सरकारी कार्यालयमै तीजको कार्यक्रम

सरकारी कर्मचारी कतिसम्म भ्रष्ट र घुसखोरी छन् ? यो त सबैलाई थाहा नै भइसक्यो । सरकारी सम्पत्ति दोहन गरेर व्यक्तिगत सम्पत्ति जोड्ने यिनीहरू नै हुन् । कार्यालयका लागि ५ हजारको सामान किन्छन्, २०औँ हजारको बिल बनाउँछन् । नयाँ सामान ल्याउन पाएको हुँदैन, घरतिर दौडाइहाल्छन् ।

अनुषा थापा

घटना अस्ती भरखरको हो । सरकारले सार्वजनिक बिदा दिएको थिएन । तर, जडीबुटीस्थित ‘सञ्चो’ बनाउने कार्यालयमा रोचक दृश्य देखियो । महिला कर्मचारी जम्मै रातो सारी पहिरिएर आएका थिए । उनीहरू कार्यालयको चौरमा रमिता देखाइरहेका थिए भने पुरुष कर्मचारीहरू उनीहरूको तस्बिर खिचिरहेका थिए । सडकबाट हेर्नेहरूको लर्को थियो ।

यता, बसमा सवाररत यात्रुहरूले पनि नियालेर हेरिरहेका थिए । त्यसदिन त्यहाँका कर्मचारीले कामै गरेनन् । दर खाए, तिज मनाए, गए । जनताको काम रोकेर तिज मनाउन मिल्छ कि मिल्दैन ? कर्मचारीले यो सोचेको पाइँदैन । सरकारी कार्यालयमा सारी ढल्काएर नाचगान गर्न मिल्छ ? सरकारी कर्मचारीको त डे«स हुन्छ । कर्मचारीहरू अफिसको डे«समा आउने हो, काम गर्ने हो । सार्वजनिक बिदा भएको भए पनि भिन्दै कुरा हुन्थ्यो । सरकारी कर्मचारीले जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, लुगा लगाउँछन्, सरकारी गाडी चढ्छन् । सरकारी कर्मचारी ऐनकानुनले बाँधिएका हुन्छन् ।
सर्वसाधारणले महिना दिन अगाडिदेखि तिज मनाउन मिल्छ । तर, सरकारी कर्मचारीले मिल्दैन । सरकारी कर्मचारी राष्ट्र र जनताप्रति सधँै जिम्मेवार हुनुपर्छ । आफूले गरेका कामले समाजमा कस्तो प्रभाव पर्छ ? सरकारी कर्मचारीले सोच्नुपर्छ । हिजो उनीहरूले काम गरेनन् । राज्यलाई घाटा भयो । उनीहरूले काम नगरे पनि राज्यले तलब त दिनुपर्यो । अर्कोतर्फ समाजमा एउटा नकारात्मक प्रभाव पर्यो । त्यहाँ उभिएर हेरिरहेका सर्वसाधारणहरू अनेकौँ टीकाटिप्पणी गरिरहेका थिए । सरकारी कर्मचारीकै बद्नामी भयो ।

एक महिना अघिदेखि सरकारी गाडीको प्रयोग बिहान बेलुका धेरै नै बढेको देखिन्छ । गाडीभित्र रातो सारी ढल्काएर तिज मनाउन निस्किएका महिलाहरू देखिन्छन् । त्यो सरासर सरकारको सम्पत्तिको दुरुपयोग हो । सरकारले इन्धन दिनुपरेको छ, ड्राइभर दिनुपरेको छ । सरकारी गाडीको प्रयोग कामका लागि मात्र गरिनुपर्छ । तर, पछिल्ला दिन सरकारी गाडीको दुरुपयोग बढेको छ ।

कर्मचारीप्रति आमसर्वसाधारणको असन्तुष्टि बढ्दै छ । निजामती कर्मचारीहरू आफूलाई ‘राष्ट्रसेवक’ कर्मचारी भन्छन् । सरकारी सम्पत्तिको दुरुपयोग गर्ने, काम नगरिकन तलब खानेहरू पनि राष्ट्रसेवक कर्मचारी ? ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्या यही होला । सरकारी कर्मचारी लोकसेवा लडेर आएका हुन्छन् ।

निजामती कर्मचारीका निम्ति आचारसंहिताहरू छन् । तर, निजामती कर्मचारीले आचारसंहितालाई धोती लगाइदिएका छन् । राजनीतिक दलको झोले बन्यो अनि मनलाग्दी गर्यो । आज जनता सोध्छन्, ‘जनताले तिरेको कर खोइ ? खाडीमा गएर नेपालीले घामपानी नभनिकन पठाएको रेमिट्यान्स खोइ ? झण्डै २७ खर्ब विदेशी ऋण खोइ ?’ यसको जवाफ सरकारले अब दिनुपर्छ । न कतै विकास छ न सर्वसाधारणले सेवासुविधा नै पाएका छन् । सरकारी कर्मचारी तलब बढाऊ भनिरहन्छन् । तर, तिनीहरूले काम के नै गरेका छन् । विगतदेखि नै ‘दिन कटाउने र मानो पचाउने’ काम मात्र भइरहेको छ । बढीबढी तलब चाहिने, सेवासुविधा खोज्ने अनि जनताको काम गर्न छोडेर दिँउसै कार्यालयमा नाचगान गर्ने ?

