‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

उक्त मन्त्रालयले डेंगुको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेंगु रोगको संक्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेंगु संक्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेंगुका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए । मन्त्रालयले सरकारी अस्पताललाई डेंगु संक्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पतालमा परिसरमा ‘डेंगु डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।

प्रवक्ता डा बुढाथोकीले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेंगु संक्रमण नियन्त्रण गर्न नसकिने भएकाले प्रदेश र स्थानीय तहका सबै निकायको सहयोग आवश्यक रहेको बताए । यो वर्ष ७३ जिल्लाका दुई हजार तीन सय ६५ जनामा डेंगु संक्रमण र एकजनाको मृत्यु भएको छ ।– रासस

प्रतिक्रिया