रगत संकलन र वितरणको जिम्मा रक्तसञ्चार केन्द्रलाई

bloodचितवन, २७ फागुन । नि:शुल्क रूपमा संकलन गरिएको रगतको मूल्य उपभोक्तासम्म पुग्दा अत्यधिक महँगो भएपछि सर्वसाधारण मर्कामा परेका छन् । सरकारले रगत संकलन र वितरणको जिम्मा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत रक्तसञ्चार केन्द्रलाई दिएको छ ।

एउटै संस्थालाई मात्र जिम्मेवारी दिँदा एकाधिकार भएकै कारण रगतको मूल्य बढी भएको सरोकारवालाको भनाइ छ । सरकारी अनुदान नहुँदा प्रशोधन र व्यवस्थापकीय खर्चका कारण मूल्य बढी लिनुपरेको रक्तसञ्चार केन्द्रका पदाधिकारी बताउँछन् ।
क्षेत्रीयस्तरको रक्तसञ्चार केन्द्र भरतपुरले वार्षिक २५ हजार युनिटको हाराहारी रगत संकलन गरेर वितरण गर्दै आएको छ । प्रतियुनिट आठ सय रुपियाँमा बिरामीलाई वितरण गर्दै आएको भरतपुर केन्द्रको मूल्य नेपालमै सबैभन्दा बढी भएको भन्दै सरोकारवालाहरूले गुनासो गरेका छन् । अग्रज रक्तदाता ध्रुव थपलिया माथिल्लो तहका कर्मचारी र पदाधिकारीले संगठनात्मक किसिमले गरेको भ्रष्टाचारकै कारण रगतको मूल्य बढी भएको बताउँछन् । एउटा निकायलाई मात्र रगत संकलनको जिम्मा दिँदा एकाधिकार बढेको बताउँदै उनले थप अर्काे निकायले जिम्मेवारी पाएमा रगतको मूल्य आधा घट्ने दाबी गरे । नेपाल दुर्लभ रक्त समुदायका केन्द्रीय अध्यक्ष बालानन्द भण्डारी देशकै सबैभन्दा महँगोमा चितवनका बिरामीले रगत किन्नुपरेको गुनासो गर्छन् । रक्तसञ्चार केन्द्रको मनोमानीका कारण रगतको मूल्य बढी भएको भन्दै उनले लागत खर्चबाहेक अरू रकम बिरामीसँग असुल गर्न नहुने बताए । उनले भने, ‘प्रशासनिक खर्चका लागि सरकारी निकायसग आग्रह गरेरै भए पनि रगतको मूल्य घटाउनुपर्छ ।’
सामाजिक संस्था भएकाले रेडक्रसमा अनुगमन नहुँदा मौलाएको भ्रष्टाचारको प्रभावका कारण रगतको मूल्य बढेको सरोकारवाला दाबी गर्छन् । तर, रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल भने यो आरोप निराधार भएको बताउँछन् । रगतको मूल्य बढ्नुमा परीक्षण र प्रशासनिक खर्च भएको उनको तर्क छ । राज्यले खर्च दिए केन्द्रले नि:शुल्क रगत वितरण गर्नसक्ने उनले बताए ।
चितवनसहित छिमेकी जिल्लाबाट समेत रगत ल्याएर यहाँको माग पूर्ति गर्नुपरेकै कारण रगतको लागत खर्च बढेको उनले बताए । एउटै बिरामीलाई सात पोकासम्म रगत चढाउनुपरेको स्मरण गर्दै पौडेलले मूल्य बढी भएको महसुस भएर पनि घटाउन नसकेको बताए । मुख्य रूपमा दीर्घरोगीलाई रगतको मूल्य बढी हुँदा समस्या परेको छ ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद न्यौपाने रक्त तत्त्व छुट्टयाउने ठूलो एलाइजा मेसिन ल्याउनका लागि पहल भइरहेको बताउँदै मेसिन प्राप्त भए मूल्य घट्ने बताउँछन् । हाल केन्द्रसँग चार बकेटका साना दुई मेसिन भए पनि पर्याप्त नभएको बताउँदै १२ बकेटका तीन मेसिन भए रगतको अभाव पनि हट्ने उनले उल्लेख गरे । प्रशासनिक एवं परीक्षणका अतिरिक्त रोग देखापरेका कारण रगत फाल्नुपर्ने कारणले पनि लागत खर्च बढेको सभापति न्यौपानेको तर्क छ । कसरी रगतको मूल्य घटाउने विषयमा केन्द्रले सोचिरहेको बताउँदै उनले सरकारी निकायबाट सहयोग प्राप्त भएमा सहजै मूल्य घट्नसक्ने पनि बताए ।

प्रतिक्रिया