पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका– ५ प्राङवुङ डाडागाउँ टोलमा बिहीबार भएको विस्फोटमा परी घाइते भएका दुई जना बालबालिकाको मृत्यु भएको छ । घटनामा गम्भीर घाइते दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र साढे दुई वर्षीया छोरी प्रिन्साको मृत्यु भएको हो ।
बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र साढे दुई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए ।
बालबालिका घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्याउँदा बाटोमै र दिप्सनको राति १ बजे बीएन्डसी अस्पताल झापा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।
घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो या होइन भन्नेबारे यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रश्थान गरेको शुक्रबार बिहान डिएसपी भण्डारीले बताए ।
ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन् । त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । बम द्वन्दकालमा लुकाइएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
प्रतिक्रिया