म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा वेस्टह्याम युनाइटेडलाई ३–१ गोलले हराउँदै सिटीले तेस्रो जित निकालेको हो । सिटीका लागि एर्लिङ हाल्यान्डले ह्याट्रिक गरेका थिए भने वेस्टह्यामलाई १ गोल आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो । सिटीका रुवेन डायसले आत्मघाती गोल गरेका थिए ।

सिटीका हाल्यान्डले खेलको १०औँ मिनेटमा सुरुआती गोल गरेका थिए । तर, सिटीका डायसले १९औँ मिनेटमा आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । त्यसपछि हालान्डले ३०औँ र ८३औँ मिनेटमा गोल गर्दै ह्याट्रिकसहित सिटीलाई ३–१ गोलको जित दिलाए । जितसँगै म्यानचेस्टर सिटी ३ खेलबाट ९ अंकसहित तालिकाको शीर्षस्थानमा छ । पराजित भएको वेस्टह्यामको ३ अंक छ ।

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत नै भएको खेलमा आर्सनल र ब्राइटनकाबीच बराबरी भएको छ । शनिबार राति सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

आर्सनलका काइ हाभेर्टज र ब्राइटनका जाआओ पेड्रोले गोल गरे । खेलको ३८औँ मिनेटमा आर्सनलका हाभेर्टजले सुरुआती गोल गरेका थिए भने ब्राइटनका पेड्रोले ५८औँ मिनेटमा गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा खेल बराबरीमा सकिएको थियो । यो बराबरीसँगै आर्सनलको ३ खेलबाट ७ अंक छ । ब्राइटनको समान अंक भए पनि गोल अन्तरका आधारमा आर्सनलभन्दा माथि छ ।

अर्को खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ ले हराएको छ । भिल्लाको जितमा अमाडु ओनाना र जोन डुरानले गोल गरे । लेस्टर सिटीका फाकुन्डो बोनानोट्टेले १ गोल फर्काएका थिए ।

भिल्लाका ओनानाले खेलको २८औँ मिनेटमा टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा डुरानले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । खेलको ७३औँ मिनेटमा एस्टन भिल्लाका बोनानोट्टेले गोल गरे । जितसँगै एस्टन भिल्लाको ६ अंक छ । लेस्टर सिटीको १ अंक छ ।

प्रतिक्रिया