कुरामा अबुझ भई एकअर्काप्रति बाहिर र मनभित्र मडारिएका जात, भात, नाक र नश्लजस्ता चरम विभेदकारी भावना हटाउन तिजले सहयोग पुग्छ । तर भाँती पु¥याएर राम्ररी अर्थ लगाएर भन्न त सक्नुप¥यो । भित्रभित्रै योग्यता क्षमता बढाउनभन्दा जातीय तुष पालेर राजनीतिको रोटी सेक्ने कुराले देश कहिल्यै अघि बढ्दैन ।
अहिले एमाले पार्टी र जनवर्गीय संगठनलगायतका कतिपय ठाउँमा नाक, नश्ल, जात र भातले डेरा जमाएको देखिन्छ । सरक्क हेर्दा देखिन्न तर ऐन मौकामा यो पक्ष निक्कै बलियो भएर देखापरेको छ । उहिल्यै देखिका शिव–पार्वती प्रणयजस्ता अन्तरजातीय सद्भाव, सम्मान र समर्पण गर्ने खालका उदाहरणीय विषयलाई बारबार उजागर गर्नुपर्छ । र मात्र सबै खालका जातीय र नश्लीय चरम रुढीगत तुषहरू हटाउन सकिन्छ । जात, भात, नाक र नश्लका कुरा उठेपछि शास्त्रकै उदाहरण दिएर चुप्प लगाउन सकिने रहेछ । मैले नै पनि इटहरी–४ को एक बोर्डिङ स्कुलमा शिव र पार्वतीको फरक जातको मिलनलाई आधार मानेर उपरोक्त खालका कुरा शिक्षक शिक्षिकाले मनन गर्ने र नानीबाबुहरूलाई राम्ररी सम्झाउनुपर्छ भनेकी थिएँ । त्यसैले तिजमा रामरमितो मात्र गर्ने होइन त्यसमा रहेका केही सन्देसमूलक ज्ञान र शिक्षा पनि आममहिलाका बीच प्रसार गर्नुपर्छ ।
हामीले बेलैमा र अहिले पनि जात, भात आदि मुद्दालाई साम्य पार्ने गरी पार्टीभित्र राम्ररी कामै नगरेकाले होला कोसी नामकरणविरुद्ध नानाभाँती विरोध भइरहेको देखिन्छ । यसमा एमालेकै कार्यकर्ता भित्रभित्रै लागेको थाहा पाइन्छ । गत वर्ष झुलाघाट–चिवा भन्ज्याङ यात्रा बिथोल्नेहरू भित्र एमाले कार्यकर्ता पनि लागेका प्रहरी प्रशासनबाट थाहा पाएको एक नेताले बताएका थिए । एमालेका मादेन थरि एक लेखक र कार्यकर्ताले कोसी प्रदेश नामकरणविरुद्ध पुस्तिका नै लेखन, सम्पादन र प्रकाशन गरेका रहेछन् । सधैँ वर्ग पक्षधरताको कुरा गर्ने तर भित्रभित्र चरम जातीय तुष राख्ने कुरा राम्रो होइन । यीलगायत अनेक विकृति हामी मध्येमा रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि उल्लेख गर्नुभयो । उहाँले आर्थिक नैतिक र चारित्रिक, बेइमान नेता र कार्यकर्तालाई खबरदारी गर्नुभयो ।
गोरेबहादुर खपाङ्गी लगायतले व्यक्तिगत स्वार्थका उछालेको चरम जातीय मुद्दाजस्ता उदाहरण दिएर भड्काउ पक्षलाई सम्झाउन सकिन्छ । त्यसैले अखिल नेपाल महिला संघले आफ्नै संगठन र पार्टीमा रहलपहल रूपमा रहेका अनेक विसंगति हटाउन तिजलाई पनि सदुपयोग गर्नुपर्छ । इटहरीमा २०४८ सालमा म आफैँ अनेम संघ, गाउँ समितिको अध्यक्ष हुँदा प्रगतिशील तिज कार्यक्रम सुरु गरिएको थियो । त्यति बेला पूर्वाञ्चलमा यस खालको कार्यक्रम कहीँ भएको थिएन । यसमा पे्ररणाचाहिँ डा.बद्री पोखरेलको थियो । नभन्दै हामीले आमाहरूलाई राम्ररी सम्झाएर पानी खाई व्रत बस्ने र बिस्तारै व्रतका दिन फलफूल खाने बनाएका थियौँ । र तिज समारोहमा प्रगतिशील गीतसहित नाचगान गरेका थियौँ ।
अहिले यो परम्पराजस्तै भएको छ । अलि पछि वडावडामा यो कार्यक्रमको बिस्तार गरियो । भएभरका नेता एउटा कार्यक्रममा मात्र उपस्थित हुनेभन्दा सबैतिर छरिएर र मन्तव्य दिएर कार्यक्रम प्रभावकारी बनाउन सकिन्छ । यसपालि इटहरीमा गर्ने कार्यक्रममा यस विषयको एकपानाको भए पनि विषय पत्र तयार गरौँ र वाचन गरौँ । यसको ठूलो सन्देश जान्छ भनेकी छ्ु । जात, भातका नाममा लडाइँ गर्नु बेकार छ । विदुर दासी पुत्र, व्यास मझिनीका छोरा, दुवै पानी नचल्ने जातका, तर जन्मले पानी नचल्ने तल्लो तहको भए पनि उतिबेला कर्मले ठूलो र महान् ठान्ने राम्रो चलन रहेछ । अनि शवरी भनेकी पहाडतिर सर्किनी र मधेसतिर चमार्नी भनिने महिलाले बयर दिएको श्री रामले खाए भनेपछि कहाँ थियो जात, पात र छुवाछुत ? थिएन र यो होइन पनि ।
शिव र पार्वतीबाट राई, बाहुन, कामी को जन्मियो कसैले भन्न सक्छ ? नेपालमा कुनै जात, जाति र समुदायको रगत शुद्ध छैन भनिन्छ । मानव जातिको अर्बौं वर्षको इतिहासमा गोठाला खेतालामै धेरैको बिहे भएको र सन्तान भ्रूणमा रहेको बताइन्छ । अनि व्यर्थमा जात, भात, नाक, नश्ल, थर र गोत्रका कुरामा भुलिनु हुँदैन । यस्ता गहन कुराहरू तिजजस्ता पर्वमा रहेको हुँदा यो शिक्षाको प्रचारप्रसार गर्न भुल्नु हुन्न । त्यसैले विभिन्न पर्वहरूमा टन्न खाने र मस्ती मात्र गर्ने होइन वा भुँडी मात्र भर्ने होइन, दिल, दिमाग र बौद्धिक विकास गर्ने पक्षहरूमा पनि पर्याप्त ध्यान दिनुपर्छ । र महिला जागृतिलाई सघाउने कामलाई ध्यान दिनुपर्छ ।, कतिले बालेनजस्ता पोथ्राका बारेमा गीत गाएको सुनिन्छ भने हामी अनेम संघ र एमाले पार्टीले गरेका महिला उत्थान र देश र जनताका पक्षमा गरेका अनेकन विषय कविता, गीतमार्फत् कला र गला मिलाएर भन्नुपर्छ । एकोहोरो, पट्यारलाग्दो र खस्रो भाषणभन्दा एउटा दुइटा सन्देशमूलक सुमधुर कविता र गीत प्रभावकारी हुन्छ ।
प्रतिक्रिया