रुसी सेनामा भर्ती भएका थप ४ नेपालीको मृत्यु, मृतकको संख्या ४० पुग्यो

काठमाडौँ । रुसी सेनामा भर्ती भएका थप ४ जना नेपालीको मृत्यु भएको छ । भदौ १४ गतेसम्मको तथ्यांकअनुसार रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या ४० पुगेको छ । पछिल्लो पटक मृत्यु हुने ४ नेपालीमा विक्रम चौधरी, डोमबहादुर आले, विमल लिम्बू र सुवास थापा छन् ।

गत असार १० सम्म मृत्यु हुनेको संख्या ३४ रहेकामा त्यसपछि थप २ जना सञ्जोग आचार्य र नवीन शाहीको मृत्यु भएको थियो । त्यसपछि थप ४ जनाको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार रुसी सेनामा भर्ती भएका १७४ जना नेपाल फर्किसकेका छन् । परराष्ट्र मन्त्रालयले पछिल्लो पटक मृत्यु हुनेको ठेगाना पत्ता लगाउने प्रयास गरिरहेको छ ।

सम्बन्धित निकायहरूसँग सोधपुछ गरेर ठेगाना पत्ता लगाउने प्रयास भइरहेको छ । ‘उनीहरूको घर कहाँ हो भन्नेबारेमा भने अझै पत्ता लागिसकेको छैन । व्यक्तिमात्र पत्ता लागेको छ । उनीहरूको घर पत्ता लगाउन सकिएको छैन,’ परराष्ट्र स्रोतले भन्यो, ‘हामी सम्बन्धित निकायहरूसँग सोधपुछ गरेर काम गरिरहेका छौँ ।’

सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । हालसम्म मृत्यु हुने नेपालीमा राजकुमार रोका (दोलखा), शुक्रबहादुर तामाङ (काठमाडौँ), भरतबहादुर शाह (काठमाडौँ), देवन राई (कास्की), प्रीतम कार्की (स्याङ्जा), गंगाराज मोक्तान (इलाम), रूपक कार्की (कपिलवस्तु), सन्दीप थपलिया (गोरखा), कुन्दनसिंह नगाल (दार्चुला), हरिप्रसाद अर्याल (स्याङ्जा), राजकुमार गिरी (धादिङ), धनसिंह पुन (रोल्पा), पूर्णबहादुर गुरुङ (धादिङ), सुन्दर मुक्तान (रसुवा), गंगाराम अधिकारी (झापा) र पदमबहादुर घिमिरे (उदयपुर) छन् ।

यस्तै, सञ्जय केसी (बाँके), नवीन शाही (जाजरकोट), जितबहादुर विक (बागलुङ), अनितकुमार साह (महोत्तरी), खगेन्द्र राईका मगर (धनकुटा), वीरबल राई (संखुवासभा), बलराम गुरुङ (रुकुम), तेजबहादुर शाही (दैलेख), सुरेन्द्र राना (जुम्ला), लालबहादुर बुढा (रुपन्देही), राजु थारु, फुर्वा शेर्पा (दोलखा), सुरज विक (स्याङ्जा), नेत्रबहादुर घर्ती (धादिङ), शंकर दमाई (गुल्मी), साजन गुरुङ (लमजुङ), शान्तबहादुर भोलान (सिन्धुली) र घनश्याम परियारको पनि रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मृत्यु भएको छ ।

रुसी सेनामा भर्ती भई अहिले ७ नेपाली युक्रेनी सेनाको कब्जामा छन् । यसरी कब्जामा परेका नेपालीमा काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, बर्दियाका विवेक खत्री, चितवनका सुजन सुवेदी, मकवानपुरका ईश्वर लामिछाने र मदन दाहाल छन् । उनीहरूलाई नेपाल सरकारले रुसी सरकारसँग सहकार्य गरेर छुटाउने प्रयास गरे पनि हालसम्म सफल हुन सकेको छैन ।

प्रतिक्रिया