ढाका । बंगलादेशको अन्तिरिम सरकारका गृहमन्त्री सखावत हुसेनले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताएका छन् ।
‘आवामी लिग पार्टीले बंगलादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार गर्दैनौँ,’ सखावत हुसेनले भने, ‘निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ ।’
गृहमन्त्रीको यो भनाइ बंगलादेश पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएको एक दिनपछि आएको हो ।
आवामी लिगका नेता ७६ वर्षीया शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिई गत सोमबार मित्रराष्ट्र भारततर्फ गएकी थिइन् । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उनका हजारौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लंघनको आरोप लगाइएको छ ।
वाजेदले करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा राजनीतिक भविष्यका लागि हसिनाको दल आवामी लिग महत्वपूर्ण रहेको दाबी गरेका थिए ।
‘हामीसँग दशौँ लाख अनुयायीहरू छन्, उनीहरू कतै जाँदैनन्’, उनले एक अन्तर्वार्तामा भने, ‘अवामी लिगबिना बंगलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन, कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।’– रासस, एएफपी
प्रतिक्रिया