धनुषा । धनुषाको धनुषाधाममा निर्माण गरिएको २५ वर्षपछि खानेपानी योजना सञ्चालनमा ल्याइएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–४ स्थित लक्ष्मीपुरमा खानेपानी योजना सञ्चालनमा आएको छ ।
२०५६ सालमा सरकारको लगानीमा सुरु भएको सो खानेपानी योजना सोमबारबाट सञ्चालनमा ल्याइएको छ । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाले ५ वर्षभित्र योजना सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरेको थियो । यस अवधिमा योजनाको ४ वटा उपभोक्ता समिति परिवर्तनसमेत भइसकेको छ । धनुषाधाम नगरपालिका–४ का वडाध्यक्ष मनोज यादवले ढिलै भए पनि खानेपानी योजना सञ्चालनमा आएपछि खुसी लागेको बताए ।
योजना सञ्चालनमा ल्याउन आफूले पनि निकै दौडधुप गरेको बताए । उनले भने, ‘यत्रो वर्ष किन सञ्चालनमा आएन त्यतातिर नजाऔँ । यसको दोष म कसैलाई दिन चाहन्न । जनताले शुद्ध पानी पाउने भए त्यसमै खुसी छु ।’ यहाँको पानी चापाकल, इनार र कुवाभन्दा शुद्ध हुने हुँदा धाराको पानी अधिकतम उपभोगमा ल्याउन स्थानीयलाई वडाध्यक्ष यादवले आग्रह गरे । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका वर्तमान अध्यक्ष विजय यादवले निकै प्रयासपछि खानेपानी योजना सञ्चालन सफल भएको बताए ।
योजना सञ्चालनमा आएपछि लक्ष्मीपुर, सर्सा, केशरकुट्टी र चिरैयालगायतका गाउँ गरी ७०० घुरधुरी यस योजनाबाट लाभान्वित हुने जानकारी दिए । अध्यक्ष यादवले भने, ‘पहिला पानीको समस्या भएको बस्तीमा पानी पुर्याउँछौँ । अहिलेसम्म करिब ३ किलोमिटरमा मुख्य पाइपलान बिस्तार गरिएको छ । आवश्यकताअनुसार थप पाइपलाइन विस्तार गर्ने योजना छ ।’ वर्षौंदेखि दूषित पानी खान बाध्य यहाँका जनता अबदेखि स्वच्छ खानेपानी उपयोग गर्न पाउने उनले बताए । अध्यक्ष यादवले अहिलेसम्म परीक्षणको रूपमा १० घरमा निजी धारा जडान गरिएको बताउँदै अबदेखि धमाधम घरमा धारा जडान गर्ने बताए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले खानेपानी वितरणका लागि १ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी र एउटा डिप बोरिङ निर्माण गरिदिएको छ । त्यसलगायत कार्यालय भवन, कर्मचारी बस्ने घर निर्माण गरेको छ । खानेपानी योजना सञ्चालन भएपछि स्थानीयबासी निकै खुसी देखिएका छन् । स्थानीयबासी एवं नेकपा माओवादी केन्द्रका धनुषाका संयोजक दीपक यादवले पूर्व उपभोक्ता समितिका पदाधिकारीको ढिलासुस्ती र समयमा पर्याप्तता बजेट उपलब्ध नहुँदा योजना सम्पन्न हुन लामो सयम लागेको बताए । कुनै पनि योजना समयमा सक्न योजना निर्माण समिति सक्रिय भएर लाग्नुपर्ने सरकारले पनि पर्याप्तता बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया