वीरगञ्ज । पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।
केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । ‘गत वर्षको तुलनामा जिल्लामा धान रोपाइँ धेरै भएको छ’, उनले भने, ‘यो वर्ष यहाँ ५ देखि ७ प्रतिशतसम्म धान धेरै फल्ने अनुमान गरेका छौँ ।’
केन्द्रका अनुसार हालसम्म पर्सामा ४२ हजार ३९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । पर्सामा ४७ हजार १०३ हेक्टरमा धानखेती हुने गरेको छ । गण्डक नहरबाट पनि समयमा नै पानी उपलब्ध भएकाले रोपाइँ सहज भएको हो । पर्सामा आव २०७८÷०७९ मा २ लाख ३३ हजार १३५ मेट्रिक टन धान उत्पादन भएको थियो । यहाँका किसानले हरदिनाथ, सोनामन्सुली र सावित्री जातका धान रोप्दै आएका छन् ।
प्रतिक्रिया