लेखन समयका आधारमा रचना जम्माजम्मी दुई वटा हाँगामा विभक्त देखिन्छन् । एउटा वि.सं.२०५९–६० मा लेखिएका (८ वटा)र अर्को वि.सं.२०७८ पछि २०७९ सम्म लेखिएका (९ वटा) छन् । उनका लेखनका दुई छिमल देखिन्छन् । दुई अलगअलग जिम्मेवारीमा रहँदा पुगेका ठाउँबाट प्राप्त खुराकलाई प्रसस्त उपयोग गरिएको भेटिन्छ । एउटामा आठ वटा र अर्कोमा सात वटा लेखिएका छन् । रचनाहरूमा अर्को विशेषता पनि छ, त्यो के हो भने एउटै बेगमा उडान भरेका थान रचना छन्, चार उडानका दुई–दुई र बाँकी पाँच वटा एउटै उडानका छन् ।
नियात्रा साहित्यका अन्य विधा जस्तो त्यति पुरानो भने होइन । यात्रा साहित्यका धेरै पुस्तक लेखिएका भए पनि ताना शर्मा (वि.सं.१९९१–२०७८) को ‘बेलायततिर बरालिँदा’ (वि.सं.२०२६) प्रकाशनपछि मात्र ‘नियात्रा’ शब्दको प्रयोग भएको पाइन्छ । अध्ययनअनुसार यात्राका विवरण मात्र नियात्रा होइन । यात्रावृत्तान्तलाई साहित्यमा पाइने गुण तथा सरल र रोचक शैलीमा लेखिनुपर्छ । नियात्राकारको संवेदनशीलताले यात्रा विवरणभन्दा माथि उठेको हुनुपर्छ । यात्रा वर्णनको सिलसिलामा लेखकले अन्तरहृदयको ऊर्जा भरेर लेखनकार्य गरेपछि मात्रै नियात्रा साहित्यको सिर्जना हुन्छ । नत्र ‘लेखक कुनै विषयको अनुसन्धानपूर्ण र प्रायः सर्वांगीण चर्चा गर्न थाल्छ भने त्यो प्रबन्ध हुनपुग्छ ।’ भन्ने ठम्याइ प्रा.गोपीकृष्ण शर्माको छ ।
‘यात्राको लय’ पुस्तक छ प्रदीप सापकोटाको । यिनको ‘यात्राका इन्द्रेणी रङ’ (वि.सं.२०७७) पछि यो अर्को नवीनतम कृति भरखरै सार्वजनिक भएको हो । १४४ पेज भएको, रचना औसत छोटा आयामका र पुस्तक गोजीका आकारको भएकाले पढ्न समय लाग्दैन । सरल किसिमको लेखन शैलीले सँगसँगै लान र पुगेका डुलेका ठाउँमा साथै भएको अनुभूति दिनसक्ने खुबी छ यिनको लेखाइमा ।
जनजीवन र परिवेशमा राम्ररी भिजेर भावनाहरूलाई प्राथमिकता दिन सिपालु यिनी यात्रा मात्रै गर्दैनन्, आत्मसंवाद गर्छन् र लेख्छन् । आत्मसंवाद साहित्यको अत्यन्त महत्वपूर्ण एक पहलु हो । जुन नियात्रामा त झन् अपरिहार्य हुन्छ । यसले पाठकलाई लेखकको भावनात्मक अनुभव गर्न सहयोग पु¥याउँछ र साहित्यको सार्थकता बढाउँछ । साहित्यले समाजमा गहिरो प्रभाव कसरी गर्न सक्छ ? पहिले त मानवताको धारणा, विचार, र भावनाहरूको अध्ययन गर्दछ । रचनात्मक शिल्पकला भएको साहित्यले समाजमा साहित्यिक चेतना जागृत गराउँछ । सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ । साहित्यले मानवतामा साहित्यिक जागरण गराउँछ र सामाजिक समस्याहरूको समाधानमा महत्वपूर्ण योगदान पु¥याउँछ । साहित्यले हाम्रो भावनाहरूलाई व्यक्त गर्दछ र मानविकतालाई समृद्ध बनाउँछ । यसले जीवनमा साहित्यको महत्वलाई अनुभव गराएर मानसिक संघर्षमा राहत पुर्याउँछ ।
स–शरीर कुनै नयाँ ठाउँको भ्रमण गर्दा मानिसको सोचमा केही न केही व्यक्त अव्यक्त प्रभाव परेको हुन्छ । ती प्रभाव र तरंगहरू लिपीवध्द हुन पाए साहित्यको गर्भबाट कृतिको पदार्पण हुन्छ । यी अनेक विशेषताहरूलाई निर्वाह गर्दै प्रदीप सापकोटा लेख्छन् र लेखिरहन्छन् । मानक भाषाका आधारभूत कुराहरूमा थप ध्यान पुर्याउनसके यिनले अझै राम्रो लेख्न सक्छन् भन्नेमा सन्देह छैन । ठाउँ, प्रसंग लगायतका कुराहरूको पुनरावृत्ति पहिलो कृतिमा जसरी नै भइरहेका छन् । वर्तमान शैलीलाई निजीकरण गर्न यिनले केही केही कुरामा शोधन गर्नैपर्ने देखिन्छ ।
यात्राको लयमा १७ वटा रचनाहरू राखिएका छन् । पाठकीय अध्ययनपछि केही अवधारणा बनाउन र विश्लेषणका लागि विभिन्न किसिमले हेर्न सकिन्छ ।
लेखन समयका आधारमा रचना जम्माजम्मी दुई वटा हाँगामा विभक्त देखिन्छन् । एउटा वि.सं.२०५९–६० मा लेखिएका (८ वटा)र अर्को वि.सं.२०७८ पछि २०७९ सम्म लेखिएका (९ वटा) छन् । उनका लेखनका दुई छिमल देखिन्छन् । दुई अलगअलग जिम्मेवारीमा रहँदा पुगेका ठाउँबाट प्राप्त खुराकलाई प्रसस्त उपयोग गरिएको भेटिन्छ । एउटामा आठ वटा र अर्कोमा सात वटा लेखिएका छन् । रचनाहरूमा अर्को विशेषता पनि छ, त्यो के हो भने एउटै बेगमा उडान भरेका थान रचना छन्, चार उडानका दुई–दुई र बाँकी पाँच वटा एउटै उडानका छन् ।
एउटै स्थान, काल र परिवेशमा पनि फरकफरक अनुभूतिले सिँगारेर देखाउने प्रदीपको प्रयास तारिफयोग्य छ । तर एउटै झझल्कोमा बारम्बार रूमल्लीन मन नपराउने पाठकको विविधता प्रेमलाई आगामी रचनाहरूमा सोचिनुपर्छ । डा.माधवप्रसाद दाहालका अनुसार ‘लेखकले लेख्दाको बखत कल्पनामा निश्चित पाठकहरूको तस्बिर त हुन्छ तर साहित्य समय र ठाउँको सीमा नाघेर धेरै टाढा पुग्छ । साहित्य अनेकौँ पाठकलाई अवलोकन गर्न लालायित गर्दै बाँचिरहन्छ ।’
प्रदीपकृत यात्राको लय भ्रमणको नालीबेली मात्रै होइन सामाजिक जीवन, संस्कार–धर्म–अध्यात्म, इतिहास, भाषाजस्ता यावत कुराहरूको जीवन्त दस्तावेज हो । रचनागर्भमा यिनले बोलेका शव्दहरू कृतिको मजबुन हो । जुन समग्र यात्राको छायाजस्तो देखिए पनि केही वाक्यांश छोडेर पाठमा राखिदिने हो भने अर्को एउटा रचना बन्छ । ‘यात्राका फूलहरूको एउटा माला गाँस्ने प्रयास मेरो’ (पृ.३६ ) भन्दै लेख्न थाल्छन् र हरेक परिस्थितिलाई आत्मसात् गर्दै अघि बढ्छन् ।
यहाँ गहन र बिस्तारित किसिमले लेखिएका १७ वटा रचनालाई सर्सती सूत्रात्मक रूपमा विश्लेषण गर्ने जमर्को गरिएको छ ।
क) कृतिको पहिलो रचना सकसपूर्ण यात्राको उत्कर्षको कथा हो । कुनै संस्थाको जिम्मेवारीमा रहँदा लेखक पश्चिमी नेपालका भूभागमा पुगेकाबेला संगालेका भावनाहरू छन् । त्यही सेरोफेरोका दुई वटा रचना बुनिएका छन् । तत्कालीन सशस्त्र द्वन्द्वका तिक्तता, दुव्र्यवहार, राजनीतिक चेतना, भीमदत्त पन्त (वि.सं.१९८२) सँगका ऐतिहासिक प्रसंग जोड्दै रचनालाई बलियो र रोचक बनाइएको छ । साथै टनकपुर पुग्दा देखिएका र भोगिएका भारतीय ज्यादतीप्रति आक्रोशसमेत पोखिएको छ । ‘दिनहुँ, पलपलमा त्यो त्रासद मनस्थिति बोकेर बाँच्नुको पीडा कहाँ ….शव्दमा व्यक्त होला र !’ (पृ.२५)
ख) बागलुङको सेरोफेरोमा केन्द्रीकृत पाँच वटा रचना तयार छन् । कुनै ठाउँमा पहिलोपल्ट जानलाग्दा हाम्रा मनमा पनि यस्तै भाव उठ्छन् । ‘नयाँ ठाउँ पुग्ने मनभरिका रहरहरू बोकेर उभिएको छु म ।’ (पृ.२६) यात्राको क्रममा ‘मुटुको धड्कन तेज गतिमा बढेको छ । यता हे¥यो अद्भुत प्रकृतिकी सौन्दर्य । … कविको निम्ति काव्य र विम्ब अनि प्रतीकहरू असरल्ल परेका छन् यत्रतत्र सर्वत्र ।’ (पृ.२७)
सुरुआती दिनहरूमा आल्हादले भरिए पनि रहँदाबस्दा अनेक यथार्थका पाटाहरू भोग्न बाध्य हुनुपरेको कुरा आएका छन् । त्यहाँ जनयुद्धको कहालीलाग्दो तस्बिर छ । ज्योतिषीको भविष्यवाणी संयोगबस मिल्नु, खुकुरी प्रहारबाट जोगिनुले लेखक त्रासको भूमरीमा परेका छन् । मानिस बराल्न आएको ठानेर प्रहार गरेको भन्ने स्थानीयको स्वीकारोक्तिपछि क्षमा दिइएको छ । यावत् प्रसंगले रोचकता थप्दै लान्छन् र पठनीय तथा सरस बनेको प्रमाण पेस गरेका छन् ।
प्रदीपले भोगेका र सक्षात्कार गरेका बहुविध अनुभूति राम्रैगरी उल्लिखित छन् रचनाहरूमा । लेख्छन्, ‘यात्रा कहाँ सुखद् पलसँग मात्र साक्षात्कार हुन्छ र ! (पृ.५२) जिन्दगी यात्रा न हो, समयसँगै आइपर्ने विविध समस्या, व्यवधान र पीडाहरू सहेर पनि यात्रा जारी राख्नु नै छ ।’ (पृ.५६)
पाठहरूमा बिदेसिएका युवाका कथा छन् । रित्तो गाउँका व्यथा छन् । गाउँबस्ती र देशकै दुर्दान्तचित्र छन् । साथै परम्परामा परिवर्तनको खाँचो औँल्याइएको छ । ‘जातीय विभेदको अन्धकार हटाउन खोजेको यो प्रयास चेतनाको मिरमिरे उज्यालोमा पदार्पण गर्दै गर्दाको खुसी कहाँ शब्दमा व्यक्तिन्थ्यो र हजुर !’ (पृ.६६) स्थानीय रङ्गलाई विभिन्न घटना र अनुभूतिका सूत्रमा तुन्दै बुन्दै स्याहार्दै एउटा मिसन पूरा हुन्छ र यात्रको पनि समापन हुन्छ ।
