कमला पुल निमार्णको माग गर्दै आमरण अनसनमा

जनकपुरधाम । धनुषा–सिरहालाई जोडने हुलाकी राजमार्गको मुख्य मेरुदण्ड मानिएको बहुप्रतिक्षित कमला पुल निर्माणका लागि दबाब दिने उद्देश्यले मधेस सरकारको प्रशासनिक भवन अगाडि सिरहाका १० जना युवाहरू आमरण अनसनमा बसेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मुख्य प्रवेशद्वारअगाडि टेन्ट पण्डला बनाएर सिरहा नगरपालिकाका–८ र औरही गाउँपालिकाका २ जना वडा अध्यक्षसहित १० जना युवा आमरण अनसनमा बसेका छन् ।

अनसन बस्नेहरूमा संर्घष समितिका संयोजक तथा कर्मचारीसमेत रहेका ई.प्रवीणकुमार यादव, समसाद आलम, शैलेष यादव, भोगेन्द्र यादव, इन्द्रजित यादव, सुरेन्द्र यादव, जीवछप्रसाद यादव, शिवशंकर यादव, मनिषकुमार यादव, रुपेशकुमार यादव छन् । उनीहरूले संघीय सरकार मधेसको लाइफ लाइन हुलाकी राजमार्ग र त्यसको मुख्य एक स्तम्भ मानिएको कमला पुल बनाउन उदासीन देखिएकाले मधेस सरकारलाई दबाब दिन आमरण अनसन थालिएको बताए ।

पहाड र चुरे विनाश गरेर रातारात पहाडी राजमार्ग बनाउने सरकार ढलेको पुललाई अब मर्मत गर्ने, प्रक्रिया पु¥याउने सहितको बहानामा कमला पुल बनाउन नचाहेको उनीहरूको आरोप छ । अभियन्ता रामरिझन यादवले मधेसमा सुगमता र संघीयतालाई थप मजबुत पार्न पुल हरेक मधेसीका लागि आवयश्क रहेको र संघीय सरकार सम्पन्न गर्न आनाकानी गरिरहेको औँल्याए ।

एता मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाबाट जुलुससहित आएका अभियानीहरूले आफूलाई एकसाता पहिला ज्ञापन पत्र बुझाएकै दिन मन्त्रिपरिषद्को निर्णयसहित संघीय सरकारको जिम्मामा रहेको कमला पुल निर्माणको माग गर्दै संघीय भौतिक पूर्वाधार र प्रधानमन्त्री कार्यालयमा पत्र पठाइसकेको जानकारी गराउँदै यति सक्रियताका बाबजुद पनि आमरण अनसन हुनु प्रचारबाजी र चर्चा कमाउने काम मात्र रहेको बताए ।

उनले हुलाकी सडकमा पर्ने कमला पुल निर्माणको जिम्मा संघीय सरकारको रहेको र सो अनुपातको बजेट प्रदेश सरकारले एकैपटक दिन नसक्ने पनि भएकाले आफूहरू प्रयास गरिरहेको र संघीय सरकार उदासीन देखिए आफैँ पुल बनाउन पनि के गर्न सकिन्छ भन्ने विषयमा प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्वमा समितिसमेत बनाइसकिएको अनसनस्थल पुगेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले बताए । यादवले तत्कालै यो अनसनको कुनै पनि औचित्य नरहेकाले तत्काल स्थगित गर्न अनसनकारीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया