काभ्रे । नेपालले आफ्नो हरित भविष्यतर्फको यात्रा प्रारम्भ गर्दै काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले देशमा पहिलो पटक हाइड्रोजन कार र यसको रिफ्युलिङ प्रणालीको औपचारिक सुरुवात गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार यो नयाँ प्रविधिको उद्घाटन गरेका हुन् । जसले नेपालको यातायात क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।
यो हाइड्रोजन कार दक्षिण कोरियाको हुण्डाइ कम्पनीमा निर्मित हो भने नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरिएको हो । यो नेपालमा हाइड्रोजन–आधारित सवारीसाधनको पहिलो उदाहरण हो, जसले वातावरणीय प्रभावलाई कम गर्दै हरित ऊर्जा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले यो प्रविधिले देशको दिगो विकास र प्रदूषण नियन्त्रणमा ठूलो योगदान पुर्याउने अपेक्षा व्यक्त गरे । ‘हाइड्रोजन कारको प्रयोगले वातावरणीय संरक्षणमा नयाँ सम्भावनाहरू खोल्नेछ,’ उनले सम्बोधन गर्दै भने।
यो पहलसँगै, नेपालले हरित ऊर्जा र प्रविधिको क्षेत्रमा नयाँ अध्याय प्रारम्भ गरेको छ, जसले आगामी दिनमा देशभर हरित यातायातको प्रवर्द्धन गर्न प्रेरणा दिने बताइएको छ ।
प्रतिक्रिया