पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका– ५ मा विस्फाेटक पदार्थ पड्किँदा बिहीबार तीन जना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा स्थानीय दिलिम साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा, साढे दुई वर्षीया छोरी प्रिन्सा साँवा र स्थानीय ९ वर्षीय पवन राई रहेको वडाध्यक्ष भरत खपाङ्गीले बताए ।
यस घटना दिँउसो ३ बजे भएको उनको भनाइ छ । आँगनमा बालबालिका खेल्ने क्रममा बम जस्तो वस्तुलाई बालबालिकाले हतौडाले पिटेपछि विस्फोट भएको आफूले खबर पाएको र उक्त वस्तु बम हुन सक्ने आशंका गरिएकाे खपाङ्गीले बताए । जिल्ला पाँचथरको प्रहरीको टोली घटनास्थलतर्फ गएको उनले बताए ।
बालबालिका खेलिरहेको समय ठूलो आवाजमा केही पड्किएको सुनेपछि हेर्न जाँदा बालबालिकाहरु घाइते अवस्थामा भेटेको स्थानीयले बताएका छन् । घटनामा घाइतेमध्ये पवन राईको अवस्था सामान्य छ । खेलिरहेका समय भेटेको फुटबल जस्तो देखिने वस्तु पड्केको घाइते राईले बताए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारीले घाइते तीनै जनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याउने कार्य भएको बताए । साथै, उक्त घटनाको विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली परिचालन गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया