नेपाली क्रिकेट टोलीले आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै

काठमाडौं । विश्वकप लिग– २ को तयारीका लागि श्रीलंका गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलंकाको डेभलभमेन्ट टिमसँग पहिलो अभ्यास खेल खेल्ने भएको छ ।

आगामी क्यानडामा हुने विश्वकप लिग– २ को अन्तिम तयारीका लागि अभ्यास खेल खेल्न नेपाली‌ टोली श्रीलंका भ्रगएको हो ।

श्रीलंकामा आज हुने खेल नेपाली समय अनुसार बिहान १०ः१५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले सोही टोलीसँग बुधबार र बिहीबार पनि श्रीलंकासँगै अभ्यास खेल खेल्ने तालिका छ ।

नेपाली क्रिकेट टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् ।

त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद रहेका छन् ।

नेपाली टोली यही भदौ १६ गते श्रीलंका प्रस्थान गरेको थियो । भारतको नेसनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किको टोली १६ गते श्रीलंका प्रस्थान गरेको हो ।

प्रतिक्रिया