सरकारी कर्मचारी कतिसम्म भ्रष्ट र घुसखोरी छन् ? यो त सबैलाई थाहा नै भइसक्यो । सरकारी सम्पत्ति दोहन गरेर व्यक्तिगत सम्पत्ति जोड्ने यिनीहरू नै हुन् । कार्यालयका लागि ५ हजारको सामान किन्छन्, २०औँ हजारको बिल बनाउँछन् । नयाँ सामान ल्याउन पाएको हुँदैन, घरतिर दौडाइहाल्छन् । बिहान सवा १० बजे हाजिर भइसक्नुपर्नेमा १२ बजे ढल्कीढल्की कार्यालयमा आउने, अर्काको कोठामा गएर गफ ठोकेर बस्ने अनि २ बजेतिर टाप कस्ने त सरकारी कर्मचारीको प्रवृत्ति नै भइहाल्यो । प्रायः सरकारी कार्यालयमा क्यान्टिन चलाउने त्यहीभित्र कार्यरत कर्मचारी रहेको पाइन्छ ।

क्यान्टिन काम गर्ने अनि तलबचाँहि महिनैपिच्छे सरकारबाट लिने । २० लिटर इन्धन खर्च भयो भने ५० लिटरको बिल बनाउँछन् । गाडी लगेर ठोक्काउने अनि मर्मत गर्ने नाममा लाखौँको बिल पेस गर्ने । ५ दिन फिल्डमा गएर महिनौँ दिनको रेकर्ड बनाउने यिनीहरू नै हुन् । यस्ता कामचोर, भ्रष्टाचारी, घुसखोरीहरू पनि सरकारी कर्मचारी । यस्तालाई सरकारी कर्मचारी भन्नुपर्दा जनतालाई हीनताबोध महसुस हुने गरेको छ । हुन त देशको माथिल्लो तहका व्यक्ति नै त्यस्ता छन् । अनि कर्मचारीमा त्यो रोग सरिहाल्छ नि । प्रधानमन्त्री गिरीबन्धु टी स्टेटको जग्गा हिनामिना गर्छन् ।

अर्थमन्त्री विष्णु पौडेलमाथि बालुवाटारको सरकारी जग्गा आफ्नो छोराको नाममा लगेको आरोप छ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवामाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोप छ । उपल्लो तहकाले यस्तो निच काम गरेपछि तल्लो तहकाले सिक्नु त स्वभाविकै हो । सदनमा २७५ जना सांसद छन् । तर, सांसद पनि त्यस्तै भए । आउने, हाजिर गर्ने, निदाउने, सरकारी गाडी चढेर जाने । अहिलेका सांसदको केही कामै छैन । जनताका लागि भार मात्र हुन्, उनीहरू । समाजमा के बेतिथि देखिएको छ ? कुन क्षेत्रमा सुधार आवश्यक छ ? जनताले सेवासुविधा पाएका छन् कि छैनन् ? सांसदहरूलाई थाहा छैन ।

बेरोजगारी बढेको छ । गाउँ हुँदै सहर, सहर हुँदै बिदेसिने क्रम बढेको छ । अहिले गाउँदेखि सहरसम्म रित्तो बनिसकेको छ । सबै विदेश । नागरिकता बनाउने बित्तिकै पासपोर्ट बनायो, अनि हानियो विदेश । नेपालमा बसेर केही नै नहुने परिसक्यो, जनतालाई । हुन पनि हो । के छ यहाँ ? यहाँ योग्यता होइन, पहुँच खोजिन्छ । पहुँच हुने जति पदमा, अन्य सबै खाडीमा । महँगीले सर्वसाधारणको ढाड सेकिएको छ । गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी जनताको आधारभूत आवश्यकता हो । नेपालको संविधानले नै जनताको आधारभूत आवश्यकतालाई मौलिक हकमा समेटेको छ । तर, खोइ त संविधानको कार्यान्वयन ?

संविधान देखाउनका लागि मात्र हो ? जनतालाई दुई छाक खान धौँ धौँ परिसकेको छ । जनतामा नैराश्यता बढेको छ । विभिन्न कारणले आत्महत्या गर्नेको संख्या बढेको छ । तर, सरकारलाई चासो नै छैन । प्रधानमन्त्रीलाई हावा गफ सुनाउनै भ्याइनभ्याइ छ, सरकारी कर्मचारी त तलबभत्ता खान र सेवासुविधा लिन आएको भैगए । सरकारले विदेशी ऋण ल्याएर भए पनि तलबभत्ता खुवाइहाल्छ, काम किन गर्नुपर्यो ? भन्ने मानसिकता सरकारी कर्मचारीमा परेको छ । जनता तनावमा छन्, सरकार र सरकारी कर्मचारी मोजमस्तीमा । करको सदुपयोग नभएकाले जनता कर नतिर्ने मनसायमा पुगिसकेका छन् ।

जनताले तिरेको कर कहाँ गयो ? हिसाबकिताब छैन । रेमिट्यान्स पठाएका छन्, त्यसको पनि लेखाजोखा छैन । त्यतिले नपुगेर विदेशीबाट ऋण पनि ल्याएका छन् । जनताको आँखामा छारो हालेर राजनीतिक दल र सरकारी कर्मचारीले मोजमस्ती गरे । जनताको बल्ल आँखा खुल्दै गएको छ । एउटा कुरा के पुष्टि भइसक्यो भने सरकारी कर्मचारीको जतिसुकै सम्पत्ति भए पनि उनीहरू घुस खान छोड्दैनन । जनप्रतिनिधिहरू पनि तलबभत्ता लिन र कमिसन खाने छोड्नेवाला छैनन् । यिनीहरू देशका लागि ‘गोमन साँप’ हुन् । यस्ताबाट देशको सुधार हुँदैन झन् अवस्था बिगिँ्रदै जान्छ ।

प्रतिक्रिया