ग) लगत्तै पूर्वी नेपालको तराईमा पुगेर बाढीपीडित परिवारहरूका निम्ति राहत सामग्री वितरण गरेका प्रसंग छन् । जसमा सीमान्तकृत वर्गका दुःख र सास्तीले शाब्दिक भावना पाएका छन् । बाटामा देखापर्ने अनेक दृश्यले कविमन स्पर्श गर्न पुग्दा धेरै ठाउँमा प्रदीप यसरी व्यक्त हुन पुगेका छन् । ‘देखिन्छन् वारिपारि चुलिँदै गरेका पहाड । धेरैतिर भत्किएका छन् चोटैचोटले, जसरी गरिबका सपनाहरू भत्किन्छन् ।’ (पृ .६८ )
‘रात खस्यो बिस्तारै र भयो बिहान ।… मानिसको जीवनका रुग्णता र उनीहरूले भोगेको पीडामय जीवनसँग अभ्यस्त भयो मेरो मन ।’ (पृ.७५)
घ) अर्को यात्रा ‘नमुना पदमभूवनेश्वरी वृद्धाश्रम’तिर पुगेको छ । जुन त्याग, समर्पण र सेवाको नमुना बनेको छ । आश्रमका सञ्चालक र उनको समर्पणबाट लेखक निकै प्रभावित हुन पुगेका छन् ।
ङ) पनौतीमा लाग्ने १२ वर्षे मकरमेला प्रचारप्रसार गर्न निस्कँदा चतराधामसम्म पुगिएको परिवेश दुई वटा रचनामा वर्णित छ । त्यस धार्मिक यात्रामा कुशेश्वर महादेवको धार्मिक तथा ऐतिहासिक नालीबेली छ । पहिलोदिन उदयपुरसम्म र अर्कोदिन चतराधाम (बराहक्षेत्र ) पुगेर फर्कंदाका चित्रात्मक बयान छन् । लेखक सन्तसानिध्यमा पुग्दा प्रभावित भएर लेख्छन्, ‘भक्ति, साधनामा मानिसले आस्था राखेपछि सत्चरित्रमा मन जाने हुन्छ ।’ (पृ.९९) बालसन्तको परिचय, त्यस क्षेत्रको ऐतिहासिक महिमा र महत्व दर्शाइएको छ । ‘आदिम संस्कृति, सभ्यता र परम्पराहरूको बारेमा चासो राख्नुपर्ने रहेछ ।’ (पृ.१०२)
च) चरिकोट र दोलखा चिनाउने सचित्र नालीबेलीका दुई पाठ छन् । अध्ययन अवलोकन भ्रमणभित्र तत्क्षेत्रका प्रशस्त सोधीखोजी तथा अनुसन्धान पेस गरिएको छ । ४५ जनाको टोलीले भरपुर रमाइलो गरेको र यात्राको आन्दानुभूति लिएको भेटिन्छ । ‘आशा र उत्सुकता मनका अनेक भंगालाहरूबाट बग्दोरहेछ ।’ (पृ.१०३)
छ) नेपालको पूर्वी नाकाबाट थालेर गरिएको दार्जिलिङको यात्रा वर्णित छ । त्यहाँको राजनीतिक परिचय (नक्सलवादी आन्दोलन), संवादात्मक शैली, विभिन्न स्थानहरूको रोमाञ्चक र यथार्थपरक शैलीमा पस्कने जाँगर चलाएका छन् प्रदीपले । भाषिक एकीकरणकर्ता आदिकवि भानुभक्तको दर्शन अवलोकन र सम्मानभाव प्रकट छ । प्रभाव यसरी प्रकट छ, ‘वास्तवमै नेपाली कला, साहित्य र संस्कृतिलाई उचाइमा पु¥याउन दार्जीलिङको महत्वपूर्ण योगदान छ ।’ (पृ.१२७) पारिजात, अम्बर गुरुङ, अरुणा लामालगायत धेरै प्रतिभाले नेपाली कला, साहित्य, भाषा, गीतसंगीत र संस्कृतिको उठानमा समर्पण गरेका छन् । तिनीहरूको भूमिमा पुग्दाका हार्दिकता स्तुत्य भएर व्यक्त भएका छन् । त्यस्तै, पर्यटनका लागि पुगनपुग सेवासुविधादेखि विभिन्न दर्शनीय स्थानहरूलाई यथोचित स्थान दिइएको छ । संवादमा स्थानीय लवज राखिएकोले पठन रोचक बनेको छ ।
ज) पहिलो साहित्यिक यात्रा गरेर सिन्धुपाल्चोक पुग्दा लेखक रमाएका र बेग्लै अनुभव सँगालेका छन् । यिनी लेख्छन्, यात्राको मज्जा भनेको व्यक्तिको सम्पूर्णतामा भर पर्छ । ‘यात्राले रचनात्मक क्रियाशीलतामा बढावा दिन्छ । प्रेरणा र ऊर्जा दिन्छ ।’ (पृ.१३६–१३७)
झ) कृतिको अन्तिम रचना काठमाडौँबाट वीरगन्ज जाँदा हेटौँडानजिकको मकवानपुरगढीलाई केन्द्रमा राखेर लेखिएको छ । जसमा बाटामा पर्ने स्थानहरूको प्राकृतिक स्वच्छता र सजीवताको चित्रण छ । वाग्मतीको विद्रुप स्वरूपप्रति भावुक हुँदै लेखिएको छ ः ‘हामी मान्छे प्राकृतिक स्रोत र साधनको दोहन र फोहरी चरित्र ।’ (पृ.१४०)
पृथ्वीनारायण र गढीसँग जोडिएका ऐतिहासिक तथ्यहरू प्रस्तुत गरिएका छन् । प्रसंगवस उल्लेख मात्र भएको छ वीरगन्ज, यात्राको टुंग्याउनी हेटौँडामा नै भएको छ । ‘यात्राले थरीथरीका अनुभवहरू संकलन गर्न सघाउ पु¥याउँछ ।’ (पृ.१४०) भन्ने स्वीकार्दै प्रदीप सापकोटाले यात्रा बिसाएका छन् ।
स्वतन्त्र पाठकले यिनको कृति ‘यात्राको लय’ पढिसकेपछि निम्नलिखित सार खिच्न सक्छन् । यिनी शैलीमा अत्यन्त सरलता प्रयोग गर्छन् । यात्रामा ठाउँ र बाटाहरू बारम्बार दोहोरिएकाले पठनसहजता पनि त्यत्तिकै छ । यिनका रचना उल्लेख्य छन् किनभने यिनी यात्राको भरपुर आनन्द लिँदै पाठकलाई पनि सूचनाप्रद उपलब्धि हुने किसिमले लेख्न खप्पिस छन् । यिनी व्यक्ति, प्रवृत्ति, समाज र देशको स्थितिप्रति चिन्ता र चासो व्यक्त गर्छन् । यिनी विश्वास र धारणाहरूमा व्यक्ति बदलिनुपर्छ भन्ने मत राख्ने तथा लेखकीय इमान दर्शाउने लेखक हुन् ।
यिनका यात्रा निबन्धहरू प्रकृति, संस्कृति र पर्यटनका संगम पनि हुन् । यिनी हरेकलाई देशदर्शन गर्न आह्वान मात्रै गर्दैनन् सामयिक यथार्थबाट परिचित हुनसमेत झक्झक्याउँछन् । यिनको यायावरीय शैली भावनामा तरंगित मात्र हुँदैन मनग्य तथ्य तथ्यांकको अनुशीलमा पनि त्यत्तिकै जाँगर चलाउँछ । त्यसैले अन्तमा भन्न सकिन्छ, यात्रा साहित्यले प्रदीप सापकोटाबाट उम्दा कृति पाउन सक्छ ।
प्रतिक्रिया